लगातार ६ खेल जित्दै गण्डकी उपाधि नजिक

२४ जेठ, काठमाडौं । गण्डकी प्रदेश पीएम कप एनभीए लिग भलिबलमा लगातार छैटौं जित हात पार्दै फाइनल नजिक पुगेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी लिगमा गण्डकीले बिहीबार उपाधि दाबेदार मध्ये एक त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटमा पराजित गर्यो ।
गण्डकीले आर्मीलाई २५-१७, २४-२६, २५-२०, २५-१७ ले पराजित गरेको हो । यो हारसँगै उपाधि होडबाट बाहिरिएको छ ।
पुरुषतर्फ ८ टोली सहभागी लिगमा सबैले ६ खेल खेलिसक्दा गण्डकी १७ अंक जोडेर शीर्ष स्थानमा छ र फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । हेल्प नेपाल १६ अंक सहित दोस्रो स्थानमा छ भने बिहीबार हेल्प नेपालसँग पराजित भएको नेपाल पुलिस १४ अंकसहित तेस्रो स्थानमा छ ।
अब शुक्रबार हुने लिग चरणको अन्तिम खेलपछि फाइनल पुग्ने दुवै टोलीको टुङ्गो लाग्नेछ ।
शुक्रबार गण्डकीले नेपाल पुलिससँग खेल्नेछ भने हेल्प नेपालले त्रिभुवन आर्मीसँग खेल्नेछ ।
गण्डकी र हेल्प नेपाल विजयी भएका दुवै टोली फाइनल पुग्नेछ । गण्डकी पुलिससँग पाँच सेटमा पराजित भएमा पनि फाइनल पुग्नेछ ।
पुलिसका लागि भने फाइनल पुग्न गण्डकीलाई हराउनुपर्नेछ भने हेल्प नेपाल आर्मीसँग पराजित हुनुपर्नेछ ।
महिलातर्फ एभरेष्ट र पुलिस फाइनलमा
यस्तै महिलातर्फ एनभीए भलिबल च्याम्पियनसिपको उपाधि जितेको एभरेष्ट भलिबल क्लब र पुलिस क्लब उपाधिका लागि भिड्ने भएका छन् ।
६ टोली सहभागि महिलातर्फ पुलिस र एभरेष्टले समान ४ खेल जित्दै अन्तिम लिग खेल अघि नै फाइनल भेट पक्का गरे ।
पुलिस र एभरेष्टले ४ खेलबा६ समान ११ अंक जोडेका छन् । शुक्रबार दुई टोली लिगको अन्तिम खेलमा भिड्नेछन् ।
उक्त खेल दुवै टोलीका लागि फाइनल अघि रिहर्सल गर्ने अवसरको रुपमा हुनेछ ।
महिलातर्फ फाइनल होडबाट बाहिरिसकेका एपीएफ र त्रिभुवन आर्मीबीच पनि शुक्रबार लिगको अन्तिम खेल हुनेछ ।
फाइनल खेल शनिबार
लिगमा महिला र पुरुषतर्फ दुवैको फाइनल खेल शनिबार हुनेछ । लिगको शीर्ष दुई स्थानमा रहने टोली बीच फाइनल खेल हुनेछ ।
महिला तर्फको फाइनल शनिबार १ बजे हुनेछ भने पुरुष तर्फको फाइनल ३ बजे हुनेछ ।
तेस्रो स्थानको लागि पनि शनिबारै खेल हुनेछ ।
विजेता टिमले विजेताले ८ लाख रूपैयाँ पाउने छ भने दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवैतर्फको उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।