Main

तीन महिनापछि कमलादी सडकको भ्वाङमा ‘बक्स कल्भर्ट’ बनाइँदै

१३ कात्तिक, काठमाडौं । कमलादी सडकमा परेको भ्वाङमा तीन महिनापछि ‘बक्स कल्भर्ट’ बनाउने काम सुरु भएको छ ।

गत २५ साउनमा काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै टुकुचा खोला (इच्छुमती) माथि रहेको कमलादी सडकमा करिब ५ मिटरभन्दा गहिरो र करिब १० मिटरभन्दा फराकिलो भ्वाङ परेको थियो ।

‘पहिले चारैतिर ईंट्टाको वाल बनाएर त्यसमाथि स्ल्याब ढलान गरेको थियो । त्यही ठाउँमा सडक सञ्चालन रहेको थियो । साउनमा आएको पानीले भत्काएपछि अब चाहिँ बक्स कल्भर्ट बनाउने काम भइरहेको हो,’ डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायण दत्त भण्डारीले अनलाइनखबरसँग भने ।

२ महिना पछि ठेक्का सम्झौता

सडकमुनि रहेको ईंट्टाको कल्भर्ट भत्केर भ्वाङ परेपछि भोलिपल्टै सडक विभागको टोली अनुगमनमा पुगेको थियो । अनुमगनपछि भूगर्भविद सहितको इन्जिनियरिङ टोलीले अध्ययन गरेको थियो ।

‘हामीले पहिले आफैंले अध्ययन गर्‍यौं, त्यसपछि त्यहाँको माटो कमजोर छ कि भनेर त्यही अनुसार भूगर्भविद सहित अध्ययन गरेर लागत मूल्यांकन गर्‍यौं,’ भण्डारीले भने ।

पुरानो ईंट्टाको कल्भर्ट भएकोले उक्त स्थानमा पुरातत्व विभागले समेत चासो देखाएपछि डिभिजन सडकले पुरातत्वसँग परामर्श गरेको थियो ।

विभागले डिभिजनलाई पत्र लेखेर पुराना संरचनाको अस्तित्व नमेट्ने गरी काम गर्न भनेपछि डिभिजनले फेरि सडक विभागको मापदण्ड अनुसार गर्ने भन्दै छलफल गरेर टुंग्याएर मात्रै ठेक्का लगाएको थियो ।

‘भत्केको दुई महिनासम्म काम सुरु गर्न नसक्नुको कारण भनेको केही हप्ता त बाढी नै आइरहेको थियो, फेरि पुरातत्व विभागसँग अनुमति लिन पर्‍यो, मूल्यांकन गरेर सार्वजनिक खरिद नियम अनुसार ठेक्का लगाउँदा समय लागेको हो,’ भण्डारीले भने ।

सबै प्रशासनिक कुरा मिलेपछि डिभिजन सडक कार्यालयले डिजी प्रकाश कन्सट्रक्सनलाई १८ असोजमा ठेक्का दिएको थियो । ६० लाख लागत अनुमान गरेको कार्यालयले बोलकबोल गर्दा ४९ लाखमा कन्सट्रक्सनले ठेक्का लिएको थियो ।

‘यो पनि पुल नै हो । ६ मिटरभन्दा लामोलाई पुल भनिन्छ, यो त्यो भन्दा छोटो हुने भएकोले कल्भर्ट भनिएको हो, यहाँ बन्ने भनेको बक्स कल्भर्ट हो । सानो खोला माथि पुलजस्तै बनाउनुपर्ने भएकोले यहाँ यस बाहेक अन्य विकल्प छैन,’ भण्डारीले भने ।

३ सिफ्टमा काम

भण्डारीका अनुसार २ कात्तिकबाट ठेकेदार कम्पनीले काम सुरु गरिसकेको छ । ‘निर्धारित समयमै काम सम्पन्न हुनेगरी अहिले बिहान, दिँउसो र राति गरेर ३ सिफट्मा काम भइरहेको छ । ठेकेदार कम्पनीले १८ मंसिर अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ,’ भण्डारीले भने ।

पश्चिम क्षेत्र दरबारमार्ग तर्फबाट कमलादीतर्फ पानी आउँदा टेको भत्केपछि सडक मुनिको माटो बगाउँदा भ्वाङ परेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button