‘चुरोटको धुवाँ हैन फुच्चेको सपना उडिरहेको देखें’

सुइय … ढ्याप ढ्याप….
सुइय…
“मुडे, चरिकोट, सिंगटी, छेदछेद… जाने हो ?”
“जाने ।”
“ल चाँडो चाँडो पसौं ! सिट खाली छ ।”
“भयो ?”
“भयो ! भयो !”
“ढ्याप….ढ्याप…. जाऊँ जाऊँ गुरुजी ।”
बस पाँचखालबाट तूफान हुँइकिन्छ । फुच्चे खलासीले ढोका थुन्छ । सर्टको गोजीबाट एउटा भोला झिक्छ अनि दाँतले उधारेर मुखभित्र हाल्छ ।
कान्छा भोला खानुहुँदैन । बरु भोलाको साटो कोला खाऊ, मैले भनें ।
भोला त खाने हो नि दाइ ! त्यो फुच्चे खलासीले भोला चपाउँदै भन्यो । भोलाले उसका दाँतहरू रातै भएका थिए ।
भोलाले पछि मुख सानो सानो बनाउँछ रे त ! मैले भनें ।
खोइ, अहिलेसम्म भा’छैन त दाइ । फुच्चे खलासीले मुख आँ गर्दै देखायो ।
मैले केही जवाफ दिइनँ । फुच्चे खलासी प्लाष्टिक बाँड्दै प्यासेञ्जरहरूको सिटतिर घुम्न थाल्छ ।
तिम्रो नाम के हो कान्छा ? फुच्चेको बारे बुझ्ने उत्कण्ठाले सोध्छु ।
सविन भुजेल । फुच्चेले प्लाष्टिक बाँड्दै भन्छ ।
घर चैं ? फेरि सोध्छु ।
पलाञ्चोक हो । यहीं काभ्रेपलाञ्चोक । उसले मतिर नफर्की जवाफ दिन्छ ।
कति वर्ष पुग्यौ ? मैले अघिदेखि पालेको जिज्ञासा राखें ।
सत्र । फुच्चेले बसको दैलो खोलेर पिच्च थुक्दै भन्यो ।
हेर्दा त तेह्र–चौधको मात्रै देखिन्छौ त अनि ? सत्र वर्ष पत्यार नलागेर सोधें ।
कहाँ चौध मात्र पुग्नु हो दाइ, फुच्चेले भन्यो ।
कति वर्ष भो गाडीमा हिंडेको ? फुच्चेलाई झर्को लाग्ला कि जस्तो सोच्दै सोधें ।
तीन वर्ष भो नि दाइ ! उसले सहज उत्तर दियो ।
टिकटकवाली ब्यूटी हे ब्यूटी ! सिंगल हौ कि अर्कैकी रै’छौ साह्रै क्यूटी ! बसमा गीत बज्न थाल्यो । बस पाँचखाल कटेर दोलालघाट ओरालो झर्यो ।
फुच्चेले गीतको भाकामा मुन्टो हल्लाउँदे सबै प्यासेञ्जरहरूतिर आँखा दौडायो । प्रायः प्यासेञ्जरहरू निदाइरहेका थिए ।
हैन । रातभरि कता डुल्न गएछन् सबै जना ? फुच्चेले भन्यो ।
किन ? मैले सोधें ।
वारपार निदाएको छ र नि ! फुच्चेले भन्यो ।
रातभरि डुल्न गा’रे ? अहिले जे पायो त्यै बोल्दा कुटाइ भेट्छौ है ! मेरो सिट छेउमा बस्ने एक जना दिदीले आँखा चिमचिम गर्दै भनिन् ।
ए निदाउनु भा’छैन पो ! फुच्चे हाँस्यो ।
निदायो भनेर जे पायो त्यै भनेको होला । दिदीले फेरि आँखा चिम्लिन् ।
भोलि घर जानुपर्ने भनेर हिजो रातभरि काठमाडौं डुल्नुभो जस्तो छ है ! फुच्चे फेरि जिस्कियो ।
दिदीले जिस्केको बुझेर थप बोल्न चाहिनन् ।
अनि कान्छा, स्कुल चैं पढ्दैनौ ? फेरि सोधें ।
पढेर के गर्नु हो दाइ ! फुच्चेले भन्यो ।
जागिर खानु नि ! मैले भनें ।
यही हो त मेरो जागिर ! पmुच्चेले हाँस्दै भन्यो । भोलाले रातो भएको उसको दाँत ङिच्च देखियो ।
गफाडी पो रै’छौ, मैले भनें ।
अलिअलि गफ त हान्नै पर्यो नि दाइ ! नत्र त अरू गाडीकोहरूले हेप्छन् नि ! फुच्चेले परिपक्व भएझैं कुरा गर्यो ।
गाडीमा चैं कसरी लाग्यौ त ? फेरि अर्को प्रश्न सोधें ।
नभनौं होला हो दाइ । फुच्चे हिच्किचायो ।
भन न भन, मैले भनें ।
उसले मलाई पुलुक्क हेर्यो अनि लामो सास फेर्दै भन्यो ।
रमाइलो पो छ हो कथा ।
****
जसोतसो आठ पास गरेपछि एकदिन उसलाई पढाइबाट मोहभंग भो । बाउको करकापमा भर्ना नगरी एक–दुई दिन स्कुल गइहिंड्यो । त्यही स्कुल, तिनै शिक्षक, तिनै साथीहरू, त्यही दैनिकी । उसलाई रमाइलो लागेन । पछि पछि स्कुल जानै छोड्यो । बाउ काममै जोतिइरहन्थ्यो । छोरो स्कुल गएको नगएको मतलब हुन्थेन । बाउको निगरानी नभएपछि उसलाई झनै स्वतन्त्र भए जस्तो भयो । पढेर खासै केही गर्छु भन्ने जस्तो पनि लाग्थेन । गाउँका अरू मान्छेहरूले नपढी पनि पैसा कमाएका थिए । घर बनाएका थिए । रमाइलोसँग बाँचेका थिए । उसले यो सब देखेको थियो ।
घरछेउमा एउटा टायर पसल थियो, छिरिङ नाम गरेको तामाङ दाइको । छिरिङ दाइ ऊसँग खुब मिल्थ्यो । ऊ स्कुल जान छोडेर दिनभरि छिरिङ दाइसँग गफ गर्दै बस्थ्यो । छिरिङ दाइको पसलमा निकै ड्राइभरहरूको आवतजावत हुन्थ्यो । उसले एक–दुई जनालाई त चिनी पनि सकेको थियो ।
तैंले पढ्न छोडेको ? छिरिङ दाइले सोध्यो ।
पढ्नै मन पर्दैन हो ! उसले मुख बिगार्दै भन्यो ।
कति बाउको खान्छस् ? अब त आफंै काम गर्ने हो । छिरिङ दाइले बुङबुङ्ती चुरोटको धुवाँ उडाउँदै भन्यो ।
मलाई पनि काम गरेर आफैं पैसा कमाउन मन छ हो, उसले छिरिङ दाइलाई हेर्दै भन्यो ।
गाडीमा काम गर्छस् तँ ? एकदिन छिरिङ दाइले चुरोट पिइसकेर भुइँमा फाल्दै भन्यो ।
उसलाई छिरिङ दाइले मनकै रहर बुझिदिए जस्तो लाग्यो ।
गर्छु, उसले एक सेकेण्ड पनि नसोची तु जवाफ दियो ।
उसो भए भोलि बाउसँग कुरा गरेर आइजा, छिरिङ दाइले भन्यो ।
उ फुरुङ्ग हुँदै घर फर्कियो । खुसीले अलिकति मात्रै खाना खायो । गाडीमा घुमेको रमाइलो कल्पना गर्दै ओछ्यान लाग्यो । उसले देखेको गाडीहरू भन्दा तीव्र गतिमा उसको निद्राको गाडी हुँइकियो । एकैछिनमा ऊ गाडीमा चढ्यो । ह्यान्डिल समाउने बित्तिकै कुदाउन सिक्यो । छिनभरमै लाइसेन्स झिक्यो । सपनामा ऊ सीधै ड्राइभर भयो । त्यो पनि बसको ड्राइभर । ड्राइभर हुने बित्तिकै टन्नै पैसा कमायो । धनी भयो । साथीहरूसँग खुब रमाइलो गर्दागर्दै ऊ बिउँझियो ।
बिहान बाउलाई आँट बटुलेर गाडीमा काम गर्ने कुरा सुनायो । गोरु जोतिरहेको बाउले थाकेको झोंकमा गाली गर्यो । उसको मन भाँचियो । तर उसलाई जसरी पनि गाडीमा काम गर्नुथियो । फेरि बाउलाई फकायो । बाउले बारिको डल्लो टिपेर हान्यो । डल्लो उसको कानको छेउबाट रुइँय गर्दैै गयो । धन्नले कानमा नलागेको । बाउले उसको कुरा नमान्ने बुझ्यो । त्यसपछि घरमा कोही नभएको मौका छोपेर कपडाहरू स्कुले ब्यागमा बोकीवरि उ छिरिङ दाइको पसलमा गयो ।
तँ त मिलिक्कै पो आइस् ? छिरिङ दाइले भन्यो ।
आजैबाट काम गर्ने हो म त, उसले भन्यो ।
अनि भनिस् त बाउलाई ? छिरिङ दाइले सोध्यो ।
भनेको, पठाउनुभो– उसले चलाखी गर्यो ।
साँच्चै ड्राइभर बन्छस् है तँ ! छिरिङ दाइले भन्यो ।
उसले पसलमा आफ्नो झोला राख्यो ।
अनि भात खाइस् कि खाइनस् ? छिरिङ दाइले हिसाबकिताबको बिल हेर्दै सोध्यो ।
खाएको हो । साँचो भन्न अप्ठ्यारो मानेर उसले ढाँट्यो ।
खाएको छैनस् भने नढाँटी भन् है ! छिरिङ दाइले फेरि सोध्यो ।
खाएको छुइनँ, उसले आँट गरेर भन्यो ।
फटाहा ! ढाँटेको बुझेर छिरिङ दाइले हाँस्दै भन्यो । यसरी ढाँटिस् भने ड्राइभर हैन, खलासी चैं हुन्छस् होला !
उसले लाजले कपाल कन्यायो ।
ल भात खान हिंड् ! छिरिङ दाइले उसलाई होटलतिर लैजाँदै भन्यो ।
ऊ दाइको पछिपछि लाग्यो ।
कहिलेबाट काम गर्नु हो छिरिङ दाइ ? उसले खाना खाँदै सोध्यो ।
…. पहिले अघाउँजी खा न, छिरिङ दाइले भन्यो ।
उसलाई हर्षले खानै रुचेन । खालि ड्राइभर भएको सपना मात्र देखिरह्यो । कोही नयाँ मान्छे देख्यो कि ऊ आसे नजरमा छिरिङ दाइतिर हेथ्र्यो । मानौं कि कामको लागि छिरिङ दाइले कुरा गरिदिने मान्छे उही हो ।
केही घण्टापछि टायर फेर्न एउटा टिप्पर आयो । त्यो टिप्पर छिरिङ दाइको पसलको साइडमा घ्याच्च रोकियो । उसले खुसी हुँदै टिप्पर हेर्यो । टिप्पर सेतो रंगको थियो । राति सुत्दा मात्रै सपना देखेको याद थियो उसलाई । तर सपनाको रंग भने याद थिएन । आज भने दिउँसै सपना देख्यो । सपनाको रंग त टिप्पर जस्तो सेतो पो हुँदो रै’छ ! उसले सोच्यो । टिप्परको अगाडिपट्टि कालिञ्चोक दर्शन लेखिएको थियो । उसले कालिञ्चोक दर्शनको झ्याल खोलेर बाहिर निस्केको आफ्नो मालिकको दर्शन गर्यो । हातमा चाबी खेलाइरहेको त्यो मालिक बुढो–बुढो उमेरको देखिन्थ्यो ।
त्यो मालिकले उसलाई पुलुक्क हेरेर छिरिङ दाइको पसलमा गयो । छिरिङ दाइले उसलाई पसलबाट दुई कप चिया ल्याउन अह्रायो । पक्कै अब मेरो काम बन्छ, उसले खुसी हुँदै सोच्यो अनि चिया ल्याउन पसलतिर लाग्यो । चिया ल्याएर आउँदा दुई जना गफ गरिरहेका थिए । उसले आफ्नै बारे कुरा भइरहेको भन्ने बुझ्यो । ऊ चिया दिएर अलि पर गएर बस्यो । त्यो मालिकले बेलाबेला उसलाई पुलुक्क हेथ्र्यो । ऊ लाजले मुन्टो निहुराउँथ्यो । सुरुमा त केटाकेटी भनेर मालिकले मान्दै मानेन । छिरिङ दाइले सक्दो मनाउने कोसिस गर्यो । अन्ततः टायर फेरुञ्जेलमा मालिकले पनि मन फेर्यो । आउँदा एक्लै टायर पसल आएको मालिकले जाँदा उसलाई खलासी बनाएर गयो । छिरिङ दाइको कृपाले यसरी एकैछिनमा ऊ खलासी भयो ।
तँलाई खलासी बन्न खुब रहर छ हो ? बाटोमा मालिकले सोध्यो ।
अँ । उसले यति मात्रै उत्तर दियो ।
पढ्न छोडेर किन गाडीमा काम गर्न मन लागेको तँलाई ? गुरुजीले सोध्यो ।
उसले केही पनि जवाफ दिएन ।
खासमा तँलाई मैले किन खलासी राखेको थाहा छ ? मालिकले फेरि सोध्यो ।
थाहा छैन, उसले भन्यो ।
तेरो माया लागेर, मालिकले हाँस्दै भन्यो ।
अहो ! मालिकको त कति ठूलो मन । मालिक त मालिक नभएर भगवान् हुन् । उसले सोच्यो ।
****
मालिकको नाम भैरव कार्की । घर भने दोलखा रै’छ । त्यति नबोल्ने । तालुचिण्डे भएकोले प्रायः क्याप लगाइरहन्थ्यो । गुरुकै प्रभावले उसले पनि क्याप लगाउन थाल्यो । तर गुरुजी भन्दा ठिक उल्टो । पछाडि पारेर । दुई महिनाको अवधिमा उसको मालिक मालिकबाट गुरुजी भइसकेको थियो । प्रायः सबै काम आफैं गथ्र्यो । उसले बेलाबेला मालसामान लोड गर्न मात्रै सघाउनुपथ्र्यो । नत्र भने खासै काम हुँदैनथ्यो । दिन त्यतिकै बित्थ्यो । तर उसको खास काम भने रातमा हुन्थ्यो ।
रातको काम । कस्तो ? सुरुमा त ऊ आफैं अचम्मित भएको थियो । अचम्मित सँगै सशंकित पनि । तर त्यो शंका एकैछिनमा हट्यो ।
सामान लिएर कहिले हेटौंडा त कहिले चितवन । कहिले सिन्धुपाल्चोक त कहिले नुवाकोट । बेलाबेला बाटैमा रात पथ्र्यो । रात पर्दा पनि हिंडिरहनुपथ्र्यो । राति भने ठेगानामा नपुगुञ्जेल मालिकलाई साथ दिनुपथ्र्यो । बाटैभरि गफ गर्नुपथ्र्यो । उसको रातिको काम यही थियो ।
ऊ काम सकेर फुर्सद भयो कि राति अनिंदो बस्न गाडीमा पसेर सुतिहाल्थ्यो । दिउँसो सुत्दा गुरुजीले पनि केही भन्थेन ।
सबै गर तर राति निदाउने काम चैं नगर है ! भैरव गुरुजीले बेलाबेला सम्झाइरहन्थ्यो ।
हस् गुरु ! ऊ पनि मालिकको अघि बफादार बन्न खोजिरहन्थ्यो ।
ड्राइभर हुनको लागि पहिलो कुरा निद्रा हटाउनुपर्छ– भैरव गुरुजी भनिरहन्थ्यो ।
उसले निद्रा लाग्दै भए पनि कान ठाडो गरेर गुरुजीको कुरा सुनिरहन्थ्यो ।
गुरुजीको कुराले कान त जाग्राम हुन्थ्यो, तर आँखा ?
एकदिन त्यही आँखाले उसलाई धोका दियो ।
हिउँदको समय । कालिञ्चोक दर्शन चितवनबाट फर्किंदैथियो । बाहिर लुगलुग कमाउने जाडो । उसले बाक्लो ज्याकेट लगाएको थियो । तैपनि चिसोले शरीर छेडिरहेथ्यो । टिप्परमा गीत घन्किरहेको थियो— उल्लाला उल्लाला….. !
बाटोमा सुख–दुःखको गफ चलिरहेको थियो । गुरुजीले बाह्रबिसेमा टिप्पर रोक्यो । ऊ पिसाब फेर्न झर्यो । गुरुजी पनि पिसाब झर्यो । उसलाई गुरुजीसँगै पिसाब गर्न पाउँदा ठूलो मान्छे भएझैं आभास भयो । नजिकै एउटा पसल खुल्ला थियो । गुरुजी पिसाब फेरि सकेपछि पसलमा छिर्यो । आउँदा हातमा एउटा खुकुरी रम लिएर आयो ।
गुरुजीले खुकुरी रम ठाडो घाँटी लगायो । उसले रम खाँदा हल्लिएको गुरुजीको किलकिले राम्ररी हेर्यो ।
तँ पनि खान्छस् ? जीउ तताउँछ, गुरुजीले सोध्यो ।
थोरै खान्छु ! उसले घुटुक्क थुक् निल्दै भन्यो ।
गुरुजीले बाँकी रहेको रम दियो । उसले थापेर गुरुजी जस्तै ठाडो घाँटी लगायो ।
तितो तितो, पिरो पिरो, कस्तो कस्तो ! रम खाने बित्तिकै उसको कान तात्तिहाल्यो । विस्तारै शरीर पनि तात्तियो । त्यस्तो मुटु छेड्ने जाडो कहाँ भाग्यो कहाँ !
विस्तारै उसको हातखुट्टा झन्झनाउन थाल्यो । दिमाग घुम्न थाल्यो । शरीर रन्थनिन थाल्यो । दिनभरि सिमेन्ट लोड गरेर थाकेको उसलाई सुत्न मन पर्यो । टिप्परले घुम्तीहरू छिचोलिरहेथ्यो । ऊ गुरुजीले नदेख्ने गरी सिटमा ढल्कियो । ढल्किने बित्तिकै निद्राले च्याप्न थाल्यो । नागढुंगामा आइपुग्दा निदाइहाल्यो । भैरव गुरुजीले दुई तीन पटक उठायो । तैपनि ऊ बिउँझिन सकेन ।
रातको तीन बजेको थियो । गुरुजी रिसले चुर भयो । मुर्मुरिंदै कलंकी ल्याएर टिप्पर रोक्यो । सिट छेउमा मिनरल वाटरको बोतल थियो । बोतलको बिर्को खोलेर उसको अनुहारमा पानी छर्कियो । ऊ आँखा मिच्दै जुरुक्क उठ्यो ।
तँलाई नसुत् भनेको हैन ! गुरुजीले हकार्यो ।
मातेर सुतेछु गुरु ! उसले भन्यो ।
बहाना नबना ….. गुरुजीले हकार्यो ।
ऊ केही पनि बोलेन ।
बाहिर निस्केर ओट लगा त, पिसाब फेर्नु पर्यो, गुरुजीले भन्यो ।
ऊ निद्रामै बाहिर निस्कियो । अनि ओट लगाउन ढुंगा खोज्न थाल्यो ।
तँलाइ भनेको सुन्दैनस् ! गुरुजीले उसको झोला बाहिर फ्याँकिदिंदै भन्यो ।
उसले झोला समाएर गुरुजीलाई हेर्यो ।
गुरुजीले ड्याम्म ढोका लगायो अनि टिप्पर हुँइक्यायो । ऊ हेरेको हेर्यै भयो । अघिबाट लागिरहेको निद्रा कहाँ हट्यो कहाँ ! एकैछिनमा ऊ सपनाको मायावी लोकबाट एकाएक दुःखको पातालमा खस्यो । सडक चिसिइरहेको थियो । सडक वरपर हेर्यो । कोही पनि थिएन । छेउछाउको ल्याम्पपोस्टले मात्रै उसलाई टुलुटुलु हेरिरहेको थियो । आकाशमा चम्किरहेको फाटफुट ताराहरूले पनि उसलाई गिज्याइरहे झैं लाग्यो । उसले आफैंलाई हेर्यो । छड्के क्याप, थोत्रो पाण्डा जुत्ता, जिन्स पाइन्ट र ज्याकेट । हातमा कपडाहरूको ब्याग । उसको हालत बयान गरिनसक्नुको बिजोग थियो । उसलाई गुरुजीसँग खुब रिस उठ्यो । तर रिस उठेर पनि के गर्नु ? टिप्पर हुँइक्याएर गुरुजी फरार भइसकेको थियो । बरु उसलाई आफैंसँग रिस उठ्यो । तैंले खोजेको यही हैन ? उसले आफैंलाई धिक्कार्यो। पmेरि त्यो रिस एकैछिनमा शान्त भयो । विस्तारै उसलाई हाँस उठ्न थाल्यो । ऊ आफैंलाई हेर्दै एक्लै मुसुमुसु हाँस्यो । सायद मान्छेलाई धेरै रिस उठ्दा सँगै हाँस पनि उठ्दो हो ।
मान्छे बुझ्न सबैभन्दा गाह्रो रै’छ । भगवान् जस्तो लागेको मान्छे कतिखेर के हुन्छ बुझ्नै नसकिने । जिन्दगी सोचे जस्तो रहेनछ । उसले त्यो दिन निकै गहिरो कुरा बुझ्यो । त्योभन्दा ठुलो कुरा सपना र विपनाको यथार्थ बुझ्यो ।
रातको समय । जाडोमा लुगलुग काँप्दै ऊ रोडमा धुम्धुम्ती हिंडिरह्यो । गोजीमा दुई हजार जति पैसा थियो । अघि धीत नमरेको खुकुरी रम खान फेरि मन गर्यो । अब उसलाई निद्राको डर थिएन । यता उता पसलहरू हेर्यो । तर सब पसलहरू बन्द थिए ।
मान्छेको लागि एकैछिनमा समय बदलिदिन्छ भन्ने कसैलाई थाहा हुन्न । अघिसम्म डर थियो । पिउने अवस्था पनि थियो । अहिले डर थिएन तर पिउने अवस्था पनि थिएन ।
जे होस्, रमसँग उसको मिठो कहानी जोडिएको थियो ।
ऊ आधा घण्टासम्म धुम्धुम्ती हिंडिरह्यो । धन्न बल्खु आइपुग्दा कोटेश्वर जाने एउटा टिप्पर भेट्यो । टिप्पर रोकेर ऊ कोटेश्वर आयो । अनि कोटेश्वरबाट हिंड्दै जडीबुटी आयो । जडीबुटी आइपुग्दा बिहान भइसकेको थियो । ऊ ब्याग राखेर टिकट काउन्टरको अगाडि बस्यो ।
के गर्ने भनेर उसले निकै बेर सोच्यो । घर फर्किनलाई गोजीमा पुग्ने भाडा पनि थियो । तर उसलाई घर जान मन लागेन । ड्राइभर बन्न हिंडेको मान्छे घर फर्किंदा बेइज्जत हुने बुझ्यो । छिरिङ दाइको बारे पनि सोच्यो । तर फर्केर फेरि त्यहीं जाने आँट गरेन ।
नानाथरी कुरा खेलाउँदै गर्दा उसले टिप्परमा हिंड्दा एकजना चिनेको दाइ भेट्यो । त्यो दाइ जडीबुटी बस स्ट्याण्डको काउण्टरमा काम गर्ने रै’छ । उसले त्यो दाइलाई भेटेर सबै कुरा सुनायो । उसको कुरा सुनेर दाइले हकार्ला जस्तो लागेको थियो तर उसको अनुमान विपरित मुसुमुसु हाँस्यो ।
के गर्छस् त अब ? दाइले सोध्यो । म त जसरी पनि गाडीमै काम गर्ने । उसको गाडीमा काम गर्ने रहर मेटिएको थिएन । उसो भए एक दुई हप्ता मैसँग बस् । म साथीहरूसँग कुरा गरौंला, दाइले भन्यो । ऊ खुसी भयो ।
उसलाई त्यो दाइ छिरिङ दाइ जस्तै लाग्यो । तर छिरिङ दाइले भेटाइदिएको मालिक जस्तो मालिकसँग फेरि भेट नहोस् ! उसले मनमनै प्रार्थना गर्यो ।
कि होटलमा काम गर्छस् त ? दाइले फेरि सोध्यो । के काम ? उसले सोध्यो । अब भात पकाउन जान्दैनस् होला, भाँडा माझ्ने काम गर्ने नि ! दाइले भन्यो ।
हैट् दाइ । ट्याक्सी ड्राइभर बन्न हिंडेको मान्छे कहाँ डेक्ची ड्राइभर बन्नु हो ! उसले भन्यो । अनि दुईजनै हाँसे ।
हप्ता दश दिन जति उसले दाइलाई काउण्टरमा सघाउँदै बस्यो । बिहानै उठेर काउण्टर सफा गर्ने, चिया ल्याउने पुर्याउने । साँझमा फेरि झाडु लगाउने । हप्ता दश दिन रमाइलैसँग बित्यो । एकदिन काठमाडौंबाट चरिकोट चल्ने एउटा गाडीको खलासी काम छोडेर विदेश हिंड्यो । काउण्टरको दाइले खलासीको त्यो जागिरमा उसलाई सिफारिश गरिदियो । यसरी उसले फेरि काम पायो ।
****
बस खाडीचौरबाट उकालो लागिसकेको थियो । यात्रुहरू अझैसम्म सुतिरहेका थिए ।
गज्जब पो रै’छ त तिम्रो कथा त ! मैले फुच्चेलाई भनें ।
सानो भए’नि धेरै दुःख भोगेको छु हो दाइ ! फुच्चेले ढोका खोल्दै भन्यो ।
चिसो हावा बसभित्र छिर्यो ।
अनि कति छ त सेलरी ?
दुई दिनको बाह्र सय जति हुन्छ ।
के के काम गर्नुपर्छ नि ?
त्यै हो— सिट सफा गर्ने, पर्दाहरू धुने, बस पखाल्ने ।
सजिलो रै’छ त अनि ?
सजिलै छ दाइ । बेलाबेला टायर फेर्नुपर्छ । त्यो चैं अलि गाह्रो हुन्छ ।
ड्राइभर त पहिलेको भन्दा असल होला नि ?
एकदम राम्रो छ दाइ । दुईवटा गाडी छ । एउटा यो भइगो । अर्को ओखलढुंगा कुद्छ । म त कहिले यता कहिले उता कुद्ने हो ।
अनि पैसा के गर्छौ त ?
कमाउने, रमाइलो गर्ने, त्यै त हो नि दाइ !
हैट् भाइ ! अलिअलि भए पनि सेभिङ गर्नुपर्छ ।
कहाँको सेभिङ गर्नु हो दाइ । पछि उमेर छ त । यो उमेर भनेको त रमाइलो गर्ने हो नि !
यसो घर जाँदा बुबाआमालाई कपडा लगिदेऊ । पैसा त बचाउनुपर्छ नि !
किन लगिदिनुपर्यो हो ? आफैं किनिहाल्छ नि !
अनि भागेको थाहा पाएर घर जाँदा बाउले कराउनुभएन ?
अहिलेसम्म घरै गा’छैन त दाइ !
किन ?
जानै मन पर्दैन ।
बाबुआमाको याद आउँदैन ?
माया गरे पो याद आउनु । आमा सानै हुँदा अर्को केटासँग हिंडिहालिन् । बाउले वास्तै गर्दैन ।
मलाई फुच्चेको कुराले चसक्क बिझ्यो । उसको कुराले स्तब्ध भएँ । उ यसरी बरालिएर हिंड्नुको कारण बल्ल बुझें ।
के भनौं के भनौं भयो ।
बरु दिदीको चैं माया लाग्छ, फुच्चेले आफैं कुरा बढायो ।
कहाँ हुनुहुन्छ दिदी चैं ?
बनेपामा । बिहे गरिसक्यो ।
कहाँ पर्यो घर ज्यान मैच्याङ चिनजान गरौं कि ! बसमा गीत बजिरहेको थियो ।
मैच्याङसँग हैन सविन भुजेलसँग चैं मेरो राम्रो चिनजान भयो । मनमनै सोचें ।
प्रहरी बिट पार गरेपछि मुडे आइपुग्यो । ड्राइभरले श्रेष्ठ होटलअघि खाना खान बस रोक्यो ।
के हो ? अझै पनि निद्रा पुगेन जस्तो छ नि ? फुच्चेले निदाइरहेका प्यासेञ्जरहरूलाई भन्यो ।
प्यासेञ्जरहरू आँखा माड्दै उठे ।
खुब तिमी चैं नसुत्ने जस्तो । अघिको दिदीले फुच्चेलाई भनिन् ।
म त गाडीमा हिंड्दा कहिल्यै सुत्दिनँ त ! फुच्चेले भन्यो ।
यसरी प्यासेञ्जरहरूलाई निद्राबाट ब्युँझाइरहने फुच्चेलाई आफ्नो भविष्य सुतिरहेको चैं थाहा छ कि छैन होला ? मनमनै सोचें ।
म पनि खाना खान बाहिर निस्किएँ । फुच्चेले होटलमा गएर एउटा पाइलट चुरोट सल्कायो । दुई पफ तानेर उसले चुरोटको धुवाँ फाल्यो । चुरोटको धुवाँ ऊ बसेको टेबलमाथि उड्यो ।
मैले चुरोटको धुवाँ हैन फुच्चेको सपना उडिरहेको देखें ।
– यस समाचारको श्रोत : Online Khabar हो ।