भूषण दाहालको ‘द ब्राभो डेल्टा शो’ आजदेखि नयाँ शैलीमा हिमालय टिभीमा

काठमाडौं । भूषण दाहालको चर्चित टिभी कार्यक्रम ‘द ब्राभो डेल्टा शो’को दोस्रो सिजन सोमबारदेखि हिमालय टिभीमा प्रसारण हुँदैछ । शोको राति ८ बजे ग्रान्ड प्रिमियर हुनेछ ।
दाहालले दोस्रो सिजन नयाँ शैली र प्रस्तुतिमा ल्याउन लागेका हुन् । उनले यसलाई ‘न्युज डकुमेन्ट्री शो’ बताएका छन् ।
यसअघि उनले कार्यक्रमको टिजर सार्वजनिक गर्दै यसको शैली र संरचनाबारे जानकारी दिएका थिए । टिजरमा भूपि शेरचनको चर्चित कविता ‘मेरो चोक’लाई लिएर काव्यात्मक न्यारेसन प्रस्तुत गरेका थिए ।
‘यो शो बल्ल मूल संरचनामा आउँदैछ । कोभिडको कारणले स्टुडियोभित्र पुगेको थियो । अब आउटडोर र ओभरसिजको कभरेज धेरै हुन्छ,’ अनलाइनखबरसँग दाहालले भने, ‘राजनीति मात्र होइन, यसमा भेराइटी धेरै हुन्छ । नेपाली समाजका सबैखाले कथा यसमा हुन्छन् । न्युज वरपर घुम्ने डकुमेन्ट्री हो यो ।’
सिजन २ कम्तीमा एक वर्ष चल्ने उनले जनाए । अघिल्लो सिजन १२५ एपिसोडसहित दुई वर्ष चलेको थियो । यो टेलिभिजन कार्यक्रमलाई साझा कथा र दाहालले मिलेर उत्पादन गर्दैछन् । यो कार्यक्रम हिमालय टिभीमा प्रसारण हुनेछ भने ‘साझा कथा’ युट्युब च्यानलबाट पनि स्ट्रिमिङ हुनेछ ।
देशले नचिनेर विदेशिन बाध्य होनहार नेपालीको कथालाई पहिलो एपिसोडमा समेटिने दाहालले जनाए । ‘होनहार नेपाली जसलाई आफ्नो देशले चिन्या छैन । साधारण जर्नीमा जसरी युवाहरु बाहिर गइरहेका छन् । यस्तै जीवनयापनमा निस्किएको नेपाली जसले २०-२५ वर्ष विदेशी भूमिमा संघर्ष गर्यो, यसको कथा सुरुमा समेटिनेछ,’ उनले भने ।
उनले ‘न्युज डकुमेन्ट्री’को शैली नेपाली टेलिभिजनमा नयाँ हुने बताए । सूचना, समाचार र मनोरञ्जनको त्रिवेणी बनेको हिमालय टेलिभिजनले भूषण दाहाल र द ब्राभो डेल्टा शो टिमसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।