देउवा पक्षमा लागेपछि ढुंगानालाई लाभै लाभ

११ माघ, जनकपुरधाम । मधेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएपछि कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले पाँचौ पटक संसदीय यात्राको थालनी गरेका छन् ।सत्तारुढ गठबन्धन समर्थन पाएका ढुंगानाले ७ हजार ३७० मतभार पाए भने उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी विजेता झाले २ हजार ४८४ मतभार पाइन् ।
निर्वाचित भएपछि ढुंगानाले संघीयता बलियो बनाउन भूमिका खेल्ने बताए । ‘राष्ट्रियसभा मार्फत संघीयता बलियो बनाउन काम गर्छौं, संघीय निजामती ऐन र प्रहरी ऐन अनिवार्यरुपमा पास गराउँछौं’ उनले संकल्प गरे ।
चार पटक सांसद भइसकेका ढुंगाना २०७४ को प्रतिनिधिसभा चुनावमा धनुषा-१ मा नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादवसँग पराजित भएका थिए ।ढुंगानाले २०४८ सालदेखि नै संसदीय यात्रा तय गरेका थिए । उनले धनुषा क्षेत्र नं ३ बाट २०४८, २०५१ र २०५६ सालको चुनाव जिते ।
२०६४ सालको संविधानसभा निर्वाचनमा पराजित ढुंगाना २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक पद्धतिबाट सांसद बने ।
२०७४ मा प्रतिनिधिसभामा हार बेहोरेका उनले २०७९ मा भने टिकट नै पाएनन् । उनले धनुषा १ बाटै उम्मेदवार हुन चाहेका थिए, तर कांग्रेस–माओवादीसहितको गठबन्धनमा यो क्षेत्र माओवादीको भागमा परेपछि उनले टिकट पाएनन् । यो क्षेत्रमा माओवादीक मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित भए ।
हाल कांग्रेसको अनुशासन आयोगका अध्यक्ष ७३ वर्षीय ढुंगानाले २०२५ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति थालेका थिए ।
तत्कालिन राजा महेन्द्रको ५२ औं जन्मदिनमा जानकी मन्दिर अगाडि उत्सव भइरहँदा ढुंगानासहितको टोलीले कालो झण्डा देखाएपछि उनीविरुद्ध राजकाज राजकाज मुद्दा चलाइयो । त्यस मुद्दामा उनी एक वर्ष जेल परेका थिए ।
१२ वर्षसम्म कांग्रेसको धनुषा जिल्ला सचिव भएका ढुंगाना २०४४ सालमा जिल्ला सभापति बन्न सफल भए भने २०४६ सालको आन्दोलनमा उनी जनकपुर अञ्चलका कमाण्डर बने ।
आन्दोलनको क्रममा पक्राउ परेर तीन महिना जेल बसेका ढुंगाना गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पहिलो पटक २०५५ सालमा पर्यटन तथा आपूर्ति मन्त्री बने । पछि उनी वनमन्त्रीसमेत भए ।
२०४८ मा तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराई खेमामा रहेका ढुंगानाले २०५६ सालमा कित्ता फेरेर गिरिजाप्रसाद कोइरालाको पक्षमा लागे । सुशील कोइराला पार्टी सभापति हुँदासम्म ढुंगाना कोइराला पक्षमा नै थिए । कोइरलाका निधनपसिछ भने उनी हालका सभापति शेरबहादुर देउवाको पक्षमा लागे ।
‘सुशील कोइरालाको निधनपछि कोइराला पक्ष कमजोर भयो । ढुंगानाले कित्ता फेरेर देउवा पक्षमा जाँदा उहाँले पटक पटक उपहार पाइरहनुभएको छ’, कांग्रेसका एक नेताले भने ।
देउवा पक्षमा लागेपछि उनले पार्टीभित्र धेरै लाभ पाएका छन् । १४ औं महाधिवेशनमा उनी मधेश प्रदेशबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भए । १४ औं महाधिवेशनपछि नै अनुशासन आयोगको अध्यक्ष बनेका उनी अहिले राष्ट्रिय सभा सदस्य समेत बने ।
राष्ट्रियसभा उम्मेदवार चयनका क्रममा देउवाले मधेशमा उनलाई रोजेपछि पार्टीभित्र विरोध भएको थियो । मधेशबाट मधेशी समुदायकै व्यक्ति उम्मेदवार बन्नुपर्ने भन्दै महामन्त्री गगन थापाले निर्णयमा फरक मत नै लेखेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।