नागढुंगाको पहिरो पन्छाए पनि गाडीको जाम उस्तै

२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा नजिक खसेको पहिरो पन्छाइए पनि सवारी आवागमन भने अझै सहज हुन सकेको छैन ।
सो सडकखण्डमा दुवैतर्फ सवारी साधनहरुको लामो जाम छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंतर्फ वाणभञ्ज्याङसम्म सवारी साधनको लाइन छ ।
पहिरो पन्छाइसके पनि सुरुङमार्ग नजिकको स्याउले भन्ने स्थानमा एउटा ट्रक बिग्रिएकाले सवारी आवागमन सहज हुन नसकेको प्रहरीले जनाएको छ ।
नागढुंगा प्रहरीका अनुसार बिग्रिएको ट्रक सडकमै रोकिएकाले सवारी आवागमन एकतर्फी छ । त्यसैले सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाउने गरिएको छ । सडक एकतर्फी भएको र गाडीहरु पालैपालो गन्तव्यतर्फ पठाउनु परेकाले जाममा बस्नुपर्ने बाध्यता छ ।
हिजो नागढुंगा मन्दिर नजिक पहिरो खसेपछि मध्यरातसम्म गाडीहरुको जाम थियो । त्यो पहिरो भने आज बिहानपख पन्छाइसकिएको नागढुंगा प्रहरीले जनाएको छ । तर पटक-पटक सडक भत्किने र गाडी बिग्रिने गर्दा सडक यात्रा कष्टकर हुने गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।