Main

रविमाथि अब चितवनको साहारा सहकारीमा पनि अनुसन्धान

६ मंसिर, काठमाडौं । चितवन भरतपुरको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ ।

बुधबार २४ जना बचतकर्ताले साहारा सहकारीको ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गोर्खा मिडिया प्रालि र जीबी राई समूहका विभिन्न कम्पनीमा अपचलन भएको भन्दै जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले दोस्रो चरणको अनुसन्धान अघि बढाएको हो ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम गोर्खा मिडिया प्रालिमा लगेर अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, शेयरधनी छविलाल जोशीलगायत १० जनाविरुद्ध साहारा सहकारीका वचतकर्ताले जाहेरी दिएका छन् ।

जाहेरी परेपछि अनुसन्धान अघि बढाइएको चितवनका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताएका छन् । अब डकुमेन्टेसन गरेर अदालतबाट पक्राउ पूर्जी जारी गर्ने तयारी प्रहरीको छ ।

‘यो सहकारीको मुद्दा यसअघि नै अदालतमा गइसकेकाले धेरै विषयहरु यसअघि नै अनुसन्धान भइसेकका छन् । अब गोर्खा मिडियामा गएको रकमबारे अनुसन्धान सुरु हुन्छ’, मिश्रले अनलाइनखबरसँग भने ।

गत ८ भदौमा साहारा सहकारी ठगी प्रकरणको मुद्दा चितवन जिल्ला अदालतमा दर्ता भएको थियो । फेरि नयाँ जाहेरी आएपछि दोस्रो चरणमा अनुसन्धान गर्न लागेको प्रहरीको भनाइ छ ।

सहकारीबाट गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा ४७ करोड रुपैयाँ जम्मा भएको खुलेको छ । अघिल्लो चरणको अनुसन्धान टुंगाउँदा पनि यो विषय प्रहरीले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको थियो ।

‘साहारा सहकारीबाट गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबर कारोबार के–कसरी को–कोसँग भएको हो, त्यसको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले उक्त कम्पनीको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायत बारे थप अनुसन्धान गर्नुपर्ने देखिन आयो । जसका कारण पूरक अनुसन्धान गरी पूरक अभियोजन पेस गरिने बेहोरा जानकारी गराइन्छ’, यसअघिको अभियोगपत्रमा उल्लेख छ ।

अब यही ४७ करोडलाई केन्द्रमा राखेर अनुसन्धान हुने एसपी मिश्र बताउँछन् । उनका अनुसार सम्भवत आइतबार जिल्ला अदालत चितवनबाट पक्राउ पूर्जीका लागि अनुमति लिने तयारी छ ।

यद्यपि वचतकर्ताले दिएको जाहेरीमा भने साहाराबाट गोर्खा मिडियामा १० करोड रुपैयाँ गएको भनिएको छ । साहाराका वचतकर्ताले रवि र छविसँगै जीबी गु्रप अफ कम्पनीका शेयरधनी सिन्धुलीको दुधौली नगरपालिका–२ का विशाल तामाङ, अर्का शेयरधनी नवीन अछामी, रबिना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, भगवती बम्जन, कविता तामाङ, रामबहादुर खनालविरुद्ध उजुरी दिएका छन् ।

प्रहरीका अनुसार पोखराको सूर्यदर्शन तथा बुटवलको सुप्रिम सहकारीमा जस्तै साहाराबाट रवि लामिछानेकै नाममा कुनै पनि कर्जा गएको देखिएको छैन । तर यो सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएको र त्यसपछिको कारोबार तथा खर्चमा उनी जोडिएकाले अनुसन्धानको दायरामा परेका हुन् ।

सहकारीको वचत अपचलन संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगञ्जको सानोपाइला सहकारीबाट ८ अर्बभन्दा बढी रकम अपचलन भएको निश्कर्ष निकालेको थियो ।

यसमध्ये ६५ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा ल्याई अपचलन भएको भन्दै रवि लामिछाने, छविलाल जोशी, जीबी राई, र कुमार रम्तेलविरुद्ध प्रचलित कानुन बमोजिम कारबाही गर्न समितिले सिफारिस गरेको थियो । त्यसपछि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा जोशी र लामिछाने पक्राउ परेर हाल अनुसन्धानको क्रममा छन् ।

भेटियो २ फरक विवरण

साहारा चिवतनबाट गोर्खा मिडियामा गएको रकमबारे दुई फरक विवरण भेटिएको छ । प्रहरीले यो सहकारीको कार्यालयबाट बरामद गरेका विभिन्न कागजात तथा कम्युटरहरुमा सहकारीको कारोबार उल्लेख गरिएको भेटिएको थियो ।

उक्त कागजातहरुमा भने साहारा चितवन सहकारीले पाउनुपर्ने रकमबारे गोर्खा मडिया नेटवर्क प्रालिको नाममा १० करोड ८० लाख १८ हजार १५१ उल्लेख गरेको भेटिएको छ । तर सहकारीबाट गोर्खा मिडिया कम्पनीमा सोझै गएको रकम भने ३ करोड ५० लाख रुपैयाँ मात्रै भेटिएको छ ।

‘थोरै रकम गएको किन धेरै उल्लेख गरियो ? सहकारीले उठाउनुपर्ने रकम भने १० करोड ८० लाख उल्लेख गरिएको छ । तर सोझै गएको रकम ३ करोड ५० लाख मात्रै भेटिएको छ । आधिकारिक कुन हो, अझै बढी रकम गएको हो भन्नेबारे अनुसन्धान गर्दैछौं’ चितवनका एक अनुसन्धान अधिकृतले भने ।

गोर्खा मिडियाको मात्रै नभएर अन्य कम्पनीमा गएको रकमबारे पनि फरक फरक विवरण भेटिएको छ ।

बचतकर्ताको ९ करोड ७३ लाख ८१ हजार ८९७ रुपैयाँ जीबीकै अर्को कम्पनी नेचर हर्ब इन्टरनेशनल प्रालिमा लगिएको उल्लेख गरिएको छ । तर साहारा चितवनबाट यो कम्पनीको गएको जम्मा रकम भने ९६ लाख मात्रै भेटिएको छ ।

त्यसैगरी जीबी गु्रप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ रुपैयाँ गएको उल्लेख गरिएको छ । तर प्रहरी अनुसन्धानबाट भने उक्त कम्पनीमा जम्मा १ करोड २५ लाख ३२ हजार रुपैयाँमात्रै गएको भेटिएको छ । नेचर नेष्टमा पनि रकम गएको भेटिएको छ । स्प्रिङ उड रियल स्टेट हाउजिङमा रकम नै नगए पनि रकम गएको उल्लेख गरिएको छ ।

रम्तेलको व्यक्तिगत खातामा ९७ लाख

साहारा चितवन सहकारीको रकम विभिन्न व्यक्तिको खातामा जम्मा गरेर मनोमानी रुपमा खर्च गरेको भेटिएको छ । यो विषय सूर्यदर्शन सहकारी ठगी प्रकरण र साहारा चितवन सहकारी ठगी प्रकरणमै पुर्पक्षका लागि कारागारमा रहेका कुमार रम्तेलले समेत स्वीका गरेका छन् ।

अनुसन्धानका क्रममा रम्तेलको एभरेष्ट र प्राइम बैंकको खातामा मात्रै ९७ लाख ५५ हजार रुपैयाँ जम्मा गरेको भेटिएको थियो । उक्त रकम भने त्यहाँबाट निकालेर जीबी राईले खर्च गरेको दाबी रम्तेलको छ । ‘जीबीले स्वदेश तगा विदेश भ्रमणहरु गर्ने, विदेशी पाहुनालाई खर्च गर्न रकम मेरा खातामा हाल्ने र त्यसपछि निकालेर लाने गर्थे’ अघिल्लो पटकको अनुसन्धानमा रम्तेलले भनेका थिए ।

३७ करोडको मुद्दा अदालतमा विचाराधीन

यसअघि यो सहकारी ठगी प्रकरणको मुद्दा अदालतमा दर्ता भइसकेको छ । अहिले विचाराधीन अवस्थामा रहेको उक्त मुद्दामा १७ जनालाई प्रतिवादी बनाइएको थियो ।

त्यतिबेला सहकारीका संस्थापक अध्यक्ष जीबी (गितेन्द्रबाबु) राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर गरी १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।

त्यतिबेला ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो ।

प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button