Main

‘छक्कापञ्जा ५’ले चौध दिनसम्म कति कमायो ?

काठमाडौं । ‘छक्कापञ्जा ५’ले प्रदर्शनको दुई सातामा आक्रामक कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विहिबार १४ दिनको कलेक्सन सार्वजनिक गरेको छ ।

जसअनुसार, दीपाश्री निरौला निर्देशित फिल्मले सो अवधिमा १७ करोड ६० लाख ग्रस कमाइ गरेको छ । यो कूल कमाइमा काठमाडौं टेरिटोरी र मोफसलको कमाइको हिस्सा समान रहेको वितरक मनोज राठीले जनाए ।

उनले तेस्रो सप्ताहन्तमा १ करोड ३० लाखदेखि डेढ करोड ग्रस सम्मको प्रक्षेपण गरिएको बताए । ‘तिहारको सबै बिदा जोड्दा हामीले २० करोडको आँकडा पार गर्ने अनुमान गरेका छौं, यो कुरा प्राप्त हुने शो संख्यामा निर्भर हुनेछ’, राठीले भने, ‘यसपटकको तिहार पनि नेपाली फिल्ममय हुने पक्का छ ।’

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेका विदेशी फिल्महरु ‘भेनम : द लास्ट डान्स’ र ‘कलिंगा’ले नेपाली फिल्मको ब्यापारमा असर नगर्ने उनको विश्लेषण छ । ‘विदेशी फिल्मका आफ्नै क्राउड हुन्छन्, त्यसले खासै असर नपार्ला । यसपटकको तिहार पनि नेपाली फिल्मकै हुनेछ’ उनले भने ।

प्रदर्शनरत नेपाली फिल्म ‘१२ गाउँ’ले आधिकारिकरुपमा कलेक्सन सार्वजनिक गरेको छैन । यद्यपि, यो फिल्मको १४ दिनसम्मको कमाइ १३ देखि १४ करोडसम्म हुने अनुमान छ । विराज भट्ट निर्देशित फिल्मको कमाइको हिसाब आउन बाँकी छ ।

अर्कोतर्फ, शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको टम हार्डी स्टारर हलिउड सुपरहिरो फिल्म ‘भेनम ः द लास्ट डान्स’को एड्भान्स टिकट विक्री हेर्दा यो फिल्मले नेपाली बक्स अफिसमा सन्तोषजनक ओपनिङ गर्ने देखिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button