एक वर्षमै ऋणपत्र लगानीकर्ताले कमाए ३६ प्रतिशतसम्म नाफा

२९ कात्तिक, काठमाडौं । कात्तिक २०८० मध्यतिर लक्ष्मी सनराइज बैंकको ‘एलबीएलडी ८८’ नामक ऋणपत्रको मूल्य ७७२ रुपैयाँ २० पैसा थियो । ८.५ प्रतिशत वार्षिक ब्याजदर रहेको यसको मूल्य अहिले १ हजार ५३ रुपैयाँ पुगेको छ ।
एक वर्ष अवधिमा यो ऋणपत्रका लगानीकर्ताले ३६ प्रतिशत पूँजीगत लाभ कमाए । ३६ प्रतिशत पूँजीगत लाभमात्र होइन, एक वर्षको ब्याज ८.५ प्रतिशत पनि बुझे ।
ठिक एक वर्षअघि प्रभु बैंकको ‘पीबीएलडी ८७’ ऋणपत्रको मूल्य ७ सय ९० रुपैयाँ थियो । ८.५ प्रतिशत ब्याजदर रहेको यसको मूल्य अहिले १ हजार २० पुगेको छ । यसका लगानीकर्ताले एक वर्षमा २९.१ प्रतिशत पूँजीगत लाभ र ८.५ प्रतिशत ब्याज कमाएका छन् ।
यही अवधिमा उही ब्याजदर रहेको सानिमा बैंकको ‘एसबीडी ८७’ नामक ऋणपत्र मूल्य ७ सय ९२ बाट बढेर १ हजार ३५ पुगेको छ । यसका लगानीकर्ताले ३० प्रतिशत पूँजीगत लाभ कमाए ।
एक वर्षमा ८.७५ प्रतिशत ब्याजदर रहेको प्राइम कमर्सियल बैंकको ‘पीबीडी ८५’ मूल्य ७ सय ९० बाट बढेर १ हजार ६१ रुपैयाँ पुगेको छ ।
यसैगरी सूचीकृत अधिकांश ऋणपत्रको मूल्य एक वर्षमै उच्च दरले बढेको छ । बैंकहरूको ब्याजदर ऋणपत्रको प्रतिफलभन्दा तल झरेकाले ऋणपत्रको मूल्य उच्च दरले बढेको एनआईएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सचिन्द्र ढुंगानाले बताए ।
‘अहिले बैंकको ब्याजदर ऋणपत्रको दरभन्दा तल झरेकाले नै मूल्य बढेको हो, अहिले बैंकको मुद्दती निक्षेपभन्दा ऋणपत्रको प्रतिफल दर धेरै छ,’ उनले भने, ‘जता धेरै प्रतिफल र सुरक्षा हुन्छ, लगानी त्यतै आकर्षित हुने हो ।’
बजारमा ८.५ देखि १२ प्रतिशतसम्म ब्याज दिने ऋणपत्र सूचीकृत छन् । तर, अहिले बैंकमा मुद्दती निक्षेप राख्दा व्यक्तिगत लगानीकर्ताले पाउने अधिकतम ब्याजदर ५.७५ देखि ७ प्रतिशतसम्म हो ।
अझ संस्थागत लगानीकर्ताले पाउने ब्याजदर ४.७५ देखि ६ प्रतिशतसम्म मात्रै हो । यो ब्याजदर महिनैपिच्छे घट्दै गएको छ । बैंक ब्याजदर भन्दा ऋणपत्रको प्रतिफल नै धेरै भएकाले यतिबेला ऋणपत्रले भाउ पाएको जानकार बताउँछन् ।
एक वर्षअघि यिनै ऋणपत्रले भाउ पाएका थिएनन् । अंकित मूल्य १ हजारमा खुलेका ऋणपत्र दोस्रो बजारमा ८ सयमै पनि बेच्न मुस्किल थियो । कम्पनीले प्राथमिक बजारमा खुलेका ऋणपत्र पनि बिक्दैनथे ।
त्यतिबेला बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ९.५ देखि १०.५ प्रतिशतसम्म थियो । यही कारण ८.५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा लगानीकर्ताको आकर्षण थिएन ।
एक वर्षअघि बैंकको मुद्दतीमा पैसा राखेर १० प्रतिशत ब्याज खानेले १० प्रतिशत मात्रै प्रतिफल पाए, तर त्यतिबेला साढे ८ प्रतिशतकै ऋणपत्र दोस्रो बजारबाट खरिद गरेकाले कुल ३० देखि ४० प्रतिशतसम्मको प्रतिफल पाए ।
प्राथमिक बजारमा भने ऋणपत्रको अंकित मूल्य १ हजार नै हुने गर्छ । प्राथमिक बजारमा १ हजारमा किनेको ऋणपत्र ८ सयमा झर्दा बेच्नेले भने गुमाएका छन् । एक वर्षमा कतिपय कम्पनीको सेयर मूल्यभन्दा ऋणपत्रको मूल्यवृद्धि उच्च हो । तर लगानीकर्ता भने ऋणपत्रको कारोबारमा त्यति धेरै आकर्षित भएको पाइँदैन ।
‘ऋणपत्रका लगानीकर्ताले सधैं कमाउँदैनन्, बजार घटबढ हुँदा पनि कमाउँदैनन्, अहिले ब्याजदर घटिरहेकाले कमाएका हुन्,’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने, ‘सेयर बजार उतारचढावसँग रमाउनेलाई त्यो उपयुक्त नहुन सक्छ ।’
बैंकमा लामो अवधिलाई मुद्दती निक्षेपमा रकम राखेर लाभ लिनेलाई मात्रै ऋणपत्र उपयुक्त लगानीको माध्यम भएको उनको भनाइ छ ।
ऋणपत्रको अवधि लामो हुने, सेयर बजारबाट भनेकै बेला किनबेच गर्न नसकिने भएकाले पनि यसप्रति रुचि कम भएको हो । ऋणपत्र सम्बद्ध बाहेक अन्य बैंकमा धितो राखेर ऋण लिन सकिन्छ ।
‘साधारण सेयर भनेकै बेला सहजै किनबेच गर्न सकिन्छ, पैसा चाहेका बेला बेच्न सकिन्छ, पैसा भएका बेला फेरि किन्न सकिन्छ तर ऋणपत्रमा तोकिएको समयभन्दा अगाडि सावाँ पाइँदैन, बजारमा बेच्नका लागि भनेकै समयमा खरिदकर्ता नपाइन सक्छ,’ ढकालले भने ।
नेपालको बजारमा ऋणपत्रको कारोबार असाध्यै न्यून रहेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को तथ्यांकले देखउँछ । असोजभरि जम्मा ७१ हजार कित्ता ऋणपत्र कारोबार भएको छ । ती ऋणपत्र ७ करोड ६० लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । असोजमा भएको कारोबार हेर्दा प्रतिकित्ता औसत कारोबार मूल्य १ हजार ७० रुपैयाँ छ ।
गत वर्ष असोजमा जम्मा १८ हजार २ सय ३० कित्ता ऋणपत्र कारोबार भएको छ । उक्त ऋणपत्रको कुल कारोबार मूल्य जम्मा १ करोड ६२ लाख बराबर छ । प्रतिइकाइ ऋणपत्रको औसत कारोबार मूल्य ८ सय ८८ रुपैयाँ देखिन्छ । एक वर्ष अन्तरालमा बजारमा कारोबार भएको ऋणपत्रको औसत मूल्य पनि २०.४ प्रतिशत बढेको देखिन्छ ।
बजारमा विभिन्न नामका ७३ ऋणपत्र सूचीकृत छन् । एउटै कम्पनीका दुईभन्दा बढी ऋणपत्र पनि सूचीकृत छन् । बजारमा ऋणपत्रको मूल्य जतिसुकै भए पनि तोकिएको अवधि सकिएपछि प्रतिकित्ता १ हजार रुपैयाँका दरले साँवा फिर्ता हुने हो ।
कसरी किनबेच गर्ने ऋणपत्र ?
ऋणपत्र किनबेच गर्न प्राविधिक रूपमा असहज छैन । प्राथमिक बजारमा सेयर जस्तै ‘सीडीएससी’ को मेरो सेयर अनलाइन मार्फत ऋणपत्र खुलेका बेला आवेदन दिन सकिन्छ ।
दोस्रो बजारमा पनि सेयर जसरी नै ‘टीएमएस’ मार्फत लगानीकर्ता आफैंले अर्डर पोस्ट गरेर किनबेच गर्न सकिन्छ । सेयर कारोबार आदेश दिन प्रयोग हुने अर्डर म्यानेजमेन्टको ‘बाइसेल’ मा क्लिक गरेपछि इन्स्ट्रुमेन्टमा इक्विटीको सट्टा ‘एनसीडी’ छनोट गरेपछि सूचीकृत विभिन्न ऋणपत्र देखिन्छन् । त्यसपछि किनबेच गर्न चाहेको ऋणपत्र संख्या, मूल्य तोकेर आदेश प्रविष्ट गर्न सकिन्छ ।
ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्नुपर्ने व्यवस्था छ ।
निष्कासनका लागि बोर्डको पाइपलाइनमा १० ऋणपत्र
यतिबेला बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेकाले ऋणपत्र निष्कासन गर्न चासो दिएका छैनन् । तर, नेपाल धितोपत्र बोर्डमा पहिले नै आवेदन दिएका १० नामका ऋणपत्र निष्कासन पाइपलाइनमा छन् । बोर्ड कार्यकारी अध्यक्षविहीन हुँदा ऋणपत्र निष्कासनका लागि दिएका आवेदन पनि स्वीकृत भएका छैनन् ।
तिनमा ‘प्राइम बैंक २०९१’ (८ प्रतिशत), ‘एनआईसी एसिया बैंक २०९१’ (८ प्रतिशत), ‘साइनरेसुङ्गा विकास बैंक’ (८ प्रतिशत), ‘नेपाल इन्फ्रास्ट्रक्चर बैंक’ (६ प्रतिशत), ‘राष्ट्रिय वाणिज्य बैंक’ (८ प्रतिशत), ‘एभरेस्ट बैंक’ (७.५ प्रतिशत), ‘सिटिजन्स बैंक’ (८.५ प्रतिशत) र ‘नेपाल एसबीआई बैंक’ (७ प्रतिशत) र ‘आईसीएफसी फाइनान्स’ (९ प्रतिशत) छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।