देशभरका धर्मकाँटा डिजिटलाइजेसन गरिँदै, धार्केबाट सुरु
४ मंसिर, काठमाडौं । सवारीसाधनको ओभरलोड नियन्त्रणमा प्रयोग हुने धर्मकाँटालाई अत्याधुनिक प्रविधियुक्त बनाउन थालिएको छ ।
मंगलबार धादिङको धार्केमा आयोजित एक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले संयुक्त रूपमा धर्मकाँटा डिजिटलाइजेसनको सुभारम्भ गरे ।
धर्मकाँटालाई अहिले महासंघले व्यवस्थापन गरिरहेको छ । धर्मकाँटाको डिजिटल रुपान्तरणले ओभरलोड नियन्त्रणमा मद्दत पुग्ने विश्वास महासंघको छ ।
धर्मकाँटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यस्तो प्रयास थालिएको महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए ।
उनले डिजिटलाइजेसनले धर्मकाँटाको सञ्चालन पारदर्शी बनाउने र ओभरलोड नियमन प्रभावकारी हुने बताए ।
देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी रहेको महासंघले जनाएको छ । हाल देशभर २१ वटा धर्मकाँटा सञ्चालनमा छन् ।
महासंघका अनुसार ती सबै धर्मकाँटालाई क्रमशः डिजिटल बनाइँदैछ । डिजिटलाइजेसनपछि ओभरलोडको डेटा र ट्रकहरूको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ ।
कार्यक्रममा मन्त्री दाहालले डिजिटल धर्मकाँटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । यस कदमले व्यवसायीलाई समेत जिम्मेवार बनाउने र यात्रु तथा मालसामानको सुरक्षित ढुवानी सुनिश्चित गर्ने बताए ।
धर्मकाँटाको डिजिटलाइजेसनले सडक संरचनाको दीर्घकालीन संरक्षणमा मद्दत पुर्याउने र ओभरलोडका कारण हुने दुर्घटना तथा सडक बिग्रिने समस्या कम गर्ने अपेक्षा महासंघको छ ।
महासंघले डिजिटल धर्मकाँटाबाट तत्कालै लाभ प्राप्त हुने र अन्य क्षेत्रमा पनि डिजिटल रुपान्तरणलाई प्राथमिकता दिने योजना बनाएको बताएको छ ।
दुर्घटना न्यूनिकरणदेखि नियमनकारी निकायहरू ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र व्यवसायीलाई आफ्नो सवारी साधनले के कति भारवहन गरेको छ भन्ने विषयमा समेत जानकारी दिने महासचिव बानियाँले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।