सार्वजनिक यातायातमा ‘संगीतको लाइसेन्स’ चेकजाँच जगातीबाट सुरु

काठमाडौं । आइतबारदेखि सार्वजनिक यातायातमा संगीत बजाउन आवश्यक अनुमतिपत्र (लाइसेन्स)को चेकजाँच सुरु भएको छ । काठमाडौंबाट बाहिरिने नाकामा जाँच सुरु भएको संगीत रोयल्टी संकलन समाजले जनाएको छ ।
भक्तपुरको जगाती नाकाबाट चेकजाँच सुरु भएको छ । गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय भक्तपुर र ट्राफिक प्रहरीको समन्वयमा चेकजाँच सुरु गरिएको समाजका महासचिव बद्री पाण्डेले बताए ।
समाजका प्रतिनिधिहरु बिहानैदेखि संगीत लाइसेन्सको चेकजाँचमा खटिएका छन् । ट्राफिक प्रहरीले पनि यसमा सघाइरहेको छ । ‘हामीले लाइसेन्स लिएका गाडीमा हरियो स्टिकर टाँसेका छौं । नभएका सार्वजनिक यातायातका साधनलाई केही दिनभित्रै लाइसेन्स लिन रसिद थमाएका छौं’ पाण्डेले भने ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरको समन्वयमा उपत्यकाबाट बाहिरिने सबै नाकामा संगीतको लाइसेन्स चेकजाँच हुने समाजले जनाएको छ । केही दिनमा थानकोट लगायतका नाकामा समेत चेकजाँच गर्ने तयारी छ । ‘अब चेकिङ कार्य निरन्तर हुन्छ’ महासचिव पाण्डेले भने ।
समाजले दशैंलगत्तै अनामनगर क्षेत्रका विद्यालय र रेस्टुरेन्टमा समेत स्टिकर टाँसिरहेको छ । यसै वर्षभित्र देशभर रोयल्टी संकलन अभियानलाई पुर्याउने समाजको योजना छ ।
‘सार्वजनिक स्थललाई कानुनअनुसार रोयल्टीको दायरामा ल्याउने र सर्जकको अधिकारलाई संरक्षण गर्ने हाम्रो उद्देश्य हो’ पाण्डेले भने । रोयल्टी नतिरी सार्वजनिक प्रयोग गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ ले तोकेको कसुरको मात्राअनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
दोस्रो पटकदेखि पटकैपिच्छे २० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । गलत कार्यमा प्रयोग भएका सामग्री जफत गर्ने एवं नोक्सानी बापतको क्षतिपूर्ति भराउने समेत कानुनी व्यवस्था छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।