५ अर्ब ३५ करोडको बिजुली बेच्दा पनि माथिल्लो तामाकोशी नोक्सानीमा

१ फागुन, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ३५ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको विद्युत् बिक्री आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ७.४ प्रतिशत बढी हो । गत वर्ष यस अवधिमा विद्युत् बिक्री आम्दानी ४ अर्ब ९८ करोड थियो ।
यति धेरै रकमको बिजुली बिक्री गर्दा पनि कम्पनी भने नोक्सानीमा गएको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनी २५ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा छ ।कम्पनीको वित्तीय लागतसँगै अन्य खर्चहरु उच्च हुँदा नोक्सानी देखिएको हो । ६ महिनामा कम्पनीको वित्तीय लागत मात्रै ३ अर्ब ४२ करोड रुपैयाँ छ ।
मूल्यह्रास, रोयल्टी खर्च, प्रशासनिक तथा आयोजना खर्च पनि उच्च हुँदा कम्पनी नोक्सानीमा गएको हो । यद्यपि कम्पनीको नोक्सानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनी ८२ करोड ४८ लाख रुपैयाँ नोक्सानीमा थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ जम्मा ६१ रुपैयाँ छ । कम्पनीको दीर्घकालीन ऋण मात्रै ७२ अर्ब ७७ करोड रुपैयाँ रहेकाले सोको ब्याज तथा साँवा भुक्तानीवापत हुने वित्तीय खर्च रकम उच्च छ । आयोजना सम्पन्न गर्दा भएको वर्षाैं ढिलाइको असरले कम्पनीले भारी मात्रामा दीर्घकालीन ऋण बोक्नुपरेको छ । जसको असर कम्पनीको वित्तीय विवरणमा पनि वर्षाैं पर्ने देखिन्छ ।
४५६ मेगावाटको ठूलो आयोजना सञ्चालन गर्ने यस कम्पनीबाट तत्कालै लगानीकर्ताले राम्रो लाभ पाउने अवस्था छैन । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता २१६ रुपैयाँ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।