Main

‘ज्वाइँ साब’बारे नीति शाह : अभिनेत्रीको रुपमा उत्प्रेरित भएकी छु

काठमाडौं । अभिनय करिअर र प्रसिद्धीको हिसाबले नीति शाहको लागि ‘ज्वाइँ साब’ उत्साहप्रद रह्यो । फिल्मको शीर्ष भूमिकामा नीतिले गरेको अभिनयको प्रशंसा भैरहेको छ, जहाँ उनले एक बाठी गाउँले युवतीको भूमिका निर्वाह गरेकी छन् ।

‘खजुरे ब्रो’ डेब्यु गर्लका लागि यो दोस्रो कथानक फिल्म धेरै हिसाबले ‘क्लासरुम फिल्म’ बन्यो किनभने यस क्रममा उनले घरेलु फिल्ममा निर्माण र प्रदर्शनको ‘इको सिस्टम’ बुझ्ने मौका पाइन् । दर्शकीय प्रतिक्रिया बुझिन् । सबैभन्दा महत्वपूर्ण कुरा, दर्शकले आफूलाई कसरी लिन्छन् भन्ने बोध उनलाई भयो ।

समग्रमा नीतिको दशैं ‘ज्वाइँ साब’मय बन्यो । यसबीच उनको ब्यस्ता हल भिजिटमा देखियो । दर्शक भेट्न उनी काठमाडौंदेखि नेपालगञ्ज पुगिन् र दर्शकीय मुड बुझ्ने प्रयास गरिन् ।

‘दर्शकलाई भेट्दा राम्रो रेस्पोन्स पाएँ । दर्शकले अभिनय रुचाउनुभएको छ । पहिलो फिल्ममा धेरै रोल थिएन । यसमा राम्रै स्पेस पाएकी छु’ भन्छिन्, ‘काम राम्रो गरेको छु जस्तो लागेको छ ।’

‘ज्वाइँ साब’ले आफूलाई उत्साहित र उत्प्रेरित तुल्याएको उनको अनुभव छ । ‘पहिलो फिल्ममा त्यति धेरै गर्न सकेको थिइन । प्रतिक्रियाले खुसी लागेको छ । उत्साहित पनि छु र मोटिभेट पनि छु’ उनले भनिन् ।

‘ज्वाइँ साब’बाट आफू धेरै दर्शकमाझ पुगेको नीति बताउँछिन् । ‘यो फिल्मबाट मलाई धेरै चिन्ने दर्शक बढेका हुन् कि भन्ने लाग्यो । नयाँ अवसर पाउँछु कि भन्ने आशा छ’ उनी भन्छिन् ।

फिल्म प्रचारका लागि नीति र जितु नेपाल सहितको टोली केही दिनअघि नेपालगञ्ज पुगेको थियो । त्यहाँ पनि दर्शकले ‘ज्वाइँ साब’को टिकट पाउन नसकेको गुनासो गरेको नीतिले बताइन् । ‘धेरैले प्राइम टाइममा शो नपाएको गुनासो गर्नुभयो । हल भिजिटमा जाँदा धेरैको गुनासो टिकट पाउन नसकेको भन्ने थियो’ भन्छिन्, ‘कतिले ४ दिनदेखि टिकट नपाएको बताउनुभयो ।’

‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’सँग फिल्म जुध्नुलाई सकारात्मकरुपमा लिनुपर्ने नीतिको भनाई छ । ‘हामीलाई धेरै फिल्म जुधायो भन्नुभयो । हामीलाई एक किसिमको हाइप पनि भयो । दशैंको माहोलमा दर्शकले सबै फिल्म हेरेको बताउनुभयो’ भन्छिन्, ‘नेपाली फिल्म इन्डष्ट्रिका लागि यो निकै राम्रो कुरा हो ।’

उनले यसलाई ‘प्रतिस्पर्धा’ नभएको बताइन् । ‘म कम्पिटिसनभन्दा पनि तीनैवटा फिल्मले राम्रो गरेको भन्छु’ भन्छिन्, ‘हरेक शुक्रबार विदेशी फिल्म आउँछन् । यसपटक नेपाली दर्शकले एकपछि अर्को नेपाली फिल्म हेर्नुभयो । यो नेपाली इन्डष्ट्रिको लागि राम्रो हो । यो नेपाली फिल्मको लागि जित हो ।’

भविष्यमा आफूले ‘छक्कापञ्जा’ र ‘१२ गाउँ’ फिल्ममा पनि अभिनय गर्नुपर्ने परिस्थिती आउन सक्ने बताउँदै नीतिले यसका लागि सकारात्मक सोच राख्नुपर्ने बताइन् । ‘प्रतिस्पर्धाभन्दा पनि सकारात्मक सोच महत्वपूर्ण हो’ उनले भनिन्, ‘दुस्मनीको हिसाबले मैले लिएको छैन । म कलाकार हुँ । भोलि सबैजनासँग काम गर्नुपर्ने हुन्छ ।’

पछिल्लो समय दर्शक संवेदनशिल र स्मार्ट भएको नीतिको बुझाइ छ । उनले कलाकार पनि माइन्डफुल हुनुपर्ने बाइन् । फिल्म हिट हुनुमा प्रवर्धन अभियान, हल भिजिट, देशब्यापी क्याम्पेन पनि जरुरी रहेको आफूले बुझेको उनी बताउँछिन् । ‘यी क्याम्पेनले दर्शकलाई कनेक्ट गर्न सक्ने रहेछ भन्ने लाग्यो’ उनी भन्छिन् ।

आगामी फिल्ममा आफूलाई आफ्नै उमेर र युवापुस्तासँग गाँसिएका पात्रको भूमिका निर्वाह गर्न मन लागेको उनी बताउँछिन् । ‘मलाई महिला सशक्तीकरण र सामाजिक सन्देश दिने खालका फिल्म पनि गर्न मन छ’ उनी भन्छिन् ।

आगामी फिल्म ‘रुखान’मा आफू महिला सशक्तीकरण शैलीको भूमिकामा काम गर्न लागेको उनले बताइन् । यसबाहेक नीति यतिबेला ‘नरसिंहा अवतार’को छायांकनमा समेत ब्यस्त छिन् । उनले नयाँ फिल्म ‘मोहर’मा पनि काम गर्दैछिन् ।

पछिल्लो समय नेपाली फिल्म उद्योगमा पात्र र विषयवस्तुलाई महत्व दिन थालिएको नीति बताउँछिन् । ‘ज्वाइँ साब’मा जितुसँग उनको जोडीलाई रुचाइयो । कथाअनुसार यी दुईले फिल्ममा आफ्नो भूमिकाको लागि योगदान दिएका छन् ।

‘ज्वाइँ साब’ यतिबेला देशब्यापी दोस्रो सातामा प्रदर्शन भैरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button