Main

‘नारायण रायमाझी सांगीतिक साँझ’को भिडियो सार्वजनिक

काठमाडौं । लोकगायक नारायण रायमाझीको सांगीतिक साँझको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।  संगीतकार तथा फिल्म निर्देशक समेत रहेका गायक रायमाझीको गत भदौमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एकल सांगीतिक साँझ भएको थियो ।

त्यसको आठ महिनापछि मंगलबार रायमाझीको जन्मदिनको अवसर पारेर दोहोरीगीत प्रतिष्ठानले सांगीतिक साँझको भिडियो उपहारस्वरूप उनलाई प्रदान गरेको हो । सार्वजनिक भिडियोको रनटाइम २ घण्टा २३ मिनेट छ ।

सांगीतिक साँझमा रायमाझीले आफ्ना कालजयी गीत प्रस्तुत गरेका थिए । अन्य गायक-गायिकाले पनि उनलाई साथ दिएका थिए । सांगीतिक साँझमा प्रत्यक्ष उपस्थित हुन नसकेका दर्शकलाई लक्षित गरेर भिडियो ल्याइएको प्रतिष्ठानले जनाएको छ ।

२०४२ सालदेखि सांगीतिक क्षेत्रमा सक्रिय रायमाझी फिल्म निर्देशकका रूपमा समेत परिचित छन् । उनी निर्देशित फिल्म ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ ले राम्रो व्यापार गरेका थिए । ‘परदेशी २’ गत वर्ष प्रदर्शनमा आएको थियो । रायमाझी यतिबेला नयाँ फिल्मको तयारीमा छन् ।

रायमाझीका ‘नमुछे आमा दहीमा टीका’, ‘लाइछौ बेसन’ लगायत थुप्रै गीत लोकप्रिय छन् ।



– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button