Main

विनोद चौधरीतिर सोझियो सीआईबीको अनुसन्धान

७ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको जानकारी सभामुखलाई दिएको छ ।

सीआईबीले सभामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको कामपा–३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ ।’

यससँगै सांसद चौधरीलाई बयानका लागि बोलाउने वा पक्राउ गर्ने बाटो खुलेको छ । सीआईबी प्रमुख तथा एआईजी श्यामलाल ज्ञवाली पनि अनुसन्धान भइरहेको विषयमा सभामुखलाई जानकारी गराउनुले सांसद चौधरीलाई प्रहरीले जतिबेला पनि बयानका लागि बोलाउनसक्ने बुझ्नुपर्ने बताउँछन् ।

‘संसदलाई जानकारी गराइसकेपछि अब जनुसुकै बेला हामीले बोलाउने र बयान गराउन सक्छौं’, एआईजी ज्ञवालीले अनलाइनखबरसँग भने, ‘सांसदले पनि संसद बैठक छ भनेर टार्न मिलेन, त्यही प्रयोजनका लागि पत्र पठाएका हौं ।’

सीआईबीले बाँसबारी छालाजुत्ता प्रकरणको अनुसन्धानका लागि १८ माघमा सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । बुधबार मात्र वसन्त चौधरीसँग वयान कागज गराएको छ ।

कसरी जोडिए विनोद चौधरी ?

बाँसबारी छाला जुत्ता कारखाना निरन्तर घाटामा भएको भन्दै तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले चौधरी घरानाका लुनकरणदास चौधरीसँग एउटा प्रवद्र्धन सम्झौता गरे, जसमा क्यानभास स्पोट्स जुत्ता उत्पादन गर्ने उल्लेख गरिएको थियो ।

सम्झौतामा ५१ प्रतिशत शेयर करणदास चौधरी र परिवारको नाममा, २५ प्रतिशत बाँसबारी र २४ प्रतिशत सर्वसाधारणको शेयर रहने भनिएको थियो ।

सम्झौताअनुसार २७ कात्तिक २०४३ मा च्याम्पियन फुटवयेर कम्पनी दर्ता भएको थियो भने ५ भदौ २०४४ मा बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा हस्तान्तरण भयो । थप ४ रोपनी जग्गा पनि च्याम्पियन फुटवेयरको नाममा गयो । त्यो बेला कम्पनीको शेयर सदस्यमध्ये एक थिए, विनोद चौधरी ।

च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २१०० कित्ता शेयर थियो भने विनोद चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००/२०० कित्ता शेयर थियो । गंगा चौधरीको नाममा १०० कित्ता शेयर थियो । बाँसबारी छाला तथा जुत्ताको नाममा २ हजार कित्ता शेयर थियो ।

सम्झौता अनुसार सर्वसाधारणका लागि शेयर जारी नै भएन भने तीन/चार वर्ष जुत्ता उत्पादन गरेको च्याम्पियन फुटवेयर बन्द भयो । प्रजातन्त्र पुनर्स्थापनासँगै बाँसबारी छालाजुत्ता कारखाना निजीकरण गरेपछि च्याम्पियन फुटवेयरमा रहेको २ हजार कित्ता शेयर चौधरी समूहले आफ्नो बनायो ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै सीआईबीले यसबारे अनुसन्धान थाल्यो । त्यसक्रममा १८ माघमा अरुण चौधरीसहित ३ जना पक्राउ परे । उनीहरु धरौटीमा छुटे, तर सीआईबीले अनुसन्धान चलिरहेको छ । त्यसक्रममा बुधबार मात्र वसन्त चौधरीलाई बोलाएर कागज गराइएको छ भने विनोद चौधरीबारे अनुसन्धान भइरहेको जानकारी सभामुखलाई दिइएको छ ।

विनोद चौधरीमाथि समेत अनुसन्धान गर्नुपर्ने देखिएकाले सभामुखलाई पत्र पठाइएको सीआईबी स्रोतले बताएको छ ।

अहिले जग्गाको स्वामित्व विनोद चौधरीको नाममा नभएपनि सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको देखिएकाले अनुसन्धान गर्न लागिएको सीआईबी स्रोत बताउँछ ।

‘सुरुमा विनोद चौधरीको नाममा समेत २०० कित्ता शेयर हुनु र सबै जग्गा व्यक्तिको नाममा ल्याउन भूमिकामा समेत उनी देखिएकाले अनुसन्धान गर्न लागिएको हो’ सीआईबीका एक अधिकारीले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button