Main

जलनको गम्भीर बिरामी जेसिका डेढ महिनामा निको भएर फर्किइन्

१५ फागुन, बाजुरा । गत पुस २८ गते बाजुराको बडिमालिका नगरपालिका–५ कि ९ वर्षकी जेसिका साउदखाना पकाउने बेलामा आगोमा जलेर घाइते भइन् । उनलाई आमा पवित्राले जिल्ला अस्पताल बाजुरा लगे पनि जलन धेरै भएको भन्दै तत्कालै काठमाडौं लैजान भन्यो ।

कमजोर आर्थिक अवस्थाकी जेसिकालाई बडिमालिका फाउन्डेसन नेपाल र मेडिकल पुनर्स्थापना केन्द्रको सहयोगमा ललितपुरको किस्ट मेडिकल कलेजमा उपचार गरियो । शरीरको करिब ३५ प्रतिशत भाग जलेको र जलन गहिरो रहेकाले उपचार निकै जटिल थियो ।

माघ २ गते किष्ट अस्पताल आइपुगेकी जेसिका डेढ महिनाको उपचारपछि निको भएकी छन् । कलेजका प्लास्टिक सर्जन, सिनियर कन्सलटेन्ट प्रा. डा. सुरेन्द्र बस्नेतले जेसिकाको छातीदेखि तलको भाग जलेको थियो । बस्नेतले आफूले उपचार गरेको जलनको बिरामीमध्ये जेसिकाको अवस्था धेरै जटिल रहेको पाएको बताए । ‘बचाउन सक्ने आशा थिएन, उपचार गर्‍यौं, तर उनी निको हुँदा धेरै खुशी छौं’, उनले भने ।

डा. बस्नेत, प्लास्टिक सर्जन डा. कृष्णकुमार नगरकोटीसहितको टिमले जेसिको ४ वटा ठूला र १२ वटा साना शल्यक्रिया गरेको थियो । डा. बस्नेतले भने ‘यो अवस्थाको बर्नको उपचार नेपालमा हुने सम्भाबना निकै न्युन रहेको थियो, भारतका सुविधा सम्पन्न अस्पतालमा लिन आफन्त सँगै पैसा थिएन, हामीले जोखिम लिएर उपचार गर्‍यौं ।’

मंगलबार अस्पतालबाट डिस्चार्ज भएर उनी मेडिकल पुनर्स्थापना केन्द्रमा पुगेकी छिन् । डिस्चार्ज भए पनि उनले ३–४ दिनमा फलोअपका लागि अस्पताल पुग्नु पर्छ ।

केन्द्रका अध्यक्ष सम्राट सिंह बस्नेतका अनुसार जेसिकाको उपचारमा करिब ४ लाख रुपैयाँ खर्च भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button