Main

जीवन सिकाइरहेको एउटा ‘लास’

१८ जेठ, काठमाडौं । शरीर छपक्कै छोपिने गरी ट्याटु । अनुहारमा खुसी न दुःख कुनै भाव छैन । चिन्ता, तनाव छोडेर मस्त निदाइरहेको छ ।

तँछाडमछाड, धोकाधडीबाट बटुलेका कुनै सम्पत्ति पनि अब चाहिएन । न जोडेको घर आफूसँग छ, न जग्गाको लालपूर्जा ! उसलाई सुन चाहिएको छैन र चाहिएको छैन पैसाका गह्रुंगा बिटा पनि । निदाउन महंगो खाट वा मखमली ओछ्यान पनि चाहिएको छैन ।

ऊ मस्त निदाइरहेको छ काठका चाङमाथि सेतो कपडामा …!

टाशी शेर्पाले बनाएको प्रतिमा । तस्वीर सौजन्य : नाफा ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी परिसरमा दुरुरुस्तै मान्छे देखिने यो प्रतिमा कलाकार टाशी शेर्पाले बनाएका हुन् । उनको यो कलात्मक प्रतिमाले देशभरिका हजारभन्दा बढी प्रतिस्पर्धीलाई उछिनेर राष्ट्रिय ललित कला प्रदर्शनी–२०८१ को उपाधि नै जित्यो ।

‘मरिलानू के छ र ?’ थिममा बनाएको प्रतिमामा शेर्पाले जीवन र मृत्युको सम्बन्धलाई देखाउन खोजेको बताउँछन् ।

‘इर्ष्या   , लोभ, रिस, आवेग यो सबै हाम्रा मानवीय गुण नै हुन् । जन्मिएदेखि कतै न कतै हामीसँगै जोडिएर रहिरहेका हुँदा रहेछन्’, २८ वर्षीय टाशी भन्छन्, ‘तर यसमाथि हामीले जित्नुपर्छ । आखिर मरेर जाँदा हामीसँग के नै पो हुने रहेछ र ?’

लमतन्न शव (प्रतिमा) छेउमा शेर्पाले धनसम्पत्तिका कागजात, गरगहना र पैसाका बिटा राखिदिएका छन् । तर शव भने नांगो छ । ‘नांगो र खाली हातै जन्मिएका हौं, खाली हातै जानेछौं भनेर देखाउन खाजेको हुँ’, उनले भने, ‘पहिलेपहिले चित्र हेरेर पनि मान्छे रुन्छन् रे भन्ने सुनेको थिएँ । अहिले मेरो क्रिएसन हेरेर मान्छेहरुले आँखाभरि आँसु पार्दा साँच्चै केही गरिएछ भन्ने लाग्यो ।’

*** ***

गाकर्णेश्वरका २८ वर्षीय टाशीलाई सानैदेखि चित्रकलामा औधी रुचि थियो । स्कुलका भित्ता होस् या कालोपाटी, उनले धर्सा नकोरेको विरलै उदारहण छन् । कक्षाकोठाबाट सर बाहिरिनेवित्तिकै उनी अगाडि बढ्थे र कालो पाटीमा चक दौडाउन थालिहाल्थे ।

‘त्यस्तो गर्दा सर म्यामहरुले गालीचाहिँ गर्नुभएन । राम्रो चित्र बनाउँदा स्याबास भन्नुहुन्थ्यो’, शेर्पा सम्झन्छन्, ‘चित्रकलामै प्यासन बढ्यो, अहिले यसैमा करियर बनाइरहेको छु ।’

काठमाडौं विश्वविद्यालयबाट ‘फाइनआर्ट’मा स्नातक गरेका टाशीलाई पृथक बाटोमा हिड्न भने गुरु भुवन थापाको ‘कलाकारलाई बचाइराख्ने उसको फरक कलाले हो’ भन्ने भनाइले प्रेरित गर्‍यो ।

‘मलाई पनि केही नयाँ गरुम् न भनेर फिल भइराख्थ्यो । आफैंले अनुभूत गरेकोचाहिँ रिस हो । यसले आफैंलाई मात्रै चोट पुर्‍याएको पाएँ’, टाशीले सुनाए, ‘आखिर मरेर जानु नै अन्तिम सत्य हो भने रिस किन पालेर बस्ने भन्ने भयो । त्यसलाई चित्रमा देखाउन थालें ।’

बौद्धमा ट्याटु पसल चलाइरहेका टाशीले गतवर्षदेखि नेपाल ललितकला प्रतिष्ठानको प्रदर्शनीमा भाग लिन थाले । अघिल्लो वर्ष उनले जीवन र मृत्युकै थिममा चित्र बनाएका थिए । पहिला नै प्रदर्शनीमा राखिसकेका कारण प्रतिस्पर्धामा सहभागी गराइएन । यो पटक भने उनले प्रतिस्पर्धाकै लागि काम गरे ।

चीनबाट सिलिकन ल्याए, एक महिना लगाएर प्रतिमा बनाए । त्यसमाथि ट्याटु केरे ।

७ वटै प्रदेशमा प्रदर्शनी भयो, त्यसबाट छनोट भएकालाई काठमाडौंमा प्रदर्शनीमा राखियो । ७ वटै प्रदेशबाट छानिएर काठमाडौं आएका ५ सय २२ जना प्रतिस्पर्धीलाई उछिन्दै टाशी सर्वोत्कृष्ट भए । ‘आफ्नो क्रियसनमा भर त थियो । जितिहाल्छु भन्नेचाहिँ लागेको थिएन’, उनले भने, ‘जे होस् सबैले मन पराइदिनुभो ।’

प्रज्ञा भवनमा जेठ ३० गतेसम्म टाशीको ‘मरिलानु के छ र ?’ थिमको शव (प्रतिमा) प्रदर्शन हुनेछ ।

आफूले बनाएको चित्रले आफैंलाई पनि सकारात्मक सोचको सञ्चार गराइरहने टाशी सुनाउँछन् । भन्छन्, ‘मेरो सिर्जनाले अरुलाई कुन सन्देश दिन्छ थाहा छैन, तर मलाई भने सधैं लोभ, लालचबिना सत्यको बाटोमा हिँड्न इन्स्पायर गरिराख्छ ।’

जो कोही झुकिन्छन्

टाशीले बनाएको प्रतिमा यति जीवन्त छ कि पहिलो पटक देख्ने जो कोही सहजै झुक्किछन्, तर्सिन्छन् ।

त्यही कारण घरदेखि बौद्धस्थित कार्यालय र प्रज्ञा प्रतिष्ठानमा लैजान पनि कम्ता सास्ती खेप्नु परेन ! ‘मेरो काँधमा शव (प्रतिमा) देखेपछि घरमै आइपुगेको ट्याक्सी चालक पनि डरले ढोका खोल्नै मानेन’ टाशी भन्छन्, ‘बल्लबल्ल सम्झाएर अफिस ल्याएँ । अफिसदेखि एक्जिभिसनमा लैजान पनि ठ्याक्कै त्यस्तै भयो ।’

टाशीका अनुसार नेपालमै पहिलो पटक (सम्भवत ?) सिलिकन प्रयोग गरेर बनाएको ‘आर्ट’ हो । यो शवको प्रतिमा बनाउन मात्रै एक लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।

त्यसलाई राख्न प्रयोग भएको काठ पनि पशुपति आर्यघाटबाटै ल्याए, जसले उनको कलालाई जिवन्त बनाउन थप मदत गरेको छ । ‘साँच्चैको लास भनेर एक्जिभिसन सेन्टरमा पनि धेरै नजिक जानै मानेनन्, छुन लगाएर सम्झाउनुपर्‍यो’, उनले भने ।

उनको उक्त कलालाई मन पराएर किन्ने प्रस्तावहरु नआएका होइनन् । तर उनी बेचिहाल्ने मनस्थितिमा छैनन् । ‘यो जहाँ पायो त्यही राख्ने कला होइन भन्ने मलाई लागेको छ । धनीहरु मान्छेहरुले लगेर एक ठाउँमा, कुनामा राखेर के गर्नु र ?’ टाशीले अनलाइनखबरसँग भने, ‘म चाहन्छु यो कुनै गुम्बा, मन्दिरमा लगेर राखियोस् । धेरै मान्छे आइरहने ठाउँ त्यहीं हो नि ! सबैले हेर्न पाउँछन् ।’

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button