Main

दरबारमार्गमा कलाकार रमेश दुलालको काग सम्मेलन (तस्वीर)

काठमाडौं । कलाकार रमेश दुलालले दुई दशकदेखि काग सम्मेलन गर्दै आएका छन् । वर्षेनी काग तिहारमा काठमाडौं रत्नपार्क क्षेत्रमा उनले कागलाई बोलाएर सम्मेलन गर्छन् ।

अनेकौं चराचुरुङ्गीको आवाज निकाल्ने खुबी भएका दुलालले बुधबार पनि यस्तै गरे । एकाबिहानै पौने ६ बजे दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडि उभिएर उनले कागका बथान जम्मा पारे ।

राष्ट्रिय संगीतकर्मी संघको सहआयोजनामा भएको काग सम्मेलन आधा घण्टा चलेको थियो । सयौं काग आकाशमा झुम्मिएका थिए । ‘मेरा लागि कागतिहार मनाउने यो राम्रो अवसर हो । यसले चराचुरुङ्गी र वातावरण संरक्षणको सन्देश पनि दिन्छ’ दुलालले भने ।

‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ । कागलाई बोलाउँदा मलाई आपत् पर्‍यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्’ कागलाई बोलाउने शैलीबारे उनले भने ।

सोहीअनुसार कागको स्वभावअनुसार बोलाउँदा एकाबिहानै कागलाई भेला गर्न सकिएको उनले बताए । विगतमा भारतले लगाएको नाकाबन्दीविरुद्ध भारतीय दूतावास अगाडि समेत काग सम्मेलन गरेको स्मरण गर्दै उनले बुधबारको काग सम्मेलन भने नेपाली महिला फुटबल टोलीले बुधबार हुने साफ महिला फुटबल च्याम्पियनसिप जितोस् भन्ने उद्देश्यले गरिएको बताए ।

चराचुरुङ्गीसँगै दुलालले मादल, सनाई, सारंगी, पियानो, ड्रमसेट, मुर्चुङ्गा, गितार जस्ता बाजाको धुन पनि निकाल्ने गरेका छन् । गाई, भैंसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको उनले बताए । सम्मेलनमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष प्रकाश कटवाल लगायतको सहभागिता थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button