Main

‘ट्रेल रेस’बाट विश्‍वमा नाम चम्काएकी सुनमाया

५ मंसिर, काठमाडौं । अल्ट्रा ट्रेल रेसमा अन्तर्राष्ट्रिय स्तरमा सफलता पाइरहेका नेपाली धावकमध्ये एक हुन् सुनमाया बुढा । दुई महिनामा उनले चीनमा भएका दुई रेसमा भाग लिइन्, दुवैमा उपाधि जितेकी उनले एउटामा कोर्स रेकर्ड राखिन् ।

सुनमायाले कात्तिकमा भएको एसियाकै प्रतिष्ठित र ठूलो साइगु ट्रेल रेसको १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपाधि जितिन् ।

कात्तिककै पहिलो साता उनले अल्ट्रा ट्रेल निन्घाई बाई युटीएमबी रेस कीर्तिमानी समयसहित जितेकी थिइन् ।

साइगुमा पानी परेकाले आयोजकले दूरी घटाउँदा आफ्नो कोर्स रेकर्डको मान्यता नपाएको सुनमायाले बताइन् ।

निरन्तर प्रशिक्षण गरिरहेकाले उकालो ओरालो उनका लागि खासै नौलो होइन । ‘उकालो ओरालो थियो, ट्रेलहरुमा ट्रेनिङ गरिरहेको हुनाले रेस राम्रो भयो’, उनले भनिन् ।

तर साइगु रेसको अघि निरन्तर पानी परेकाले रेस हुने वा नहुने टुङ्गो थिएन । ‘नभए के गर्ने भन्ने लागेको थियो । तर अर्को दिनमा बेलुका रेस हुने निर्णय भयो अनि ढुक्क भयो’, सुनमायाले भनिन् ।

निन्घाईमा पनि उनले रेकर्ड राख्छु भन्ने सोचेकी थिइन् । ‘माउन्टेनहरु सानो-सानो थियो मेरो लागि । त्यसैले रेकर्ड राख्न सजिलो भयो’, सुनमायाले भनिन् ।

उनले गत वर्ष चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि पनि जितेकी थिइन् । पछिल्लो समय सुनमायाले चीनका रेसमा राम्रो प्रदर्शन गर्दै आएकी छन् । ‘अरु ठाउँ भन्दा अलि फरक छ चीनमा । अग्लो माउन्टेन थिएन, फ्ल्याट पनि थिएन, ५०-५० थियो । ट्रेनिङ भयो भने जता पनि राम्रो हुन्छ’, सुनमायाले चीनको रेसबारे भनिन् ।

यसअघि युरोपमा जाँदा उनको ट्रेनिङ राम्रो नभएकाले एउटा रेस बीचमै छाडेकी थिइन् । ‘युरोपमा विश्वकै उत्कृष्ट धावकहरु हुन्छन् । चीनमा एलिट धावकहरु नभएकाले अली सहज भएको थियो तर कम्पिटिसन चाहीँ थियो’, सुनमायाले भनिन् ।

नेपालमा भन्दा विदेशमा बढी चर्चा

अन्य खेल जितेर आउने खेलाडीले नेपालमा धेरै चर्चा र सम्मान पाउँछन् । तर अल्ट्रा ट्रेल रेसको बारेमा नेपालमा अझै पनि धेरैलाई जानकारी छैन ।

सुनमायाको प्रायोजक कैलाश फुगा पनि चीनकै कम्पनी हो । त्यसैले उनले रेस जित्दा चीनलगायत विश्वमै चर्चा भएको थियो । ‘नेपालमा भन्दा हङकङतिर, युरोपपिर धेरैले चिन्नुहुन्छ’ सुनमायाले भनिन्, ‘किनभने नेपालमा अल्ट्रा ट्रेल रनिङ के हो भनेर अझै थाहा छैन ।’

सुनमायाले चीन र हङकङमा गरी ६-७ वटा रेसमा भाग लिइसकिन् । यस्तै युरोपमा पनि धेरै पटक सहभागी भइसकिन् । धेरै उपाधि पनि जितिसकिन् ।

‘समय लाग्छ होला हामीलाई चिन्नको लागि । फुटबल क्रिकेट धेरै भइरहन्छ नेपालमा’, उनी भन्छिन्, ‘हाम्रो ट्रेल रेस वर्षको ३-४ वटा हुन्छ त्यसमा पनि मान्छेहरु धेरै जाँदैनन् । बाहिरतिर ठूला इभेन्टमा एकदमै धेरै कम्पिटिसन हुन्छ । एकै इभेन्टमा ५/१० हजार धावक हुन्छ । हाम्रो १०० र ५० किमीमा १५/१६ सय जना हुन्छन् ।’

सामान्यतथा ४२ किमी लामो दौडलाई म्याराथन भनिन्छ । यो सम्म सडकमा दौडिइन्छ । तर त्यो भन्दा पनि लामो दूरी हिमाल-पहाडमा दौडने रेसहरु अल्ट्रा ट्रेल रेसमा पर्छन् ।

‘अल्ट्रा ट्रेल रेस भनेको उकालो ओरालो गर्ने, माउन्टेन रनिङ गर्ने, ब्यागमा पानी बोक्ने, खानेकुरा बोक्ने र अनि रनिङ गर्ने हो’ उनले भनिन्, ‘५० किलोमिटरको रेस छ भने १०-१० किमीमा खानेकुरा राखिएको हुन्छ । त्यही खाने र फेरि दौडने गरिन्छ ।

प्रायोजक पाएपछि ढुक्क

सुनमायाले सुरुमा दौड सुरु गर्दा उनको कुनै प्रायोजक थिएन । अहिले उनलाई चिनियाँ कम्पनी कैलाश फुगाले प्रायोजन गरिरहेको छ । त्यसैले अहिले उनी निर्धक्क भएर रेसहरुमा सहभागी हुन पाएकी छन् ।

‘स्पोन्सर नभएका भाइ बहिनीलाई बाहिर गएर खेल्न गाह्रो हुन्छ । मसँग त स्पोन्सर छ मैले जतिखेर पनि कम्पिटिसन गर्न पाएँ ढुक्क भएँ, ट्रेनिङमा मात्र केन्द्रित भए पुग्छ’, सुनमायाले भनिन् ।

सुनमायाको व्यवस्थापन एसिया प्यासिफिक एड्भेन्चरले हेर्दै आएको छ । ‘म्यानेजर हुँदा सेड्युलहरु राम्रो बनाउनुहुन्छ । यो वर्ष कति वटा रेस गर्ने, कुन-कुन ठाउँमा जाने भनेर सबै उहाँहरुले म्यानेज गर्नुहुन्छ । मैले ट्रेनिङ मात्र गर्ने हो’, सुनमायाले भनिन् ।

केही रेस जितेपछि पुरस्कारवापत सुनमायाले राम्रो रकम पनि पाएकी छन् । तर धेरैजसो रेसमा पुरस्कार रकम भने हुँदैन । उनले यो वर्ष ११ रेसमा भाग लिएपनि केहीमा मात्र पुरस्कार थियो । ‘यसपालि चीनमा जितेको रेसमा ५ लाख पाएँ, अरुमा थिएन’, सुनमायाले भनिन् ।

उनले अहिलेसम्म पाएको ठूलो पुरस्कार भनेको फ्रान्समा भएको युटिएमबी रेसमा दोस्रो भएर हो । ‘पहिलो पटक युरोपमा दोस्रो हुँदा मैले ५ हजार युरो पाएको थिएँ । युरोपमा अलि राम्रो पुरस्कार हुन्छ’ उनले भनिन् ।

सुनमायाको ट्रेल रेस यात्रा

जुम्लाको पातरासी गाउँपालिका-२ पेरेगाउँकी सुनमाया कुनै समय घरबाट विवाह गर्नुपर्ने दबाब आएपछि भागेर दौडमा लागेकी थिइन् ।

सुरुमा स्कुलमा हुने विभिन्न दौड प्रतियोगितामा भाग लिएकी सुनमायाले सन् २०१५ मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दौडमा दोस्रो भएपछि यसलाई निरन्तरता दिइन् ।

सन् २०१६ मा भएको मनास्लु माउन्टेन ट्रेल रेसमा दोस्रो भएपछि उनको अन्तर्राष्ट्रिय दौड यात्रा पनि सुरु भयो । त्यसपछि भने सुनमायाले विश्वका विभिन्न देशमा दौडिसकेकी छन् भने धेरै पदक समेत जितेकी छन् ।

हङकङ, स्वीट्जरल्याण्ड, चीन, फ्रान्स, इटली, अस्ट्रेलिया, स्पेन लगायत देशमा गएर दौड प्रतियोगितामा सुनमायाले भाग लिइसकेकी छन् ।

सन् २०२१ मा थाइल्याण्डमा भएको ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ ११० किलोमिटर दूरी १४ घन्टा ५४ मिनेट १ सेकेण्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् ।

त्यसपछि उनले फ्रान्समा भएको युटिएमबी सीसीसीमा दोस्रो भएर थप चर्चा पाइन् । त्यसयता सुनमायाले एसिया र युरोपमा विभिन्न रेसहरुमा भाग लिइसकेकी छन् ।

सुरुमा उनलाई यो रेसको बारेमा धेरै थाहा थिएन । तर दौडन थालेपछि जित्न पनि थालिन् अनि चर्चा पनि बढ्दै गयो । अनि उनले देशको नाम चर्चित बनाइन् ।

‘२०२१ अगाडि म प्रोफेसनल धावक थिइनँ । खेलको बारेमा त्यति थाहा थिएन । सपोर्ट पनि थोरै मात्र थियो । जाने गेम खेल्ने आउने सकियो’ सुनमायाले भनिन्, ‘अहिले २०२१ पछि प्रोफेसनल तरिकाले खेलिरहेको छु ।’

उनका धेरै साथीले बिहे गरिसके । आफूले कम उमेरमा विवाह नगरेर धेरै राम्रो गरेको सुनमायालाई लाग्छ । ‘रनिङमा नलगेको भए बिहे गरेर, बच्चा जन्माएर गाउँमै जीवन बिताउँथे होला । अहिले रनिङमा लागेर धेरै ठाउँमा गेम खेल्न जान पाइरहेको छु, जे होस् अहिले खुशी लाग्छ’ सुनमाया भन्छिन् ।

सुनमायाको गाउँमा छोरा र छोरीलाई हेर्ने दृष्टिकोण फरक छ । छोरालाई बढी महत्व दिइन्छ । तर आफूले ट्रेल रेसमा भाग लिन थालेपछि आमालाई छोरी जन्माएकामा नराम्रो महसुस नभएको सुनमाया बताउँछिन् । ‘घरमा आमाहरुलाई छोरी राम्रो जन्माएछु, राम्रो गरिरहेकी छे भन्ने लागेको छ । बहिनीहरु पनि रेसमा छन्’ उनले भनिन् ।

अबको लक्ष्य वर्ल्ड च्याम्पियनसिप

सुनमायाको अबको लक्ष्य भनेको वर्ल्ड च्याम्पियनसिप हो । वर्ल्ड च्याम्पियनसिप २०२५ सेप्टेम्बरमा स्पेनमा हुँदैछ । त्यसमा नेपालबाट ६ जना धावक सहभागी हुने सम्भावना छ । ‘सरकारले सहयोग गर्‍यो भने सहभागी हुन्छौँ’, उनले भनिन्, ‘सहयोग बिना भाग लिन कठिन हुन्छ । मसँग त प्रायोजक छ । त्यसैबाट पनि सहभागी हुन सक्छ । तर अरु प्रायोजक नहुने धावकका लागि सरकारले सहयोग गर्नुपर्छ ।’

सुनमायाले वर्ल्ड च्याम्पियनसिप जित्ने लक्ष्य राखेकी छन् ।

अल्ट्रा ट्रेल रेसमा नेपाली धावकहरुले हासिल गरेको उपलब्धी हेरेर सरकारले सहयोग गर्नुपर्ने उनले बताइन् । ‘सरकारले खेलाडीलाई साथ सपोर्ट हौसला दिनुपर्छ । आवश्यक परेको बेला हामी छौँ भनेर सहयोग गर्नुपर्छ’, उनी भन्छिन् ।

नयाँ आउने अल्ट्रा धावकलाई सुरुमै प्रायोजक नपाउँदा नआत्तिकन र निरन्तर मिहिनेत गर्न ल्लाह दिइन् । ‘मैले पनि ६ वर्षपछि पाएको हो । एक दिन अवश्य अवसर मिल्नेछ’, सुनमायाले भनिन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button