वरिष्ठ निर्देशक यादव खरेलबाट फिल्मकर्मीले लगाए टीका
काठमाडौं । बडादशैँको अवसरमा कलाकारले वरिष्ठ फिल्म निर्देशक यादव खरेलबाट टीका ग्रहण गरेका छन् । चलचित्र निर्देशक समाजको आयोजनामा लाजिम्पाटमा आयोजित समारोह उत्सवमय देखियो । चलचित्र विकास बोर्डका पहिलो अध्यक्ष यादव खरेलदेखि वर्तमान अध्यक्ष दिनेश डिसीसम्म समारोहमा सहभागि थिए । उक्त अवसरमा खरेलले फिल्मकर्मीलाई दशैंको शुभकामना दिए ।
उनले नेपाली फिल्मको विगतका विभिन्न प्रसंग स्मरण गर्दै यो क्षेत्रको विकासमा तत्कालिन राजा महेन्द्रको योगदान सम्झिए । विगतमा भारतमा नेपाली फिल्मको प्राविधिक कार्य गर्नुपर्ने बाध्यता सम्झँदै उनले प्रविधिले अहिले नेपाली फिल्ममा फड्को मारेको स्मरण गरे ।
बोर्ड अध्यक्ष डिसीले अध्यक्षको रुपमा कार्यभार सम्हालेको छोटो अवधिमै नेपाली फिल्म क्षेत्रका लागि विभिन्न सकारात्मक सुधार ल्याउने कार्यको थालनी गरिसकेको जानकारी गराए । बोर्डको भवनलाई अपांगमैत्री, महिलामैत्री बनाएको जनाउँदै डीसीले फिल्म प्रदर्शनको मुखमा आर्थिक अभावका कारण प्रचार–प्रसार गर्न असमर्थ भएका फिल्म निर्माताका लागि बोर्डको ठूलो पर्दासहितको हल निःशुल्क उपलब्ध गराउने कार्यको थालनी गरिएको बताए ।
बोर्डले २५औँ वार्षिकोत्सव मनाउने क्रममा करिब चार महिनासम्म देशव्यापी कार्यक्रम आयोजना गर्दै नेपालका गाउँदेखि सहरसम्मलाई नेपाली फिल्ममय बनाउने तयारी भैरहेको समेत उनले जनाए । यसका लागि लोकप्रिय कलाकारको सहभागितामा देशैभरी रक्तदान कार्यक्रम, हाजिरीजवाफ, महोत्सव, नेपाली फिल्मका गीतमात्र समावेश गरिने टेलिभिजन रियालिटी शो, वहस, छलफल, अन्तरक्रियादेखि नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व हुने शैलीमा १० रुपैयाँको हुलाक टिकट प्रकाशनसम्मको तयारी गरिएको घोषणा गरे ।
चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काको संयोजनमा आयोजना गरिएको समारोहमा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, महासचिव अरुण प्रधान, सचिव देवेन्द्र पाण्डे पनि सहभागि थिए ।
समारोहमा उपस्थितले कलाकार र प्राविधिकले लामबद्ध भएर खरेलबाट टीका ग्रहण गरे । केही कलाकारले प्राप्त दक्षिणामा केही रकम थपेर संस्थालाई हस्तान्तरण गरे । निर्देशक समाजले तिहार, नेपाल संवतको नयाँ वर्ष र छठ पर्वमा पनि शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । ‘यसले हामी चलचित्रकर्मीबीच आपसी भाइचारामा अभिवृद्धि गर्नेछ’ अध्यक्ष पराजुीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।