झापा १ काठमाडौं कप फुटसलको उपाधि मेचीनगरलाई, मैत्रीपूर्ण खेलमा विश्वप्रकाशको दुई गोल

१ मंसिर, काठमाडौं । प्रथम झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साविक मेचीनगरले जितेको छ ।
ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा शनिवार भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगर च्याम्पियन बन्यो ।
निक्कै रोमाञ्चक बनेको खेलमा मेत्रीनगरका लागि रोहन कार्की र प्रथम कार्कीले दुई-दुई गोल गरे । धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे पनि जितका लागि पर्याप्त भएन ।
प्रथम कार्कीले मेचीनगरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, देवासिसले धाइजनलाई खेलमा फर्काए । त्यसपछि रोहन कार्कीले लगातार दुई गोल गर्दै अग्रता ३–१ मा पुर्याए । देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३–२ को स्थितिमा ल्याए । लगत्तै प्रथमले अर्को गोल गर्दै मेचीनगरलाई ४–२ को अग्रता दिलाए । खेलको अन्त्यतिर देवासिसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे । टिम पराजित भएपनि देवासिस खेलको प्लेयर अफ द म्याच चुनिए ।
त्यसअघि मेचीनगरले पहिलो सेमिफाइनलमा बाहुनडाँगीलाई ५–१ ले तथा धाइजनले भने दोस्रो सेमिफाइनलमा ज्यामिरेगढीलाई ३–० ले हराएर फाइनल पुगेका थिए ।
नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौंको संयुक्त आयोजनामामा भएको प्रतियोगितामा मेचीनगर र धाइजनसँगै शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी र ज्यामिरगढीले सहभागिता जनाएका थिए ।
उपाधिसँगै विजेता मेचीनगरले २१ हजार र उपविजेता धाइजनले ११ हजार रुपैयाँमा प्राप्त गर्यो । मेचीनगरले व्यक्तिगत पुरस्कारमा पनि कब्जा जमायो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर मेचीनगरका जयश खनाल घोषित भए भने प्लेयर अफ द टुर्नामेन्ट मेचीनगरकै रोहन बूढाथोकी र सर्वाधिक गोलकर्ता अंकित दुलाल रहे । मेचीनगरका अंकितले सर्वाधिक ८ गोल गरेका थिए ।
नेपाली कांग्रेसका महमन्त्री विश्वप्रकाश शर्माले प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छानेर झापा १ को उत्कृष्ट एक टिम निर्माण गरिने बताए । त्यस टिमले नेपालभर हुने प्रतियोगितामा झापा १ को प्रतिनिधित्व गर्ने शर्माले जानकारी दिए ।
खेलाडी छनोटको निर्णायक समितिमा नेपालका पूर्व कप्तान तथा महिला टोलीका पूर्वप्रशिक्षक हरि खड्का र अमनप्रताप अधिकारीलगायत थिए ।
विश्वप्रकाशको दुई गोल
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुई गोल गरेको मैत्रीपूर्ण खेलमा राजनीति दलले कलाकारको टोलीलाई ६–१ ले पराजित गरेको हो । शर्माले पहिलो हाफमै दुई गोल गरेका थिए । यस्तै, भास्कर काफ्ले पनि पहिलो हाफमा दुई गोल गरे । दोस्रो हाफमा राजनीतिक दलका बालकुमार केसी र रञ्जित तामाङले एक–एक गोल थपे । कलाकारबाट बालकृष्ण निरौलाले सान्त्वना गोल गरे ।
राजनीतिक दलबाट शर्मा, काफ्ले, केसी र तामाङसँगै एलपी सावाँ, सेरोम कार्की र किशोर मगर मैदान उत्रिएका थिए । यस्तै, कलकारबाट प्रमोद प्रसाईँ, भानुभक्त ढकाल, मनोज गजुरेल, टिका भण्डारी, सरोज वली, प्रशान्त सिवाकोटी, योगेन्द्र उपाध्याय, अशोक शर्मा, समीर खरेल र अमीर शेखले राजनीतिक दललाई चुनौती दिएका थिए ।
अन्य मैत्रीपूर्ण खेलमा युनिशा प्रसाईँको निर्णायक गोलमा महिला ‘ख’ ले महिला ‘क’ लाई १–० ले पराजित गर्यो भने पेसा व्यवसायीले कर्मचारीलाई ६–२ ले हरायो ।
प्रतियोगिताको उद्घाटन गर्दै सभामुख देवराज घिमिरेले यस किसिमका प्रतियोगिताले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने र राजनीतिक दलबाट यस्ता गतिविधी हुनु सराहनीय भएको उल्लेख गरे ।
यसैगरी कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलाले राजनीति दलहरूले यस्तो प्रतियोगिता गर्नु सिर्जनात्मक भएको बताए ।
कंग्रेस महामन्त्री शर्माले प्रतियोगिताको विजेता र उपविजेता टोली र उत्कृष्ट खेलाडीहरुका साथै प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । उद्घाटन समारोहमा झापा जिल्लाका कांग्रेस, एमाले, राप्रपा, माओवादीसहित राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।