Main

डरको ग्ल्यामर कि अन्धविश्वासको चिरफार ?

जर्मनीमा बस्ने एक १६ बर्षिय किशोरीको हर्कत र हुलिया डरलाग्दो हुँदै गएको थियो । न उनी खुलेर हास्थेँ, न निर्धक्क  रुन्थें । अनुहारमा अनौठो भाव थियो । अचम्मलाग्दो त के भने, उनको बोलीमा अरुकै अलग-अलग स्वर सुनिन थालेको थियो ।

उनको चालढाल अस्वभाविक हुँदै गएपछि सुरुमा त चिकित्सकलाई देखाइयो । स्वास्थ्य परीक्षण गरियो । रिपोर्टमा कुनै खराबी देखिएन । त्यसपछि चर्चका पादरी घरमा बोलाइयो । जसै पादरी प्रवेश गरे, किशोरीले भुँइमा पिसाब फेरेर त्यसलाई चाटिरहेकी छिन् । अनि कोइला र किरा चपाइरहेकी छिन् ।

पादरीले ठम्याए, ‘यी किशोरीमा प्रेतआत्मा चढेको छ ।’

अब उनलाई साङ्लोले बाँधियो । अलग्गै कोठामा राखेर उनको आवाज रेकर्ड गरियो । खानपानी दिन छाडियो । प्रेतलाई तह लगाउन भनी पादरीले झारफुक गर्न थाले । तै बिसेक भएनन् । आखिर सन् १९७६ जुन ३० मा उनले प्राण त्यागिन् ।

मृत्युपछि पोस्टमार्टम गरियो । सो रिपोर्टले उनको मृत्यु कुपोषण वा खानापानी नपुगेका कारणले भयो । किशोरीको नाम थियो, एनालिस मिशेल । खासमा उनलाई ‘टोम्पोरल लोब एपिलेप्सी’ थियो, जुन दिमागी बिमार हो ।

………….

फ्रिक शो । यो एक यस्तो तमासा थियो, जहाँ शारीरिक रुपले असामान्य मान्छेहरुलाई ‘हाँसोको पात्र’ बनाइन्थ्यो । एकदमै अग्ला, एकदमै होचा, एकदमै दुब्ला, एकदमै मोटा, दुई वटा टाउको जोडिएका, अनुहारभरी रौं पलाएका, हात-खुट्टा बिग्रिएका, नाक–आँखा विकृत भएका मान्छेलाई ‘प्रकृतिका राक्षस’ भनिन्थ्यो ।

ति अबोध मान्छेहरुलाई फलामे खोरमा थुनेर मेलाहरुमा लगिन्थ्यो र प्रदर्शनीमा राखिन्थ्यो । शरीरमा कुनै खोट लिएर जन्मेका बच्चालाई फगत मनोरञ्जनको वस्तु मानिन्थ्यो । २० औं शताब्दीको प्रारम्भतिर यस्तो सर्कस उत्कर्षमा थियो ।

……………..

एडवर्क मोर्डेक एक यस्ता व्यक्ति, जसको टाउकोमा दुईवटा अनुहार थियो । पछाडिको अनुहार त्यती सक्रिय त थिएन तर दिनसम्म दुःख दिने खालको थियो ।

राती एडवर्क निदाउने यत्न गरिरहेका हुन्थे, पछाडिको अनुहारले केही ‘फासफुस’ साउती गरिरहन्थ्यो । उनी कहिल्यै आरमसाथ निदाउन पाउदैनथे । जब एडवर्क हाँस्न खोज्थे, अर्को अनुहार रोइदिन्थ्यो । उनी आफ्नै अनुहारदेखि आजित भए र २३ बर्षको उमेरमा आत्महत्या गरे ।

एडवर्क मोर्डेकको बारेमा सोधीखोजी गर्ने हो भने अनगिन्ती फोटो–सामाग्री पाइन्छ । उनकै जीवनलाई लिएर फिल्मसमेत बनेको छ । जबकि समाचार एजेन्सी ‘रोयटर्स’को तथ्या जाँचमा के पाइयो भने, यी व्यक्ति कहिल्यै जन्मिएका थिएनन् । यो केवल किंवन्दती थियो ।

सत्य चाहिँ के भने, एक यस्तो दुर्लभ मनरोग हुन्छ जसमा मान्छेलाई आफ्नो दुई अलग-अलग व्यक्तित्व महसुष हुन्छ । आफूभित्र अर्को पनि मान्छे वा व्यक्तित्व छ भन्ने लागिरहन्छ । यसलाई मेडिकल भाषामा ‘डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर’ भनिन्छ ।

………………

यी तीन फरक प्रसंग हुन् । तर यसको केन्द्रमा एउटै कुरा छ-अज्ञानता र अन्धविश्वास ।

अज्ञानताले भ्रम पैदा गर्छ । भ्रमले अन्धविश्वास । अन्धविश्वासले भय । भयले घृणा । र, घृणाले विभेद । यही चक्रिय मनोविकारको साझा उत्पादन हो, बोक्सी पनि ।

बोक्सी बग्रेल्ती हुन्छ किन बोक्सा हुँदैन ? बोक्सी किन धनीमानी हुँदैन ? बोक्सी किन रुपवती हुँदैन ? बोक्सी किन खानदानी हुँदैन ? किनभने समाजको एउटा यस्तो आनुवांशिक संरचना छ, जहाँ निमुखा र निसहायलाई सधै हेलाहोचो गरिन्छ । चाहे त्यो १९ औं शताब्दीमा देखाइने ‘फ्रिक शो’ हुन् वा एआईको युगमा विद्यमान ‘बोक्सी’, यी हेलाहोचोकै अतृप्त अवशेष हुन् ।

समाजका साउती र जोखाना

भ्रम, अन्धविश्वास र घृणाले ‘बोक्सी’को चरित्र निर्माण गरिदियो । यस्तो चरित्र, जसको रुपरंगमा चमकदमक छैन । जसको शरीर सुकिलोमुकिलो छैन । ओंठमुख सुकेका, आँखामा कचेरा भएका, ढाँड कुप्रिएका, छाला चाहुरिएका । संभवत घर-परिवार नभएका । इष्टमित्र नभएका । श्रीमान नभएका । शाखा-सन्तान नभएका । एक्ली । एकदमै एक्ली ।

उनी विधवा हुनसक्छिन् । निमुखा हुनसक्छिन् ।

त्यस्ती महिलालाई देखेपछि समाजले साउती गर्छ, ‘उनी बोक्सी हुन्, टुनामुना जानेकी छे । मध्यरातमा कालो बिरालो बनेर घर-घर चियो गर्छिन्, पूर्णेको टहटह जुनमा नाङ्गो भुतुङ्गो नुहाउँछन्, कुनै एकान्तमा बोक्सी विद्या सिक्छन् । चित्त नबुझे बिगार गरिदिनसक्छ ।’

पल्लाघरेको बच्चालाई पखला लाग्यो, माथ्लोघरेको लैना गाईले दूध थोरै दियो, रामबहादुरलाई खाना रुच्दै रुचेन, श्यामबहादुरलाई राती ऐंठन प¥यो । सबैजनाको त्रसित भावले उनै महिलामाथि केरकार गर्न थाल्छ ।

पल्लाघरे भन्छन्, ‘हिजो मेरै घरको आँगन हुँदै हिँडेकी थिइन्, त्यहीबेला बच्चामा नजर पर्‍यो ।’

माथ्लाघरे ठान्छन्, ‘अस्ति खिर खानलाई दूध मागेकी थिइन्, मैले दिइन । त्यही रिसमा लैनो गाईलाई अक्षता फ्याकिदिइन् ।’

यस्तै आशंकाले समाजमा सानोतिनो पराकम्पन पैदा गर्छ । अन्नतः सज्जन तथा महिलावृन्द फुर्तीसाथ भेला हुन्छन् । ती महिलालाई घरबाट निकाल्छन् । निर्बस्त्र पारिन्छ । चारपाटा मुडिन्छ । कालो मोसो दलिन्छ । तातो पन्युले डामिन्छ । थुक चाट्न लगाइन्छ । टोल घुमाइन्छ । दिसा पिसाब खुवाइन्छ ।

एकबारको जिन्दगीमा यतिविध्न अपमान र अत्याचार झेल्नुपर्दा एउटी निरिह महिलाको मनोदशा कस्तो हुन्छे होला ? हिंसा र हिनताबोधले कति उकुसमुकुस हुन्छे होला ? पीर र पीडाले मन कति पिरोल्छ होला ?

यसको लेखाजोखा गर्ने कुनै तराजु छैन ।

कसले बनाउँछ बोक्सी ?

पढेलेखेकाहरु भन्छन्, ‘बोक्सी फगत अन्धविश्वास हो ।’

बुद्धिमानीहरु भन्छन्, ‘बोक्सी एक सामाजिक कुरिती हो ।’

कानुन भन्छ, ‘बोक्सी प्रथा एक दण्डनिय अपराध हो ।’

तैपनि समाजलाई भित्रभित्रै लाग्छ, ‘होइन, बोक्सी त हुन्छ नै होला ।’ किन यस्तो लाग्छ ? किनभने उसले पढेको कथाहरुमा, सुनेको मिथकहरुमा ‘टुनामुना गर्ने डरलाग्दो आइमाई’ थिइन् । तिनलाई कसले कुचोमा चढाएर उडायो ? तिनलाई कसले कुप्रो र रुग्ण बनायो ? तिनलाई कसले कालो बिरालोको रुप धारण गरिदियो ? तिनलाई कसले पूर्णेको रातमा एक्लै नचाइदियो ? तिनलाई कसले तन्त्र विद्या सिकाइदियो ?

पौराणिक ग्रन्थले, मिथकले, चित्रकलाले, कथाले, सिनेमाले, नाटकले ।

चाहे फेन्टासी कथामा होस् वा थ्रिलर सिनेमामा, बिरुप महिलालाई ‘बोक्सी’ बनाइयो । त्यसैबाट निर्माण भएको मनोविज्ञानले समाजमा अन्धविश्वासको जालो विछ्यायो । गंभीर मानसिक रोगका कारण आफ्नो शारीरिक नियन्त्रण गुमाएका, गर्भदोषका कारण अंगभंग जन्मिएका, नियतीले गर्दा गरिब-दुःखी भएका असहाय व्यक्तिलाई कहिले प्रेतात्मा चढेको ठानियो, कहिले प्रकृतिका राक्षस भनियो, कहिले बोक्सी देखाइयो ।

डरको ग्ल्यामर 

आज दुनियाँमा सबैभन्दा ठूलो के को व्यापार छ ? डरको ।

विद्यालयले ‘भविष्य’को डर, धर्मले ‘पाप’को डर, अस्पतालले ‘मृत्यु’को डर बेचिरहेका छन् । र, सिनेमा त्यही ‘डर’को व्यापार गरिरहेका छन् ।

तर्साउने, अत्याउने, उत्तेजित बनाउने, रहस्यमा राख्ने दृश्यभाषा निर्माण गरेर डरलाई ग्ल्यामराइज्ड गरिरहेका छन् । यसैको एउटा सिलसिला हो, बोक्सीको घर ।

बाल विवाह, वैवाहिक बलात्कार, सामाजिक वहिष्कार, अनपेक्षित आक्षेपले एउटी निरिह महिलालाई ‘बोक्सी’ बनाउँछ । मृत्युभन्दा कठोर जीवन बाँच्न बाध्य बनाउँछ । यति कुरा भन्नका लागि सिनेमाले केही शिल्प, केही बिम्व प्रयोग गरेको छ । र, सबैभन्दा बढी प्रयोग गरेको छ ‘डर’को ।

साइकोलोजिक थ्रिलर उप विधामा बनेको यो एक चलाखीपूर्ण सिनेमा हो, जसले बोक्सीको डर देखाउँछ र बोक्सी छैन पनि भन्न भ्याउँछ ।

चाहे त्यो दृश्यांकनमा होस् वा पात्रको भावभंगीमा, चाहे त्यो पाश्र्व ध्वनीमा होस् वा परिवेशमा । जसरी हुन्छ त्रासदी पैदा गर्न खोजिएको छ । भलै, सिनेमाको मूल गुण मनोरञ्जन अनि हरर वा थ्रिलर जनराको तर्साउने–अत्याउने नै हो ।

यद्यपि त्यो डर वा त्रासदीलाई पुष्टि गर्ने तर्क नहुँदा दृश्यभाषाले विश्वास गुमाउँछ । यो सिनेमा हेरिरहँदा अनगिन्ती ठाउँमा ‘त्यस्तो किन भयो ?’ भन्ने प्रश्न आउँछ, जसको उत्तर छैन । हामीकहाँ फिल्मकर्मीहरुले घटना, परिवेश, पात्र आदिका पछाडि ‘किन’ भन्ने प्रश्न छुटाएको पाइन्छ ।

कतिपय विम्ब, रुपकको प्रयोगलाई सही ढंगले अर्थ्याउन नसक्दा सिनेमाको आत्मा मर्छ । जस्तो र जसरी बोक्सी देखाइन्छ, त्यो उनीभित्रको मनोवैज्ञानिक प्रभाव थियो वा समाजले बनाएको विम्ब ? रातो पहिरन, पिपलको रुख, कालो बिरालो मनोसामाजिक हेराइ थियो वा दुखद् संयोग ?

किनभने यी कुराहरुमा हामी आफै अस्पष्ट हुँदा थप भ्रमले मलजल पाउँछ । अनि भ्रमले घुमीफिरी अन्धविश्वास पैदा गर्छ ।

यी कुराहरुलाई छाडेर हेर्ने हो भने चलचित्र ‘मनोरञ्जनात्मक’ नै छ । यसमा छुटाउनै नहुने नाम हो, सुफला सापकोटा । उनको अभिनय यस फिल्मको खास आकर्षण हो । त्यससँगै केकी अधिकारीले सिङ्गो कथालाई बलियो ढंगले डोहो¥याएकी छिन् । लेखक तथा निर्देशक सुलक्षण भारतीले जे–जसो गरेपनि सिनेमा हलहरु गुल्जार बनाइदिएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button