Main

त्रिविको समाजशास्त्र विभाग प्रमुखमा पासाङ शेर्पा नियुक्त गर्ने कार्यकारी परिषदको निर्णय

९ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यकारी परिषद्को बैठकले सहप्राध्यापक पासाङ शेर्पालाई विभाग प्रमुख नियुक्त गर्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

समाजशास्त्र विभागले विभागीय प्रमुखमा पासाङ शेर्पा, टीकाराम गौतम र मनहरि ढकालको नाम सिफारिस गरेको थियो । तर, मानविकी तथा समाजशास्त्रकी डीन प्रा.डा.कुसुम शाक्यले विभागले दोस्रो नम्बरमा सिफारिस गौतमको नाम कार्यकारी परिषदमा सिफारिस गरेपछि विवाद भएको थियो ।

डीन कार्यालयले पठाएको विवरण अनुसार नियुक्त गर्न त्रिवि पदाधिकारीलाई विभिन्न व्यक्तिहरुले दबाब तथा धम्की आएको भन्दै रजिष्ट्रार प्रा.डा.केदार रिजालले शिक्षा मन्त्रालयलाई सुरक्षा व्यवस्था गरिदिन आग्रह गर्दै पत्र पठाएका थिए ।

त्रिवि पदाधिकारी स्रोतको अनुसार डीन कार्यालयबाट आएको नामावली अनुसार नियुक्त नगरे त्रिवि पदाधिकारीलाई ‘सिध्याउने’ धम्की आएको थियो ।

विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री तथा गृहमन्त्रीसँग समन्वय गरे पनि नभएको भन्दै शिक्षामन्त्री विद्या भट्टराईले त्रिवि पदाधिकारीको सुरक्षा व्यवस्था गर्न गृहमन्त्रीलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक अपिल गरेपछि विभाग प्रमुख नियुक्त गर्ने विषय थप पेचिलो बनेको थियो ।

३२ साउनमा निवर्तमान विभाग प्रमुख प्रा.डा.युवराज लुईंटेलको पदावधि सकिए पनि कार्यकारी परिषदको बैठक बस्न नसकेपछि समयमा नियुक्ति हुन सकेको थिएन । त्यस्तैगरी कार्यकारी परिषद्ले भाषा विज्ञान केन्द्रीय विभाग प्रमुखमा सहप्राध्यापक डा. कर्णखर खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्रिवि स्रोतको अनुसार पत्र तयार भएपनि ढिला भएको कारण सम्बन्धित व्यक्तिहरुलाई मंगलबार मात्रै पत्र पठाउने तयारी गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button