दशैंतिहार बिदाले ‘रेसुंगा पार्क’ घुम्न आउने बढे

३० असोज, गुल्मी । दशैं तिहार बिदाले गुल्मीको रेसुंगा क्षेत्रसँगै गर्जुरामा निर्माण भएको ‘रेसुंगा पार्क’ चहलपहल बढेको छ । अहिले पार्क अवलोकन गर्न दैनिकजसो सयौंको संख्या आन्तरिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो ।
रेसुंगा नगरपालिकाले सञ्चालनमा ल्याएको रेसुंगा पार्कमा पुग्ने अवलोकनकर्ताको संख्यामा वृद्धि भएको छ । गतवर्षको फागुन महिनादेखि नगरपालिकाले ४ जना कर्मचारी खटाएर पार्क सञ्चालनमा ल्याएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताए ।
पार्क भित्र भ्यूटावर, पीङ, पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चाबच्चीको लागि प्ले जोन, पिकनिक स्पोर्ट रहेको छ । त्यस्तै बीचबीचमा पैदल मार्ग (बाग्लुङबाट ल्याइएको ढुंगाबाट), शौचालय, टिकट काउन्टर, पार्किङ लगायतका निर्माणको काम भएको छ । जसले गर्दा पार्क सुन्दर र मनोरम बनेको छ ।
पार्क सञ्चालनको ८ महिनाको अवधिमा २० हजार बढीले आवलोकन गरेका छन् । जसबाट ७ लाख बढी राजस्व संकलन भएको रेसुंगा नगरपालिकाले जनाएको छ ।
पार्क सञ्चालन र संरक्षणको काम नगरपालिकाले गर्दै आएको पल्लीले बताए । पार्कसँगै जीप लाइन र साइकिलिङ निर्माणको लागि प्रक्रिया अगाडि बढेको छ । जीप लाइन र साइकिलिंङ निर्माणको काम सम्पन्न भएपछि निजी क्षेत्रमार्फत् पार्क सञ्चालन गर्न दिइने भएको छ ।
नगरपालिकाले यस आर्थिक वर्षमा पार्कबाट २० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
रेसुंगाको काखमा निर्माण भएको पार्क घुम्नको लागि अत्यन्तै रमणीय ठाउँ रहेको रुपन्देहीबाट पार्क घुम्न आएका केशव भण्डारीले बताए । उनले पार्क रेसुंगा क्षेत्रको महत्वलाई थप उजागर गरेको बताए ।
पार्कसँगै गर्मी सिजनमा पनि यहाँको सितल हावा पानीले निकै आनन्दित बनाउने उनको भनाइ छ । पार्क प्रवेश शुल्क विदेशी नागरिकका लागि १ सय ५० रुपैयाँ, नेपाली नागरिकका लागि ५० र ज्येष्ठ नागरिक साथै विद्यार्थीको लागि २५ रुपैयाँ तोकिएको छ ।
पार्कको ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाँको लागतमा निर्माण भएको हो । पार्क क्षेत्र ३.९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिनेटको गाडीको यात्रापछि पार्कमा पुग्न सकिन्छ ।
त्यस स्थानसम्म पुग्ने मोटरबाटो समेत कालोपत्रे भएको छ । तम्घास आउने पर्यटकलाई रेसुंगासम्म जाने क्रममा बीचमा थप आकर्षक बढाउनका लागि रेसुंगा पार्क बनाइएको हो ।
रेसुंगा नगरपालिकाले ‘जाउ हिँड रेसुंगा’ अभियान पनि चलाएको छ । सोही अभियानकै कारणले रेसुंगा र पार्क घुम्न जानेको संख्यामा वृद्धि हुँदै आएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।