Main

नयाँ गीतबारे यशकुमार भन्छन्- यसले जातिय अहमताविरुद्ध सामाजिक चेतना जगाउँछ

काठमाडौं । गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को सांगीतिक भिडियो सार्वजनिक भएको छ । मंगलबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रशंसा गरे ।

‘यो गीत हेरेपछि मलाई असहज पनि भयो । किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ । यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ’, मन्त्री किरातीले भने, ‘यसलाई मनोरञ्जनको रुपमा मात्र लिनुहुँदैन । यसले समाज सुधार्न भूमिका निर्वाह गर्नुका साथै कुल गार्हस्थ उत्पादनमा समेत टेवा दिन्छ ।’

उनले मनाङ र मुस्ताङमा पर्यटक बढ्नुमा नेपाली गीतसंगीत र सिनेमाको योगदान रहेको भन्दै यसलाई उद्योगको रुपमा विकास गर्न सके राम्रो हुने बताए । सरकारले लक्ष्य राखेअनुसार दश लाखभन्दा बढी पर्यटक सन् २०२३ मा नेपाल भित्रिएको जानकारी दिदै मन्त्री किँरातीले संगीत र सिनेमासँग जोडिएका सर्जकलाई धन्यवाद दिए ।

मन्त्री किराँतीले गायक यश कुमारको जीवनीसँग उक्त गीत प्रभावित भएको जानकारी गराउदै अरुका लागि उदाहरण बन्ने जिकिर गरे । यश कुमारले बाल्यकालमा खोला किनारको बस्तीमा बालुवा चालेर जीविकोपार्जन गरेको स्मरण गर्दै मन्त्री किँरातीले उनको प्रसंशा गरे ।

गायक यश कुमारले गीत संगीतको माध्यमले मनोरञ्जनसँगै सन्देश प्रभाव गर्न खोजेको बताए ।

‘मैले सुरुआतदेखि नै संगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यही अनुरुप सिर्जना गरिरहेको छु । यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छुु, यश कुमारले भने । सार्वजनिक गीतको भिडियोमा यशसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन् ।

आफुले यो गीतमा ब्राम्हण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको प्रेम बुनेर म्युजिकल सिनेमा निर्माण गरेको बताए ।

गायक यशले यो गीतलाई आफूले मौलिक र टिपिकल देखाउन लिम्बु समुदायको बोलीचालीको भाषा प्रयोग गरेकाले यसलाई दर्शकले अश्लिल शब्दको रुपमा बुझेर गाली नगरी दिन आग्रह समेत गरे ।

तस्वीर सौजन्य : सुरेन्द्र थापा

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button