दीपेन्द्र र सोमपालको उत्कृष्ट ब्याटिङमा नेपालले भोलक्यानोजलाई हरायो

२ जेठ, काठमाडौं । टी-२० विश्वकपको तयारीका लागि भएको अभ्यास खेलमा नेपालले विनवार्ड्स भोलक्यानोजलाई पराजित गरेको छ ।
अभ्यासका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले सोमबार राति भएको खेलमा भोलक्यानोजलाई चार विकेटले पराजित गरेको हो ।
घरेलु टोली भोलक्यानोजले पार्क हिल मैदानमा दिएको १९७ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर १९.३ ओभरमै भेटाएको हो ।
खेल जिताउन दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले महत्वपूर्ण योगदान गरे । जितका लागि अन्तिम दुई ओभरमा नेपाललाई ३८ रन आवश्यक थियो । त्यस अवस्थामा दीपेन्द्रले अघिल्लो ओभरमा चार छक्का मद्दतमा २६ रन थपेर खेललाई सहज अवस्थामा फर्काए ।
र, अन्तिम ओभरमा सोमपालले लगातार एक छक्का, २ रन र एक चौका प्रहार गरेपछि नेपाल तीन बल बाँकी हुँदै लक्ष्य भेटाउन सफल भयो ।
नेपालका ओपनर कुशल भुर्तेलले ७० बनाए । दीपेन्द्रले ५२, सोमपालले ३२ र आशिफ शेखले २६ रनको योगदान गरे । नेपालका अघिल्लो क्रमका अन्य ब्याटर अनिलकुमार साह, रोहित पौडेल, सन्दीप जोरा र गुलशन झाले भने राम्रो गर्न सकेनन् ।
नेपालले भोल्क्यानोजसँगै थप २ थप अभ्यास खेल खेल्नेछ । नेपालले सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा विश्वकपका २ खेल पनि खेल्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।