४५ दिनपछि बालाई सम्झँदा
मेरो पितालाई मैले भौतिक रूपमा बा भनेर बोलाउन नपाएको आज ४५ दिन भयो । आज बाको ४५औं दिनको पुण्यतिथि । २०८१ साल भदौ ३० गतेका दिन देवघाटमा अन्तिम दाहसंस्कार गर्दाका समयमा बालुवामाथि बसेर मैले बाको जलिरहेको चितालाई हेर्दै उहाँको विगतलाई निकै स्मरण गरेको थिएँ ।
चिकित्सा विज्ञान अनुसार बाको क्यान्सर देखियो । बायोप्सी रिपोर्टले त्यो अर्बुद रोगलाई तेस्रो अन्तिम तहको भन्ने निक्र्योल गर्यो । त्यही प्राणघातक रोग क्यान्सरका कारण मैले मेरा बालाई ५८ वर्षको उमेरमा अन्तिम बिदाइ गर्नुपर्छ भन्ने कल्पना पनि गरेको थिइनँ । कुनै पनि छोराहरूले बाउको मृत्युको कल्पना कसरी गर्न सक्छ र ? तर मलाई त्यही अकल्पनीय घटनाको साक्षी बन्नु पर्यो ।
मृत्यु शाश्वत सत्य हो भन्ने कुरा प्रारम्भिक ज्ञानबाट सबैले बुझेकै छ । तर मृत्यु कसरी हुन्छ भन्ने कोही कसैले बुझेको हुँदैन । मृत्युको रूप कस्तो हुन्छ भनेर बुझ्न जलिरहेको चितामा आफूलाई देख्न सके मात्र मृत्युको भय बुझ्न सकिन्छ ।
हाम्रो सनातन धर्ममा देवतालाई जति प्रशंसा र सम्मान गरिन्छ त्यति नै सम्मान र प्रशंसा आफ्ना पितृहरूलाई गरिन्छ । तर देवता भनेका पनि पितृ नै हुन् अर्थात् हाम्रो समाजले देवता मान्दै आएका शिव, राम, कृष्ण, विष्णु, बुद्ध, पार्वती, भगवती आदिहरू पनि मानिस भएरै जन्मेका हुन् । सबै भगवान्हरू मानवकै रूपमा चर्चा भएका पाइन्छन् अर्थात् हामीले भगवान् मान्दै आएकाहरू सबै दिवंगत मानिस नै हुन् भन्ने कुरा स्पष्ट हुन्छ । त्यसैले भगवान् र पितृहरूलाई एउटै स्थानमा राखेर मातृ–पितृ देवो भवः भनिन्छ ।
आज बालाई सपनामा देखेको थिएँ । सपनामा देख्दै गरेको बालाई भेट्न पाएर सपनामा नै कति खुसी र हर्षित भएको थिएँ भन्ने कुरा खुसीको आँसुले भिजेको सिरानीले बिहान बताउँदै थियो मलाई । यस्तो लाग्दथ्यो मेरो आयु थपेर बालाई दिन सकेको भए आज बा ९२ वर्षको हुनुहुन्थ्यो । तर नियतिले बालाई लिएर सम्झना मात्र छोडेर गयो ।
बासँगको धमिलो सम्झनाहरूलाई उहाँसँगै हुर्केका उहाँको पुस्ताको साथीहरूसँग हुने भेटले बाको यादहरू आँसु बनेर आँखाबाट बर्सिदिन्छ । बासँगैका केही साथीहरू हुनुहुन्छ गाउँमा । अझै धेरै लामो जिन्दगी र दीर्घायुको लागि उहाँहरूलाई धेरै शुभेच्छा छ मेरो । उहाँहरूले कहिलेकाहीं हुने भेटमा भन्ने गर्नुहुन्छ– ‘यसको बोलचाली, आनीबानी र व्यवहार त ठ्याक्कै काटीकुटी बाउ चाहिंको जस्तो ।’ यस्तो सुन्दा मलाई उहाँको छोरा हुनुमा गर्व लाग्छ । कतिपय छोराहरू हुन्छन् जो बाआमाप्रति गर्व गर्न सक्तैनन् ।
वि.सं. २०५८ नेपाली इतिहासमा एउटा चर्चित साल हो । जुन साल देशमा राजनीतिक रूपले पूरै ध्वस्त थियो । देश गृहयुद्धमा फसेको थियो । त्यही साल भदौ महिनाको अन्त्यतिर तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले मेरो बालाई जलकन्या माध्यमिक विद्यालयबाट अपहरण गरी जङ्गलैजङ्गल लेकतिर लगेका थिए । अनेकन् यातना र प्रताडना दिएपछि सोधिएछ— तँ हाम्रो सुराकी होस् ? तँ नेपाली कांग्रेस होस् ? तँ हाम्रा विरुद्ध किन बोल्छस् ?
वर्तमान राजनीतिमा आज पनि माओवादीले कांग्रेस, एमालेले रास्वपा र अन्य दलले अरू पार्टीमाथि यस्तै संगीन आरोपहरू लागाउँदै नेपाली राजनीति चलिरहेकै छ । यस्तै प्रश्न गरेपछि बाले भन्नुभएछ— हो, म कांग्रेस हो, अरू केही होइन । दिनहुँको केरकार गरिसकेपछि छैटौं दिनमा बा घर फर्किनुभयो । बाको आगमन पछि, परिवारमा निकै खुशी छायो । हाम्रो परिवारले खुशीले दशैं, तिहार मानेको संभवतः त्यही समय थियो ।
बा सामाजिक असमानताका अनेकन् रूपहरू पढेर बस्दथे । समाजभित्रका कुरीति र विसंगतिका पर्खालहरू भत्काउन आफूलाई जुनसुकै हिसाबले पनि अरूको नजरमा तयार भएर बस्नुपर्छ भन्ने मान्यता राख्दथे । मलाई लाग्दथ्यो बा नेता बन्नेछन्, बाहरू हुन्छन् नै नेता । निडर, निष्कलंकित, निर्भीक र साहसिलो । मैले नेता भन्ने शब्दको ओज र गरिमा नबुझ्दै, बा नेता बन्नुपर्छ भन्ने लाग्यो । मैले बाको हरेक सुख–दुःखमा साथ दिए । पछि गएर बा ठूलो नेता त बन्नुभएन स्थानीय र जिल्लास्तरसम्मको नेता भने बन्नुभयो ।
मेरो जीवनमा मैले गरेका कर्मको परिणाम पनि सापेक्षित नै आउने भए । मलाई जे सत्य लाग्यो मैले त्यही गरें, आज आएर मलाई ऊ बेलाका बाप्रतिका मेरा निर्णयहरूप्रति थोरै पनि ग्लानि, अलिकता पनि पश्चात्ताप छैन । मैले बाको राजनीतिक जीवनदेखि अस्पतालको शय्या हुँदै मृत्युचितासम्म जे–जति गरें त्यो मेरा लागि अहोभाग्य हो । मैले बाको लागि यत्ति भने पनि छोरो भएर गर्न पाएँ । हाम्रो समाज पितृसत्तात्मक समाज देखिए पनि बाको कर्मयोग भन्दा आमाको ममतालाई व्यवहार र शब्दमा बढी उधिनिएको छ । बाहरूले आफ्ना छोराछोरी टपक्क टिपेर प्रेमले छातीमा टाँस्ने, आफू घोडा बनेर छोराछोरीलाई घोडसवार गराउने र काँधमा बोकेर हिंड्ने कुरालाई आफ्नो जीवनको तीन दशक काटिसकेको म जस्तो छोराको लागि यति मात्र पर्याप्त हुँदैन बाको संस्मरण गर्न ।
आफ्ना दिवङ्गत माता–पिताहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु नै श्राद्ध हो । आज म बाको ४५औं दिनको श्रद्ध गर्दैछु । तर मैले कुनै पुरोहित र कर्मकाण्ड नगरी बाको सम्झनामा चित्तशुद्ध गरी बसेको छु । हरेक छोराछोरीहरूले उहाँहरू जीवित छँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिए पनि जसले मातापितालाई बाँचुञ्जेल कष्ट दिएर सताउने काम गरे उनीहरूले मृत्युपछि श्राद्ध गरेर श्रद्धाञ्जली व्यक्त गर्नु पाप हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।