Main

म पनि वीपी कोइरालाको समर्थक थिएँ : भट्टराई

३० जेठ, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पहिले आफू वीपी कोइरालाको समर्थक भएको बताएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘कांग्रेसका साथीहरूलाई म धन्यवाद दिन चाहन्छु । म त्यसैको उपज हो । म पनि वीपी कोइरालाको समर्थक थिएँ । कांग्रेसले राजालाई मान्न थालेपछि मैले छोडेको हो । पछि कम्युनिष्ट पार्टीमा लागेकै हो ।’

राजतन्त्रको अन्त्य गर्ने संकल्प लिएकाले कम्युनिस्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको भट्टराईले बताए ।

उनले भने, ‘स्टालिनवादी ढाँचा मलाई सुरुदेखि मन नपरेको हो । मैले त्यसको मोहनविक्रमजीको पालादेखि विरोध गरेको छु । तर त्यहाँ किन लागेँ भने कमसेकम राजतन्त्र अन्त्य गर्ने, सामन्तवाद अन्त्य गर्ने कुरा गर्दथ्यो । त्यसैले म लागेँ । जब त्यो कुरा भयो, त्यसपछि मैले छोडेँ । कुरा सिधा यही हो नि ।’

भट्टराईले अर्को प्रसंगमा कुर्सीका लागि भारतसँग लम्पसार पर्नेहरूले आफूलाई नरुचाएको बताएका छन् । उनले भारतसँग लम्पसार पर्नेहरूले नै आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाए ।

‘भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि प्रबुद्ध व्यक्तिको समूह (ईपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर मैले सुरु गरेको हुँ,’ उनले भने, ‘यस्तो विषय उठाउने बाबुराम भट्टराईलाई गलत आरोप लगाएर कुर्सीका लागि भारतसँग लम्पसार पर्ने राष्ट्रवादी कहलिएका छन् ।’

अध्यक्ष भट्टराईले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नका लागि पनि मुलुकमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताए ।

अध्यक्ष भट्टराईले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन जनलोकपाल गठन गरेर अघि बढनुपर्ने प्रस्तावसमेत गरेका छन् ।

दलहरूले आफ्नो मान्छेलाई नियुक्त गर्ने भएकाले विद्यमान अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरूले भ्रष्टाचारको अन्त्य गर्न नसक्ने उनको जिकिर छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button