Main

जंगली भाले गैंडाको आक्रमणबाट घाइते मेघौलीको निको हुँदै

२६, माघ, चितवन । चितवनको प्रमुख पर्यटकीय नगरी सौराहामा देखिने दुलर्भ एकसिङ्गे गैंडा हो, मेघौली । सौराहाको मुख्य सडकमा निस्फिक्री हिड्ने मेघौली जंगली भाले गैंडाको आक्रमणबाट घाइते भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक अमिर सडौलाका अनुसार यो गैंडालाई केहीदिन अगाडि जंगली गैंडाले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते मेघौली केहीदिन राम्रोसँग उठन पनि सकेन ।

संरक्षणकोषमा नै पालेर हुँर्काएको हुनाले चिकित्सकहरुलाई उसको सबै आनीवानी थाहा छ । सोही कारण चिकित्सक टोलीले नलठ्याइकन सुईबाट एन्टिवायोटिकहरु दिने काम गरे ।

मेघौलीको शरिरका विभिन्न भागमा जंगली गैंडाले टोकेका घाउहरु छन् । अहिले घाउहरु विस्तारै निको हुँदै गएका छन्, अलि अलि बाहिर हिड्न पनि थालेको छ ।

बेलाबेलामा बेटाडिन छर्किने र मल्हम लगाउने काम गरिएको डा. सडौलाले जानकारी दिए ।

२०७४ सालमा चार वर्षको उमेरको गैंडाको केटो अलपत्र अवस्थामा पश्चिम चितवनको मेघौलीमा फेला परेपछि संरक्षण कोषमा ल्याएर हुर्काइएको थियो । मेघौलीमा भेटिएको हुनाले यसको नाम पनि मेघौली नै राखिएको डा. सडौला बताउँछन् ।

कोषमा हुँर्काएको हुनाले १÷२ दिन बिराएर कोषको वरपर नै आएर बास बस्ने गर्छ भने कहिले चित्रसारी पुलतिर त कहिले सपना भिलेज वरपर देखिन्छ ।

पार्क सफारी होटल नजिकैको बालुवामा दिनभर घाम ताप्न रुचाउने मेघौली ९ वर्षको भयो । ‘अब मेघौली पनि वयश्क हुने बेला भयो’ डा. सडौला भन्छन् ‘जंगलीतिर पोथी गैंडा खोज्न जाँदा डोमिनेट गर्ने भालेहरुले आक्रमण गरेर घाइते बनाउने गर्छन् ।’

यसलाई जंगलमा लगेर छाड्न पटकपटक प्रयास गरे पनि फर्किएर पनि कोष कै वरपर आउने गर्दछ । कोषका चिकित्सक सडौलाका अनुसार अर्ना राखिएको पुरानो पदमपुरको इन्क्लोजरमा लगेर राखे पनि बार नै भत्काएर बाहिर निस्किएको थियो ।

भित्रको भाले हात्तीबाट लेखेटिएर बाहिर आउने गरेको हुन सक्ने डा. सडौला बताउँछन् । मानिसहरुको सम्पर्क बस्न चाहाने मेघौलीको नजिकै गएर सौराहा आउने पर्यटकहरु फोटो भिडियो खिच्ने गर्दछन् । विदेशी तथा विदेशी पर्यटकहरु मेघौलीसँग रमाउने गर्दछन् ।

उ पनि निर्धक्क भएर पोज दिने गर्दछ । पुष्पा र अञ्जलीलाई कोशी लगेपछि अहिले सौराहा वरपरको क्षेत्रमा मेघौली डुल्ने गर्दछ । कहिले होटल भित्रै त कहिले बैंकको एटीएम काउन्टर भित्रसमेत पस्ने गर्दछ । खानाका लागि कहिलेकाहीँ किसानको खेतवारीमा समेत जाने गर्दछ । लगाएको खेती खाइदिँदा किसानहरु मर्कामा परेका छन् ।

मानिसले हुर्काएका गैंडा सकभर जंगल जान मान्दैनन् । लगेर छाडे पनि मानिसकै वरपर बस्न रुचाउँछन् । सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा अहिले गैंडाका केटाकेटीहरु ‘राम’, ‘देव’ र ‘पूजा’ हुँर्किरहेका छन् । जंगलमा बाघले आक्रमण गरेका र अलपत्र परेका गैंडाका केटाकेटीहरुलाई उद्धार गरेर कोषमा हुँर्काउने गरिन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button