च्याम्पियन्स लिग : अन्तिम १६ को पहिलो लेगमा इन्टर विजयी, डर्टमण्ड र आइन्डहोभनले खेले बराबरी

९ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा इटालियन क्लब इन्टर मिलान विजयी भएको छ ।
इन्टरले घरेलु मैदान सान सिरोमा भएको खेलमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको हो । इन्टरका लागि मार्को अर्नाउटोभिचले ७९औं मिनेटमा गोल गरे ।
पहिलो लेगको जितले इन्टरले केही फाइदा पुगेको छ । यी दुईबीचको दोस्रो लेगको खेल १३ मार्चमा एट्लेटिकोको मैदानमा हुनेछ ।
यस्तै अन्तिम १६ को पहिलो लेगकै खेलमा जर्मनीको बोरुसिया डर्टमण्ड र नेदरल्याण्ड्सको पीएसभी आइन्डहोभनले १-१ को बराबरी खेलेको छ ।
पीएसभी आइन्डहोभनको मैदानमा भएको खेलमा डोनयेल मालेनले २४औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । तर, ५६औं मिनेटमा पीएसभीका कप्तान लुक डे जोङले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेको हो । यी दुईबीचको दोस्रो लेगको खेल १३ मार्चमा डर्टमण्डको मैदानमा हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।