छानबिन समितिले कार्यादेश टुंगो लगाउने सदस्यहरूसँग सुझाव लिने

२५ जेठ, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले कार्यादेश बनाउन गठित कार्यदलका सदस्यहरूसँग सुझाव लिने भएको छ ।
समितिको दोस्रोपटक बसेको शुक्रबारको बैठकले कार्यदलमा रहेका सदस्यहरूसँग २ असारमा छलफल गर्ने निर्णय गरेको हो ।
कार्यादेशको भाव थप बुझ्नका लागि त्यो बनाउन संलग्न कार्यदलका सदस्यहरूका कुरा सुन्ने निर्णय भएको कांग्रेस सहमहामन्त्री एवं समिति सदस्य बद्री पाण्डेले जानकारी गराए ।
‘समिति बन्न र कार्यादेश बनाउन धेरै समय लागेको थियो । कार्यादेशको स्पिरिटको बारेमा उहाँहरूलाई बोलाएर थप स्पष्ट भएर कार्यविधि पारित गर्ने कुरा भएको छ,’ पाण्डेले भने । कार्यविधिलाई थप समृद्ध बनाउनका लागि आज पारित नगरिएको समिति सदस्य पाण्डेले जानकारी दिए ।
समितिको पहिलो बैठकमा भएका निर्णयानुसार सचिवालयले कार्यविधि आजको बैठकमा पेस गरेको थियो । सहकारीका सम्बन्धमा हालसम्म बनेका आयोग, कार्यदल, समिति लगायतले गरेका अध्ययन प्रतिवेदन संकलन गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ ।
तीन महिनामा समितिले काम सक्ने गरी कार्यविधि पेस गरिएको छ । बैठक बस्ने, निर्णय गर्ने, सभापतित्व गर्ने, समय लिने, बैठकका आचारसंहिता लगायत विषय कार्यविधिमा समावेश गरिएको छ ।
१५ जेठमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति बनेर सात सदस्यीय संसदीय छानबिन विशेष समिति बनेको थियो । जसमा एमाले सांसद सूर्य थापा संयोजक बनेका छन् ।
सदस्यमा कांग्रेसबाट सहमहामन्त्री पाण्डे, ईश्वरी न्यौपाने, एमालेबाट सदस्यमा सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान छन् ।
रास्वपा नेता खनाल कार्यादलका सदस्य समेत थिए । समितिको सचिवको जिम्मेवारीमा सहसचिव बबिता मिश्र छिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।