ललिता निवास प्रकरणको फैसलापछि गृहमन्त्रीले भने– सबै नेपालीलाई बधाई, न्यायाधीशलाई धन्यवाद

४ फागुन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले ऐतिहासिक फैसला गरेको भन्दै सबै नेपाली जनतालाई बधाई दिएका छन् । साथै उनले विशेष अदालत र न्यायाधीशहरुलाई धन्यवाद पनि भनेका छन् ।
विहीबार विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा व्यक्ति र संस्थाका नाममा रहेका जग्गा सरकारको हुने फैसला गरेको थियो । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्व सचिव छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला पनि गरेको छ ।
विशेष अदालतको यो फैसलालाई गृहमन्त्री श्रेष्ठले ऐतिहासिक भनेका छन् । ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो । सबै नेपाली जनतालाई बधाई छ,’ गृहमन्त्री श्रेष्ठले सामाजिक सन्जालमा लेखेका छन्, ‘जालसाजÞी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रियाविरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्यो । विशेष अदालत र न्यायाधीशहरुप्रति हार्दिक आभार र धन्यवाद ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।