धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण, मुक्तिनाथ र नवराजको नाम सिफारिस
९ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको स्रोतले बतायो ।
स्रोतका अनुसार सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा उनीहरूलाई सिफारिस गरेको हो ।
आइतबार मात्रै बोर्डका निवर्तमान कार्यकारी निर्देशक अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । सर्टलिस्टमा परेका अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित रहे ।
यसअघि दुई उम्मेदवार सन्तोषनारायण र मुक्तिनाथले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए ।
सिफारिस समितिबाट सिफारिस भएका तीनै जनाको नाम अध्यक्ष नियुक्तिका लागि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्ने सम्भावना छ । मन्त्रिपरिषद् बैठकले उनीहरूमध्ये एक जनालाई नियुक्त गर्नेछ ।
धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ । यसअघि सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन ।
नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहनेगरी अर्को सिफारिस समिति बनाएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।