विश्वकप र एसियन कप छनोट: बहराइनसँग एक्सपोजर मात्र

७ चैत, मानमा (बहराइन) । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।
अन्तर्राष्ट्रिय फुटबलमा नेपालले पहिलो पटक बहराइनसँग खेल्न लागेको हो । समूह एच अन्तर्गतको यस खेल बहराइनको स्थानीय समयअनुसार राति १० बजे (नेपाली समय राति १२:४५ बजे) बहराइनको राष्ट्रिय रंगशालामा सुरु हुनेछ ।
होम एण्ड अवेका आधारमा हुने छनोट अन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर दशरथ रंगशालाको अवस्था छनोटको खेल खेलाउने स्तरको नभएकाले नेपालले होम म्याच पनि बहराइनमै खेल्न लागेको हो । यस्तै नेपालले बहराइनसँगको अवे म्याच बहराइनमै खेल्नेछ ।
नेपालले बहराइनसँग खेल्नुअघि मलेसियासँग उसैको मैदानमा अभ्यास खेल खेलेर आएको थियो । प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली टोली बहराइनसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘तयारी छोटो समयको भयो । तर गुड इनर्जीसहित प्रशिक्षण भइरहेको छ’, एनेसले अनलाइनखबरसँग भने ।
बहराइनसँग खेल्न नेपाललाई सहज नहुने भन्दै प्रशिक्षक एनेसले नेपालले सरप्राइज दिने प्रयास गर्ने बताए । ‘हामी उनीहरुलाई सरप्राइज दिनेछौँ । म मेरो खेलाडीमा कन्फिडेन्ट छु । हाम्रो टिम योङ छ । हामीले हार्नुपर्ने केही छैन’, उनले भने ।
बहराइनसँग पहिलो खेल
नेपालले बहराइनको सिनियर टिमसँग खेल्न लागेको पहिलो पटक भए पनि उमेर समूहको टिमसँग भने खेलिसकेको छ ।
सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको फाइनलमा नेपालले बहराइनको यू-२१ टिमलाई ३-० ले पराजित गर्दै उपाधि जितेको थियो ।
सन् २०२३ मा बहराइनमै भएको एएफसी यू-२० च्याम्पियनसिप छनोटमा नेपाल बहराइनसँग ६-० ले पराजित भएको थियो ।
उक्त खेलमा नेपालको यू-२० टिमबाट पहिलो रोजाइँमा खेलेका अजय चौधरी र सुमित श्रेष्ठ अहिले सिनियर टिममा छन् । अजय पहिलो पटक सिनियर टिममा आएका हुन् भने सुमितले यसअघि नै डेब्यू गरिसकेका छन् । उक्त खेलमा नेपालको कप्तानी गरेका आयुष घलान भने यसपटक टिममा छैनन् ।
यस पटक नेपालले बहराइनसँग उसैको मैदानमा दुई खेल खेल्दा आफ्नो लक्ष्य खेलाडीलाई अनुभव प्रदान गर्ने र निडर भएर खेल्ने एनेसले बताए ।
‘मेरो लक्ष्य यो खेलाडीहरुलाई अनुभव दिने र विपक्षीसँग निडर भएर फेस गर्ने । घरेलु मैदानमा खेले जस्तै गरी खेल्नुपर्छ । म टिम कस्तो छ भनेर मतलब गर्दिन’, एनेसले भने ।
क्वालिफायरकै युवा टिम नेपाल
पछिल्लो समय धेरै नेपाली फुटबल खेलाडी विदेश गएको र भएका केही खेलाडीले पनि राष्ट्रिय टिमको प्रशिक्षणमा आउन अस्वीकार गरेपछि अहिले नेपाली टिममा युवा र नयाँ खेलाडीहरुको वर्चस्व छ । पहिलो पटक टिममा परेका ६ जना छन् भने डेब्यू गर्न बाँकी खेलाडी ९ जना छन् ।
५० भन्दा बढी खेल खेल्लेनमा कप्तान किरण कुमार लिम्बु, अनन्त तामाङ, अन्जन विष्ट र भरत खवास गरी जम्मा ४ जना छन् ।
बुबाको निधन भएकाले अनुभवी खेलाडी रोहित चन्द टिममा छैनन् । त्यसैले यस पटक नयाँ खेलाडीहरु डेब्यूको प्रतीक्षामा छन् । बहराइनमा हुने दुई खेलमा प्रशिक्षक एनेसले कति खेलाडीलाई डेब्यू गराउँछन् हेर्न बाँकी छ । तर उनले नयाँ खेलाडीलाई अवसर दिने बताइरहेका छन् ।
‘नयाँ खेलाडीहरु छन् र उनीहरुलाई अन्तर्राष्ट्रिय एक्सपिरियन्स दिनुपर्छ । हामी गुड प्रोसेसमा छौँ’, उनले भने, ‘९ खेलाडी डेब्यु गर्न बाँकी छ । हरेक खेलाडी डेब्यूको प्रतीक्षामा छन् ।’
नेपाली टिमलाई रोहितको अनुपस्थिति खट्किने एनेसले बताए । ‘हामीले रोहितलाई मिस गर्छौँ भनेर चिन्ता लिनु हुन्न । अरुको लागि अवसर हुन्छ । निश्चय उनको अनुपस्थित खड्किन्छ । हामी शतप्रतिशत मिस गर्छौँ तर अरु खेलाडीले अवसरका रुपमा लिनुपर्छ’, उनले भने ।
धेरै खेलाडी विदेश गएकाले आफूलाई टिम बनाउन कठिन भएको पनि प्रशिक्षक एनेसले बताए । ‘ग्लोबलाइजेसनले गर्दा खेलाडी इन्जिनियर, डाक्टर, पत्रकारले पनि देश छाड्दैछन् । यसमा धेरै सोच्नुहुन्न’, उनले भने ।
नेपालको टिम स्पिरिट राम्रो छ
अनुभवी धेरै खेलाडी विदेश गए पनि नेपाली टोली कमजोर नभएको प्रशिक्षक एनेसले बताए । ‘नेपालसँग फाइटिङ स्पिरिट छ । यति धेरै खेलाडी गुमाउँदा पनि नेपालले अन्तिमसम्म फाइट गरेर खेल्छ । अन्तर्राष्ट्रिय स्तरमा अरु टिमसँग यस्तो छैन’, उनले भने ।
नेपालले घरेलु मैदानमै खेल्नुपर्ने खेल बाहिर खेल्नुपर्दा समर्थकले प्रत्यक्ष खेल हेर्नबाट बन्चित हुनेछन् । बहराइन आउनुअघि मलेसियासँग खेल्न जाने बिदाई कार्यक्रममै प्रशिक्षक एनेसले घरेलु मैदानमा खेल्न नपाउनु दु:खद भएको भन्दै भावुक बनेका थिए ।
‘म सपोर्टर र क्राउड मिस गर्छु । हामीले अन्तिममा फुटबल खेल्ने फ्यानकै लागि हो र उनीहरुले नेपाली टिमलाई माया गर्छन्’, उनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।