टिफिन बट्टा : जहाँ ग्राहक, त्यहीं खाना

‘जापान जाने हो ?’
मज्जाले नेपाली बोल्ने जापानीले सोधे । सुरुमा त कमलबहादुर तामाङले पत्याएनन् । त्यसबेला उनी एयरपोर्टमा काम गर्थे ।
खासमा त उनलाई लाहुरे बन्न मन थियो । ‘गोर्खा ह्याट’ पहिरिने सपना थियो । तर रहरहरु रहरमै थाँती रह्यो ।
लाहुरे बन्ने अतृप्त चाह बोकेकै बेला ‘जापान जाने’ अफरले उनको पाइला मोडिदियो । एक महिनाभित्रै पासपोर्ट बनाएर जापान उडे । तर त्यहाँ चिनजानका कोही थिएनन् । यद्यपि काम पाउन त्यति कठिन थिएन ऊबेला । एक व्यक्तिले उनलाई टोकियोस्थित जापानी रेस्टुरेन्टमा काम लगाइदिए । काम थियो, भाँडावर्तन माझ्ने ।
तीन वर्ष उनले भाँडा माझे । त्यसपछि भान्साको काम गर्न थाले । जापानी परिकारहरु बनाउन सिके । यो क्रम १३ वर्षसम्म जारी रह्यो ।
जापानीहरु के खान्छन् ? कसरी खान्छन् ? सुरुमा त थाहापत्तो थिएन । ‘तर आफैंले भान्साको काम गर्न थालेपछि जापानी खानाबारे राम्ररी जान्ने मौका पाएँ,’ तामाङ सुनाउँछन्, ‘उनीहरु लामो आयु बाँच्नुमा, सधैं तगडा हुनुमा खानाको खास भूमिका रहेछ । उनीहरुले जुन खाना खान्थे त्यो पोषिलो र स्वस्थकर हुन्थ्यो ।’
उनलाई काइदा लाग्यो, जापानी भान्सामा पाक्ने खानेकुरा । अनि काइदा लाग्यो, खाने तरिका पनि । उनीहरु दिनमा तीन-चार पटक खान्थे, थोरै–थोरै । खानामा धेरै चिल्लो नहुने, पिरो नहुने, मरमसला नहुने । सादा अनि सुपाच्य ।
जापानको बसाइ उनका लागि काम गर्ने मेलो मात्र भएन, बरु खानपानबारे सिक्ने पाठशाला भइदियो ।
उनी नेपाल फर्किए । नेपालमा के गर्ने ? उनी दोधारमा थिएनन् । जापान रहँदै मनमा एउटा योजना बनिसकेको थियो रेस्टुरेन्ट खोल्ने ।
तर जापान उड्नुअघि र जापानबाट फर्किएपछिको समयमा धेरै उथलपुथल आइसकेको थियो । देशको हालत देखेर रेस्टुरेन्टमा लगानी गर्ने हिम्मत हरायो । त्यसबेला कोरोना महाव्याधिले सर्वत्र सन्त्रास फैलाएको थियो । मान्छेहरु घरभित्र थुनिएका थिए ।
कुनैपनि प्रतिकूलताले केही न केही नयाँ पाठ सिकाउँछ । उक्त असहज स्थितिले उनलाई नयाँ जुक्ति सिकाइदियो । अन्ततः फरक शैलीले आफ्नो व्यवसाय अगाडि बढाउने निधो गरे ।
थरीथरी खाना बनाउँदै, सित्तैंमा चखाउँदै
रेस्टुरेन्ट खोल्नु त्यति सहज थिएन, लगानी र सुरक्षाको हिसाबले । उनले सोचे, ‘यस्तो बेला घरघरमा, अफिसअफिसमा खाना-नास्ता पुर्याइदिए काइदा होला ।’ न ग्राहकलाई होटल-रेस्टुरेन्ट धाउनुपर्ने बाध्यता, न व्यवसायीलाई आर्थिक व्ययभार बोक्नुपर्ने जोखिम ।
पेप्सीकोलामा चिनेजानेको एक क्याटरिन थियो । केही दिनका लागि त्यहाँको भान्सा प्रयोग गरेर नयाँ–नयाँ परिकार तयार गरे । खासगरी जापानी परिकार । किनभने उनी जापानी पाककलामै बढी निपूर्ण थिए । यसरी आफ्नै हातले तयार गरेको परिकार सित्तैंमा चखाउन थाले । ग्राहकहरुको प्रतिक्रिया कस्तो आउँछ भन्ने कुरा उनलाई जान्नु थियो ।
मैदा–चिनीको प्रयोग नगरी, धेरै चिल्लोचाप्लो–मरमसला नहाली पकाएको परिकार बोकेर उनी अस्पताल पुगे, कार्यालय पुगे । कर्मचारीलाई चखाए, चिकित्सकलाई चखाए, पाइलटलाई चखाए ।
त्यससँगै उनले सामाजिक सञ्जाललाई पनि भरपुर प्रयोग गरे । परिकारको फोटो खिचाए, फेसबुक–इन्टाग्राममा राखेर बुस्ट गराए । एक महिनाको अवधिमा १५ जना ग्राहक बने । यो क्रम थपिंदै गयो । ग्राहकको प्रतिक्रिया र रुचिअनुसार उनले आफ्नो मेनुमा थपघट गरिरहे ।
तीन लाख लगानी, आफ्नै भान्साको परिकार
आफूले तयार गरेको खानेकुरामा ग्राहकको रुचि बढ्दै गएपछि उनमा आत्मविश्वास जाग्यो । ‘अब केही गर्न सकिन्छ,’ उनलाई लाग्यो, ‘व्यवस्थित ढंगले अगाडि बढे हुन्छ ।’
घरकै भान्सालाई व्यवस्थित बनाए । आवश्यक सरसामन जोरजाम गरे । दुई जना सहयोगी राखे । जम्माजम्मी खर्च भयो तीन लाख रुपैयाँ ।
६ दिनका लागि छुट्टाछुट्टै मेनु तयार गरे । सोही अनुरुप खानेकुरा बनाएर लन्च बक्समा राखे । अनि जतनसाथ झोलामा राखेर ग्राहकले भनेको ठाउँठाउँ पुर्याइदिए । खासगरी चिकित्सक, पाइलट जस्ता पेशाकर्मीलाई लक्षित गरेर उनले आफ्नो सेवा विस्तार गर्दै गए ।
ग्राहकको संख्या बढ्यो, माग बढ्यो । घरको भान्साले थेग्न सकेन । उनले मध्यबानेश्वरको दुईवटा फ्ल्याट भाडामा लिए । तल्लो फ्ल्याटलाई भान्सा बनाए सुविधायुक्त । माथिल्लो फ्ल्याटलाई कार्यालय । यहाँबाट काठमाडौंभित्रका कुनैपनि ठाउँमा छिटो–छरितो खानेकुरा पुर्याउन सहज भयो ।
भान्सामा बिहान, दिउँसो र मध्यान्ह तीन चरणमा थरीथरी परिकार पाक्न थालेको थियो । यतिबेलासम्म भान्से, सहयोगी, डेलिभरी ब्वाईसहित १७ जना कर्मचारी भइसकेका थिए । दैनिक २०० हाराहारी नियमित ग्राहक थपिइसकेका थिए ।
स्वस्थ्य, पोषण र स्वादको थाली
कमलबहादुर भन्छन्, ‘हामीले स्वादसँगै यसको पोषण र स्वास्थ्यलाई बढी ध्यान दिएका छौं ।’ जापानी खानेकुरा यसैपनि स्वस्थकर हुने उनको भनाइ छ । मैदाजन्य, चिनीजन्य परिकार उनको मेनुमा समावेश छैन । धेरै चिल्लोचाप्लो र मसालेदार पनि हुँदैन ।
उनका अनुसार छुट्टै पोषणविद् राखेर यी खानाहरुको गुणवत्ता जाँच गरिन्छ । हरेक दिन फरक–फरक परिकार बन्ने भएकाले यसमा बासी खानेकुरा मिसाइदैन । टिफिन बट्टाले खासगरी बिहानको वा दिवा खाना पस्कने गर्छ ।
यसको नियमित ग्राहक बन्नेले आफ्नो रोजाइअनुसार खानेकुरा अर्डर गर्न पाउँदैनन् । किनभने ६ दिनको अलग–अलग मेनु पहिले नै निर्धारण गरिएको हुन्छ । सोही अनुसार टिफिन बट्टाले पस्कने खानेकुरा खानुपर्ने हुन्छ । ‘हरेक दिन फरक स्वाद पस्किन्छौं,’ कमलबहादुर भन्छन्, ‘यसले गर्दा ग्राहकलाई कहिल्यै दिक्क लाग्दैन ।’
टिफिन बट्टाको खाना तीन सय रुपैयाँबाट सुरु हुन्छ । खानाको मात्रा र परिकार हेरेर यसको मूल्य ३५०, ३६०, ४३५ र ४७० रुपैयाँ छ ।
फोटो, भिडियो : शंकर गिरी/अनलाइनखबर
– यस समाचारको श्रोत : Online Khabar हो ।