Main

नयाँ गठबन्धनबारे शेखर कोइरालाको टिप्पणी : यो घटना सामान्य होइन

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सत्ता समीकरण सामान्य घटना नभएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबारमात्रै कांग्रेससँगको गठबन्धन तोडेर एमाले-रास्वपालगायत दलसँग गठबन्धन गरेपछि नेता कोइरालाले यसलाई असामान्य घटनाको रुपमा टिप्पणी गरेका हुन् ।

‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन,’ मंगलबार बिहान उनले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन् ।

उनले प्रधानमन्त्री प्रचण्ड अस्थिर, माओवादी कमजोर र सत्ताको लागि जे पनि गर्न तयार पार्टी भएकोले कांग्रेसलाई महँगो परेको बताएका छन् ।

उनले सत्ता गठबन्धन बन्नु र तोडिनुमा कांग्रेस पनि जिम्मेवार रहेको बताउँदै भविष्यका लागि सजग हुनुपर्ने बताएका छन् । ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि? भविष्यको लागि सजग बनौं,’ उनले भनेका छन् ।

सत्ता गठबन्धन भत्किनुको आधिकारिक धारणा भने कांग्रेसले आजको कार्यसम्पादन समितिको बैठकपछि मात्रै सार्वजनिक गर्ने बताएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button