Main

जनआन्दोलनका घाइते भट्टको राष्ट्रियसभा यात्रा

११ माघ, धनगढी । ‘नेतृत्वले एकदिन न्याय गर्छ भन्ने कुराको मलाई विश्वास थियो’, राष्ट्रिय सभाको उम्मेदवार चयन भएपछि कांग्रेस नेता  नारायणदत्त भट्टले बधाई दिनेहरुलाई भन्थे । भट्टले ४ हजार ४१९ मतभार ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका रामचन्द्र जोशीले एक हजार ५७१ मतभार पाए । सभापति शेरबहादुर देउवा निकट मानिने भट्ट अवसरका लागि मरिहत्ते नगर्ने नेतामा पर्छन् तर पार्टी नेतृत्व दाहिना हुँदा राष्ट्रियसभा सदस्य बन्न सफल भए ।

‘धेरै नेताहरु अवसरका लागि अनेक गर्ने गर्छन् तर उहाँ (नारायण) ले त्यो कुरामा खासै चासो दिएको हामीले पाएनौं’, कैलालीका एक कांग्रेस नेताले अनलाइनखबरसँग भने, ‘उपयुक्त समयमा नेतृत्वले न्याय गर्छ भन्दै आउनुभएको थियो । आज त्यो कुरा यथार्थमा देखिएको छ ।’

भट्टको राजनीतिक यात्रा

पार्टीभित्र निर्भिक र स्पष्टवादी नेताको छवि बनाएका भट्ट नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका थिए । कक्षा ८ मा पढ्दा २०३४ सालमा नेविसंघको सदस्यता लिएका भट्ट पार्टीको नगर सदस्य, क्षेत्रीय सचिव हुँदै पार्टी राजनीतिमा सक्रिय भएका थिए । हाल उनी कैलालीको जिल्ला सभापति छन् ।

२०४६ सालमा भएको जनआन्दोलन अन्तर्गत कैलालीमा भएको आन्दोलनको अगुवाइ गरेका भट्ट २०४८ सालमा साविकको धनगढी नगरपालिका-१२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि कुनै पनि लाभको पद नपाएका उनी कांग्रेसको जिल्ला सदस्य र १२ औं महाधिवेशनमा महासमिति सदस्य भएका थिए ।

२०६२/६३ को जनआन्दोलनमा समेत भट्टले कैलालीमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । त्यतिबेला २८ चैत २०६२ मा राज्यपक्षबाट भएको आक्रमणमा घाइते भएका उनी अपांग बन्न पुगेका थिए ।

कांग्रेस विभाजन भएर शेरबहादुर देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गर्दा कैलाली जिल्ला सभापति भएका भट्ट पार्टी एकीकरणपछि उपसभापति हुँदै सभापति भएका हुन् ।

१९ फागुन २०७८ मा भएको अधिवेशनबाट भट्ट सभापतिमा विजयी भएका थिए । भट्टले राष्ट्रियसभामा इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अहिले गणतन्त्रमाथि आक्रमण भइरहेको छ। हामी इमानदारितापूर्वक त्यसलाई रोक्ने गरी काम गर्छौं’, भट्टले भने, ‘राष्ट्रको हित हुने नीति, निर्माण गर्छौं । त्यसमा सुदूरपश्चिमलाई बढी प्राथमिकता दिन्छौं । महिला, आदिवासी जनजाति र पछाडि परेका समुदायको हितमा काम गर्छौं ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button