Main

‘दुःख साटम्ला’ र दुई के-पपसहित यी हुन् १० ट्रेन्डिङ गीत

काठमाडौं । दशैं सकिएपछि युट्युबको नेपाल ट्रेन्डिङमा गीतहरुको हेरफेर सुरु भएको छ । तिहार सुरु हुन एक साताभन्दा कम समय बाँकी रहँदा विभिन्न जनराका गीत ट्रेन्डिङमा छन्, यसले खाली समयमा संगीतप्रेमीको रुचिलाई दर्शाउँछ ।

म्युजिक खण्डतर्फको शीर्ष स्थानमा अर्जुन सापकोटाको गीत ‘दुःख साटम्ला’ स्ट्रिमिङ भइरहेको छ । अर्जुनको संगीत, सन्तोष सापकोटाको शब्द तथा देवी घर्ती, समीक्षा अधिकारी र अर्जुनकै स्वर रहेको यो गीत तीन दिनअघि रिलिज भएको थियो ।

दुःख साटम्ला, सुख साटम्ला

अब जिन्दगी सँगै साटम्ला..’

यो गीतलाई झण्डै ८ लाख पटक हेरिएको छ । प्रेमी-प्रेमिकाले मायामा गर्ने प्रतिबद्धतालाई मर्मस्पर्शी ढंगले कम्पोज गरिएको यो गीत केही दिनमै ट्रेन्डिङमा उक्लिएको हो ।



यो साताको ट्रेन्डिङको शीर्ष १० मा दुई के-पप गीत छन् । यी दुवै गीत ब्ल्याकपिंकका दुई सदस्यका एकल गीत छन् । रोजी र ब्रुनो मार्सको ‘एपिटी’ नेपाल ट्रेन्डिङको दोस्रो स्थानमा छ ।

गत साता प्रिमियर भएको यो गीतको भिडियो पनि उत्तिकै रोमान्टिक छ जहाँ रोजी र ब्रुनो मार्स फिचर्ड छन् । नेपालमा रोजीलाई पछ्याउने युवाको संख्या निकै छ । यो गीतको कमेन्टमा समेत नेपाली प्रशंसकको प्रतिक्रिया समावेश छ ।



उर्गेन दोङको ‘दशैं लाग्यो’ ट्रेन्डिङको तेस्रो स्थानमा छ । दशैं अवधिभर शीर्षस्थानमा रहेको यो गीत ट्रेन्डिङमा तल झर्ने क्रममा छ । चौथो स्थानमा टी–सिरिजको हिन्दी गीत ‘सजना भे सजना’ छ । डान्सिङ ट्रयाक शैलीको गीतको भिडियोमा राजकुमार राव, शहनाज गिल, तृप्ति, सुनिधि चौहान फिचर्ड छन् ।

पाँचौं स्थानमा फिल्म ‘१२ गाउँ’को गीत ‘यो मनले’ स्ट्रिमिङ भइरहेको छ । विराज भट्ट र न्यान्सी खड्का फिचर्ड यो रोमान्टिक गीत समावेश फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ ।



त्यसपछि क्रमशः सदीक्षा चौधरीको नयाँ आइटम गीत ‘लारंगी लड्की’, वाङ्देन शेर्पाको ‘टाढा टाढा’, सज्जनराज वैद्यको ‘९८४१’ र के–पप ब्याण्ड ब्ल्याकपिंककी अर्की सदस्य जेनीको एकल गीत ‘मन्त्र’ पनि उत्कृष्ट १० भित्र स्ट्रिमिङ भइरहेका छन् ।

ट्रेन्डिङको उत्कृष्ट १० भित्र दुई के–पप गीत समेटिनुले नेपालका युट्युव प्रयोगकर्ताबीच यसको लोकप्रियतालाई बुझ्न सकिन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button