‘नदीको राजमार्ग’ हुँदै फेरि आइपुगे दीपक

२७ माघ, पोखरा । चोटिला मुक्तक र प्रभावशाली गजल लेखनमा जमेका दीपक समीप ‘नदीको राजमार्ग’ हुँदै फेरि पोखरेली साहित्य पारखीमाझ उपस्थित भएका छन् ।
५० को दशकमै राष्ट्रिय लघुकथा पुरस्कार जितेका साहित्यकार दीपकले ३ दशकपछि लघुकथा प्रकाशन गरेर पोखराबाट नेपाली साहित्यमा अर्को इटा थपेका हुन् ।
गत माघ १३ गते काठमाडौंमा विमोचन भएको समीपको लघुकथा संग्रह नदीको राजमार्ग शनिबार पोखरामा गृह विमोचन गरिएको छ । साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचन, हरिदेवी कोइराला, सरस्वती प्रतीक्षाले कृतिको गृह लोकार्पण गरे ।
गजल, मुक्तकमा बढी कलम चलाइरहेका समीपले लघुकथामा राष्ट्रिय पुरस्कार जितेको ३३ वर्षपछि संग्रह ल्याएको साहित्यकार जीवनसागर भण्डारीले बताए । सामाजिक विषयवस्तुलाई टपक्क टिपेर चोटिलो प्रहार गर्ने समीप लघुकथामा पनि उस्तै वैचारिक र समसामयिक रुपमा तिखारिएको लेखकका रुपमा भण्डारीले चिनाए ।
कृतिमाथि आफ्नो धारणा राख्दै साहित्यकार सरस्वती प्रतीक्षाले लेखक लघुकथाहरुमा एकै रुप र एकै स्वरुपमा देखा नपरेको बताउँदै अभिव्यक्तिमा विविधता समीपको विशेषता भएको बताइन् । उनी कहीँ सांगीतिक रुपमा त कहीँ विम्बात्मक रुपमा पोखिएको सरस्वतीको भनाइ थियो ।
राम्रो लघुकथामा एउटा एउटा आख्यान लुकेको हुने बताउँदै प्रतीक्षाले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा देखा परेका संगतिहीनतालाई उनले राम्रोसँग केलाएको बताइन् ।
‘दीपक समीप अर्थात एक सामाजिक यथार्थवादी लघुकथाकार । समाजका घटनाप्रधान कथाहरु र चरित्र प्रधान कथाहरु टिप्ने क्रममा समाजकै प्रतिविम्व जस्ताकोतस्तै देखिनु स्वभाविक नै हो,’ प्रतीक्षाले भनिन्, ‘आफूले बाँचिरहेको समाज नै त्यस्तै भएर होला, मानवीय उच्चताका कथाहरुभन्दा मानवीय निचताका कथाहरु असरल्ल छन् ।’ सिंगो संग्रहभरि कुनै पनि कथा जटिल लाग्ने खालको नरहेको उनको भनाइ थियो ।
लघुकथाको बलियो प्रभाव छोडेपनि लेखक समीपले अझै नवीनताका लागि कम मिहिनेत गरेको पनि उल्लेख गरिन् । अर्का समीक्षक ईश्वरमणि अधिकारीले नदीको राजमार्ग मनमोहक र कुनै दुर्घटनाको संकेत नरहेको कृतिका रुपमा चिनाए ।
क्रमशःबाट सुरु भएको नदीको राजमार्गको यात्रा सन्तापमा पुगेर रोकिने र पहिलो कथाले नै पाठकलाई झट्का दिने अधिकारीको भनाइ थियो । कथा सकिएपछि पनि कथाको प्रभाव पछिसम्म छाडिरहन सक्ने क्षमता कथाकारले देखाएको अधिकारीले बताए ।
प्रख्यात साहित्यकार सरुभक्तले नदीको राजमार्ग लिएर आएका समीपले आफूलाई अब्बल सावित गरेको बताए । कुनै पनि आख्यान वा लामा कथाको छोटो रुप लघुकथा नहुने भन्दै समीपले लघुकथा लेखनमा पूर्ण आख्यानको आभास दिलाएको बताए । अर्का साहित्यकार तीर्थ श्रेष्ठले समीप मुक्तक, गजलजस्तै कथा पनि चोटिलो हिसाबले लेख्न सक्ने प्रतिभा भएको बताए ।
लेखक समीपले पचासको दशकको सुरुआतदेखि ३ दशकसम्मको साहित्य लेखनका अनुभवपछि बल्ल लघुकथा संग्रह नदीको राजमार्ग प्रकाशन गरेको बताए । समाजकै दृश्यलाई कथामा उतारेको बताउँदै समीपले पाठकका हरेक प्रतिक्रिया आफ्ना लागि स्वीकार्य रहेको सुनाए ।
कृतिमा ६६ लघुकथा छन् । समीपको यो तेस्रो कृति हो । यसअघि उनका भूगोलभित्र नकोरिएको देश (गजलसङ्ग्रह, २०६२) र अक्षर अक्षरमा देश (मुक्तकसङ्ग्रह, २०७८) प्रकाशित छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।