Main

पुल्चोक कलेजले बनायो पेट्रोल र हाइड्रोजनबाट चल्ने गाडी

३१ भदौ, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक कलेजले पेट्रोल र हाएड्रोजनबाट चल्ने गाडी निर्माण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सोमबार सो गाडीको शुभारम्भ गरे ।

पेट्रोल र हाइड्रोजनबाट चल्ने इन्जिन निर्माणको नेतृत्व गरेका डा. प्रकाश थापाले पेट्रोलबाट चल्ने पुरानो कारको इन्जिनलाई हाइड्रोजन उपयोग गरी पेट्रोलको खपत कम गराउने इन्जिन पहिलो पटक नमूनाका रूपमा बनाइएको जानकारी दिए ।

यो प्रविधिको विकास र विस्तार गर्न सके थोत्रा भई थन्किएका सयौं सवारीसाधनलाई पुनः प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ ।

कार्यक्रममा मन्त्री दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताए ।

प्रविधिको उपयोगबाट प्रगति र समृद्धिको यात्रा सहज बनाउन सकिने भन्दै उनले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।

औद्योगिक मुलुकका कारण विश्वव्यापी रूपमा बढिरहेको कार्बन उत्सर्जनको मार नेपालजस्ता मुलुकमा समेत पर्दा हिमालदेखि समुद्रसम्म प्रदूषणको असर देखिएको उनको भनाइ छ ।

यस्ता विश्वव्यापी चुनौतीको सामना गर्न नेपाल पनि तयार रहनु पर्ने उनले बताए । वातावरणमैत्री र नवीकरणीय इन्धनको प्रवर्द्धनमा जोड दिन जरुरी रहेको उनको भनाइ छ ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाइड्रोजन नेपालले प्राकृतिक रूपबाट प्राप्त गर्न सक्ने भएकाले औद्योगिक उत्पादन र उपयोगका लागि कानुनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताए ।

कार्यक्रममा ‘कन्भर्सन’ प्रविधि उपयोग गरी इन्जिन रुपान्तरण गरिएको कारमा मन्त्री दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापा समेत सवार भई केही दुरी यात्रा समेत गरेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button