धर्म निरपेक्षता हटाएर संविधानमा ‘धर्म राष्ट्र’ लेखौंः दिनेश कोइराला

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले संविधानमा धर्म निरपेक्षता हटाएर संविधानमा ‘धर्म राष्ट्र’ लेख्नुपर्ने बताएका छन् ।
संविधानमा धर्म बारे लेख्न आवश्यक नभएको उल्लेख गर्दै कोइरालाले भारतको संविधानमा पनि सुरुमा धर्म बारे नलेखिएको दाबी गरे । ‘भारतमा धर्म निरपेक्षता पछि थपिएको हो । नेपालमा नलेख्नु लेखिसकियो, अब सच्याउनुपर्छ,’ कोइरालाले पार्टी बैठकमा भने ।
धार्मिक बहुलता नेपालको विशिष्ट विशेषता रहेको उल्लेख गर्दै कोइरालाले बहुधर्म मान्ने विश्वको विलक्षण समाज नेपाल भएको बताए । धर्म निरपेक्षता भएपछिका दिनमा हिन्दू राष्ट्रको माग उठ्न थालेको कोइरालाले बताए । धर्म र धर्म निरपेक्षताबारे भ्रमपूर्ण मान्यता स्थापित गरिएको कोइरालाको दाबी छ ।
‘युरोपको सेक्युलारिजमलाई धर्म निरपेक्षता भनेर अनुवाद गर्नु नै गलत थियो,’ पार्टी बैठकमा कोइरालाले भने । मौलिक हक धर्मको एक अंग भएको उल्लेख गर्दै कोइरालाले संविधानमा धर्म निरपेक्षता लेख्नु गलत भएको बताए ।
विभिन्न धर्मालम्बी रहेकाले नेपाल धर्म निरपेक्ष राष्ट्र लेख्न अनुपयुक्त हुने तर ‘नेपाल धर्म राष्ट्र’ लेख्न सकिने कोइरालाको विचार छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।