जुडोकी मनिताले पेरिस ओलम्पिक खेल्ने

१२ असार, काठमाडौं । नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले आगामी जुलाई अगष्टमा फ्रान्समा हुने पेरिस ओलम्पिक खेल्ने भएकी छन् ।
उनी वाइल्ड कार्ड मार्फत पेरिस ओलम्पिकका लागि छनोट भएकी इन्टरनेसनल जुडो फेडेरेसनले जनाएको छ ।
२५ वर्षीय मनिताले महिला ५७ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् ।
आईओसीको स्कलरसिप पाएकी मनिताले ओलम्पिक छनोटअन्तर्गत केही समयअघि गत अप्रिलमा एसियन च्याम्पियनसिप र मे मा काजाखस्तानमा ग्राण्डस्लाम प्रतियोगिता खेलेकी थिइन् ।
उनले गत वर्ष चीनको हान्झाउमा भएको १९औं एसियाडमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।
मनिताले नेपालक लागि जुनिर र क्याडेट विधामा एक एक कांस्य जितेकी छन् ।
उनले सन् २०१६ मा भारतको कोचीमा भएको दशौं क्याडेट एसियन च्याम्पियन र २०१७ मा किर्गिस्तानमा भएको एसियन जुनियर च्याम्पियनसिपमा नेपालका लागि कांस्य जितेकी थिइन् ।
उनले सिनियर र जुनियर गरेर पाँच पटक वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाइसकेकी छन् ।
मनिताले वाइल्ड कार्ड पाएपछि पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी संख्या ७ पुगेको छ ।
यसअघि टेबलटेनिसका श्यान्टु श्रेष्ठ छनोट चरण पार गरेर पेरिसका लागि छनोट भइसकेका छन् । यस्तै पौडीबाट एलेक्स शाह र डुवाना लामा, एथ्लेटिक्सबाट सन्तोषी अधिकारी, ब्याटमिन्टनबाट प्रिन्स दाहाल र सुटिङकी सुस्मिता नेपालले पनि ओलम्पिक खेल्ने पक्का भइसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।