Main

जसोजसो प्रतिनिधि सभा उसैउसै राष्ट्रिय सभा

३ जेठ, काठमाडौं । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक साँझ ४ बजेका लागि सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्ष नेताहरू संवादमा रहेको र प्रतिनिधि सभाको अवरोध खुलाउने पहल जारी रहेको भन्दै प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भयो ।

प्रतिनिधि सभाको बैठक स्थगित भएको केही बेरमा राष्ट्रिय सभाको बैठक पनि सर्‍यो । जबकि राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको थियो ।

प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजेका लागि सरेपछि त्योभन्दा ढिलो साढे ४ बजे बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

यसरी प्रतिनिधि सभाको बैठक हेरेर राष्ट्रिय सभा चल्ने अवस्था आउनु गलत भएको सत्तारुढ दलकै सांसदहरू बताउँछन् । माओवादी केन्द्रका एक सांसद भन्छन्, ‘प्रतिनिधि सभामा लामो समयदेखि सहकारीको विषय उठेको छ । त्यहाँ उठेको विषय त्यही सम्बोधन हुने प्रयास भइराखेको छ । तर प्रतिनिधि सभामा के भएको छ भनेर राष्ट्रिय सभा समेत प्रभावित हुन थालेको छ यो गलत हो ।’

सभामुख देवराज घिमिरे प्रतिनिधि सभाको बैठकलाई सौहार्द बनाउन प्रधानमन्त्री प्रचण्ड सहितका नेताहरूसँग संवाद गरिरहेका छन् । प्रतिनिधि सभामा रहेका दलका प्रमुख सचेतक र सचेतकहरूसँग संवाद गरिरहेका छन् ।

तर विना कारण राष्ट्रिय सभाको बैठक स्थगित गरिएको भनेर राष्ट्रिय सभा सदस्यहरू नै असन्तुष्ट बनेका छन् ।

यसअघि २८ वैशाख २०८१ मा बसेको बैठकमा सांसदहरूले नै प्रतिनिधि सभाको छाया राष्ट्रिय सभामा पर्न थालेको भनी नेतृत्वको ध्यानाकर्षण गरेका थिए ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । यो विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ ।

यो माग २८ वैशाखदेखि कांग्रेसले राष्ट्रिय सभाको बैठकमा समेत राख्न थालेको छ । त्यसदिन राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता कृष्ण सिटौलाले सहकारीको रकम अपचलनमा संलग्न रहेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म सदन नचल्ने बताएका थिए । संघीय संसद्को चालु अधिवेशनमा कांग्रेसले राष्ट्रिय सभालाई पनि कार्यसूचीमा प्रवेश गर्न दिएको छैन ।

प्रतिनिधि सभामा उठिरहेको विषय राष्ट्रिय सभामा पनि उठाएको भनेर त्यसै दिन कतिपय सांसदहरूले राष्ट्रिय सभा प्रतिनिधि सभाको छाया बन्न लागेको भनेर नेतृत्वको ध्यानाकर्षण गरेका थिए ।

राष्ट्रिय सभा मेलमिलापको सभाको रूपमा स्थापित भएको उल्लेख गर्दै राष्ट्रिय सभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले मेलमिलापकै रूपमा सभालाई अगाडि बढाउन आवश्यक रहेको बताएका थिए ।

माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले प्रतिनिधि सभामा विरोध भइराखेको वा उठेको विषयलाई लिएर राष्ट्रिय सभामा अवरोध नगर्न सुझाएका थिए । प्रतिनिधि सभाको विषय उठाइए राष्ट्रिय सभाकै औचित्यमाथि नै प्रश्न उठ्न सक्ने उनको भनाइ थियो ।

‘म यहाँ भएको करिब चार ४ वर्ष भयो । योबीचमा अन्तरविरोध र अन्तरसंघर्ष त्यस्तो देखिएन । सबै हामीले मेलमिलापकै बीचबाट गर्‍यौं’ उनले भनेका थिए, ‘अब फेरि विस्तारै राष्ट्रिय सभामा प्रतिनिधि सभाको छाया पर्छ जस्तो लाग्छ । यो भयो भने राष्ट्रिय सभाको अर्थ हुँदैन ।’

प्रतिनिधि सभाको बैठक रोकिए राष्ट्रिय सभाको बैठक रोकिने, प्रतिनिधि सभामा नारा लागे राष्ट्रिय सभामा नारा लाग्ने, प्रतिनिधि सभा सहज ढंगले चले राष्ट्रिय सभा चल्ने वातावरण बन्दै गए सभामाथि प्रश्न उठ्न सक्ने उनको भनाइ थियो ।

सांसद शर्माले भनेका थिए, ‘पल्लोपट्टी रोक्दा यहाँ रोकिने, त्यहाँ नारा लगाइए यहाँ पनि लाग्ने, त्यहाँ जे जे हुन्छ त्यसको फोटोकपी यहाँ गर्ने हो भने फोटोकपी मेसिन दुई ठाउँ आवश्यक हुँदैन ।’

राष्ट्रिय सभाको फरक पहिचान कायम राख्नुपर्नेमा उनको जोड थियो ।

माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले प्रतिनिधि सभामा विरोध भइराखेको वा उठेको विषयलाई लिएर राष्ट्रिय सभामा अवरोध नगर्न सुझाएका थिए ।

सहकारीको विषयमा प्रतिनिधि सभामा उठेको विषयले संघीय संसद्को अघिल्लो अधिवेशनमा राष्ट्रिय सभाको बैठक प्रभावित भएको थिएन । बर्खे अधिवेशनको पहिलो दिनदेखि नै यो विषय राष्ट्रिय सभामा उठेको छ । यही विषयले राष्ट्रिय सभाको बैठक पनि बस्न सकिरहेको छैन ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल राष्ट्रिय सभा प्रतिनिधि सभाको छाया होइन भन्ने स्थापित गर्ने प्रयासमा रहेको बताउँछन् ।

उनी भन्छन्, ‘बर्खे अधिवेशनको पहिलो दिन दलीय आधारमा माननीयहरूले आफ्नो कुरा राख्नुभयो । दलीय आधारमा सांसदहरूले शुभकामना मन्तव्य राखेपछि स्थगित भएर बसेको दोस्रो बैठक कार्यसूचीमा प्रवेश गर्न पाएन । यो प्रतिनिधि सभाको भन्दा फरक दृश्य हो ।’

फेरि पनि आफू राष्ट्रिय सभालाई सहज ढंगले चलाउन प्रयासरत रहेको अध्यक्ष दाहालको भनाइ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button