Main

झलनाथले भने : कम्युनिष्टहरु एकताबद्ध नभई देशको प्रगति असम्भव

७ वैशाख, विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालमा कम्युनिष्टहरु एकताबद्ध नभई देशको प्रगति सम्भव नभएको बताएका छन् ।

शुक्रबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सो कुरा बताएका हुन् । उनले भने, ‘नेपालमा कम्युनिष्टहरु एकताबद्ध नभइकन यो देशको अग्रगति प्रगति सम्भवै छैन । त्यसकारण कम्युनिष्टहरु एक ठाउँमा आउनु त आजको ऐतिहासिक आवश्यकता हो । यसमा कुनै दुईमतै छैन ।’

अहिले देश आर्थिक संकटमा र राजनीतिक दिशाहीनतामा रहेको भन्दै नेता खनालले समुन्नतीका लागि सबै शक्ति एकताबद्ध हुनुपर्ने बताए । उनले भने, ‘अहिले देश आर्थिक संकटमा छ, राजनीतिक दिशाहीनतामा छ, सामाजिक संकटहरु बढ्दैछन्, साँस्कृतिक संकटहरु बढ्दैछन् । देशका यी समस्यालाई समाधान गरेर समुन्नतीतर्फ अगाडि बढाउनका लागि सबै शक्ति एकताबद्ध हुनुपर्छ ।’

नेकपा एमालेसँग तिक्तताको बीच एउटै गठबन्धनमा रहेकोबारे सोधिएको प्रश्नमा उनले अनेक सवालमा मतभेद पनि भए साझा सवालमा एक हुने गरेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिँदै खनालले भने, ‘हामी एकापसमा सँगसँगै पनि हिँडेका छौं, एकापसमा अनेक सवालमा मतभेद पनि छन् । ती मतभेदमा बहस, अन्तरसंघर्ष जारी रहन्छ, साझा सवालमा एकताको प्रक्रिया पनि हुन्छ ।’

निर्वाचन प्रणालीको कारण प्रदेश सरकार गठन प्रक्रियामा सकस परिरहेको भन्दै उनले यसमा परिमार्जन आवश्यक रहेको बताए । ‘निर्वाचन प्रणालीमा परिमार्जन आवश्यक छ भन्ने कुरा महसुस सबैलाई भइसकेपछि स्वाभाविक रुपले परिमार्जन हुन्छ,’ उनले भने ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार नछोड्नुको कारणबारे सोधिएको प्रश्नमा खनालले प्रक्रिया पूरा हुन बाँकी रहेको बताए । ‘त्यो पनि प्रक्रियाको कुरा हो, एकै दिन झ्याप्पै हुँदैन सबै कुरा,’ खनालले भने, ‘यसमा केही राजनीतिक र संवैधानिक समस्याहरु छन्, ती समस्याहरु समाधान भएपछि सबै कुरा क्लियर हुन्छ । यो एउटा संक्रमण हो ।’

सुदूरपश्चिममा जस्तै कोशीमा पनि मुख्यमन्त्रीको दाबेदार त होइन ? भन्ने जिज्ञासामा उनले भने, ‘हामी मुख्यमन्त्रीमात्र मागिरहेका छैनौं, हामी वामपन्थी र प्रगतिशील एकता मागिरहेका छौं । यो देशलाई अहिले चाहिएको त्यो हो । कोशीलाई पनि त्यही चाहिएको छ, अरु सबै प्रदेशलाई त्यही चाहिएको छ, सिंगो देशलाई पनि त्यही चाहिएको छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button