लिग २ क्रिकेटमा नामिबियालाई तेस्रो जित

११ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नामिबियाले तेस्रो जित हात पारेको छ ।
यसअघि दुवै खेलमा नेपाललाई हराएको नामिबियाले त्रिवि मैदान कीर्तिपुरमा आज शुक्रबार भएको खेलमा नेदरल्याण्ड्सलाई २४ रनको अन्तरले हराएको हो ।
जितका लागि ४५ ओभरमा २०४ रन बनाउनु पर्ने लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४३.५ ओभरमा १७९ रनमा अल आउट भए ।
नेदरल्याण्ड्सका नोहा क्रोशले नट आउट ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । म्याक्स ओडउड ४१ रनमा आउट भए । नामिबियाका जेर्हाड इरास्मुस र जान फ्राइलिंकले समान ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा २०३ रनमा अलआउट भयो । बिहीबारको वर्षाले मैदान चिसो हुँदा यो खेल ढिला सुरु भएकाले ४५ ओभरमा घटाइएको थियो ।
लिग २ को पहिलो त्रिकोणात्मक शृखंलाका ३ खेल जितेर नामिबिया ६ अंकसहित शीर्ष स्थानमा छ । घरेलु टोली नेपाल र नेदरल्याण्डसको समान २ अंक छ । यी दुई टोलीबीच आइतबार शृंखलाको अन्तिम खेल हुने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।