Main

तोकिएको मितिमा सुरु भएन दशौँ राष्ट्रिय खेलकुद

२ मंसिर, काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा मंसिर २ (आजदेखि) देखि हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद तोकिएको मितिमा नहुने निश्चित भएको छ । तोकिएको मिति आजै सकिँदैछ । तर दशौँको सुरु हुने कुनै छनक नै छैन ।

सबै कुरा ठिकठाक चलेको भए सुर्खेतमा खेलाडीहरुको बाक्लो जमघट हुने थियो । कर्णाली प्रदेश खेलकुदमय हुने थियो । दशौँको माहोलले सुर्खेतमा खेलकुदको चहलपहल धेरै हुने थियो ।

तर अहिले कर्णाली र सुर्खेत दशौँ राष्ट्रिय खेलकुद कहिले होला भन्ने अन्यौलमा पुगेको हो ।

कर्णाली प्रदेश खेलकुद परिषदले दशौँ राष्ट्रिय खेलकुदका लागि १०० दिने काउन डाउन नै सुरु गरेको थियो । तर त्यो समयसिमा आज सकिँदा सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद पनि सुरु हुन सकेन ।

दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुरु नहुने त यसअघि नै पक्का थियो । तर के र कति कारणले हुन नसक्ने भन्ने विषयमा आयोजक राष्ट्रिय खेलकुद परिषद र नेपाल सरकारले पनि केही निर्णय गर्न सकेको छैन ।

तेजुलाल चौधरी नयाँ खेलकुद मन्त्री बनेर आएपछि नै दशौँ राष्ट्रिय खेलकुद सर्ने चर्चा चलेको थियो । उनले एकपटक त दशौँ मंसिरमा नहुने र फागुनमा हुन्छ भनेर सार्वजनिक रुपमै भनेका थिए । तर आधिकारिक रुपमा भने दशौँ मंसिर २ बाट किन हुन सक्दैन जानकारी आएको छैन । यस्तै दशौँको नयाँ मिति पनि तोकिएको छैन ।

पछिल्लो समयम मन्त्री तेजुलाल चौधरी र राखेप सदस्य सचिव टंकलाल घिसिङको सम्बन्ध राम्रो नभएपछि दशौँ राष्ट्रिय आयोजनामा समेत असर देखियो । यसको मारमा भने नेपाली खेलकुद खेलाडी र खेलकर्मीहरु परेका छन् । दशौँ राष्ट्रिय खेलकुदको कार्यिविधि समेत बन्न सकेको थिएन ।

खेलाडीहरुले दशौँका लागि तयार थालेपनि आफूले कहिले खेल्न पाउँछु भन्ने थाहा नभएपछि अन्यौलमा रहे । अब ति तयारीमा रहेका खेलाडीहरुको अवस्था कस्तो हुन्छ भन्ने जवाफ कसैले दिन सकेका छैनन् ।

दशौँमा ३६ खेल समावेश गर्ने र २४ खेल कर्णाली प्रदेशको आयोजना गर्न सकिने कर्णाली प्रदेश खेलकुद परिषदले जनाएको थियो ।

अबको प्रश्न दशौँ राष्ट्रिय खेलकुद किन तोकिएको समयमा हुन सकेन र नयाँ मिति कहिले घोषणा हुन्छ भन्ने हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button