किन बढिरहेको छ सुनको भाउ ?

२० फागुन, काठमाडौं । ३ फागुनमा तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँ रहेको सुन १७ दिनपछि आज आइतबार १ लाख २१ हजार रुपैयाँ पुगेको छ । १७ दिनमा सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको छ । सुनको मूल्य उतारचढाव हुनुमा नेपालको कुनै पनि भूमिका रहन्न । अन्तर्राष्ट्रिय बजारमा दिनभर हुने कारोबारपछि अन्तिम मूल्य जति कायम हुन्छ, त्यसकै आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा मूल्य निर्धारण गर्ने हो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एकै दिन प्रतिऔंस १.८७ प्रतिशतले बढेर प्रतिऔंस २०८२ अमेरिकी डलर कायम भयो । जसले गर्दा नेपाली बजारमा आइतबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ सुनको मूल्य बढ्यो । शनिबार सार्वजनिक विदा हुने भएकाले नेपालमा मूल्य समायोजन गरिँदैन । शनिबार र महत्वपूर्ण सार्वजनिक विदाबाहेक हरेक दिन बिहान ११ बजे आसपासमा नेपालमा मूल्य समायोजन गर्ने गरिएको छ ।
अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले मूल्य निर्धारण हुन्छ । सुनको माग र आपूर्तिलाई भने धेरै विषयले असर पार्छ । केही मुख्य विषय : अमेरिकासहित शक्तिशाली मुलुकहरुको ब्याजदर घटबढ, ती मुलुकको स्टक मार्केट घटबट, बिजनेस विस्तार तथा रोजगारी घटबढ, ती मुलुकको अर्थतन्त्र चलायमान र अन्तर्राष्ट्रिय द्वन्द्व हुन् ।
यतिबेला यिनै अधिकांश विषयका कारण सुनको मूल्य बढेको व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार अहिले यी सबै अवस्थाले प्रभाव पारेको छ, जसले गर्दा मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढ्ने अनुमान गर्न थालिएको छ ।
‘अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक)ले सन्दर्भ ब्याजदर घटाउने खुलासा गरिसकेको छ, जसले गर्दा शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य धेरै बढ्यो र आइतबार नेपाली बजारमा प्रभाव पर्यो,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले भने ।
हाल फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर न्यूनतम ५.२५ देखि अधिकतम ५.५० सम्मको सीमा तोकेको छ । जुन दर २३ वर्षयताकै उच्च हो । उपभोक्ता मूल्यवृद्धि २ प्रतिशतमा झार्ने रणनीतिअनुसार बैंकले बढाएको ब्याजले अर्थपूर्ण रुपमा काम गरिरहेको छ । हाल मूल्यवृद्धि दर ३ प्रतिशतमुनि झरेकाले बैंकले ब्याजदर घटाउने जनाइसकेको छ । ‘जब अमेरिकी केन्द्रीय बैंकले ब्याज घटाउँदै त्यसले सुनतिर लगानी मोडिन जान्छ र माग बढ्न जान्छ’ शाक्यले भने ।
त्यस्तै अन्तर्राष्ट्रिय व्यावसायिक स्थिति साँघुरिएको र लगानी सुरक्षाका लागि सुन छनोटमा पारेको उनले बताए । ‘विश्वका धेरै मुलुकको आर्थिक वृद्धिदर खुम्चिएको अवस्था छ, विभिन्न प्रक्षेपणले पनि तत्काल सुधार हुने आधार देखाएका छैनन्, त्यसले गर्दा व्यवसाय विस्तारभन्दा पनि लगानी सुरक्षाका लागि अहिले धेरैको रोजाइ बनेको छ,’ उनले भने ।
अन्तर्राष्ट्रिय द्वन्द्व एकातिर कायम रहनुले पनि सुन बजारलाई असर पार्ने शाक्य बताउँछन् । अमेरिका र चीनबीच व्यवसायिक द्वन्द्व कायमै छ । रुस र युक्रेन तथा इजरायल र हमासको द्वन्द्वले पनि सुनको मूल्य बढाउन भूमिका खेलेको व्यवसायीको भनाइ छ ।
सुनको मूल्य कतिसम्म पुग्ला भन्नेमा कसैले अनुमान गर्न सक्दैनन् । तर मूल्य बढ्न सक्ने आधार र घट्न सक्ने आधारलाई केलाउँदा मूल्य बढ्ने आधारहरु बलियो रहेको शाक्य बताउँछन् । शुक्रबार अन्तर्राष्ट्रिय बजार बन्द हुँदा मूल्य प्रतिऔंस २०८२ डलर पुगेको छ । १ औंस बराबर २८.३५ ग्राम हुन्छ । ११.६६ ग्राम बराबर १ तोला हुन्छ । अर्थात् १ औंस बराबर २.४३ तोला हुन्छ । यस आधारमा अन्तर्राष्ट्रिय बजारअनुसार र हालको मुद्रा विनिमयदरअनुसार १ तोला सुनको मूल्य १ लाख १३ हजार ९१० रुपैयाँ पर्छ ।
तर नेपालमा कर समायोजन गर्दा सोही मूल्य १ लाख २१ हजार रुपैयाँ हुन आउँछ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने अनुमान शाक्यले गरे । ‘अहिले सुनको मूल्य बढ्ने आधारहरु धेरै मजबुत बनेका देखिन्छन्, त्यसकारण मूल्य अझै केही बढ्न सक्छ, तर यति नै पुग्छ भनेर त भन्न सकिँदैन,’ उनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।