नारी दिवसको अवसर पारेर केकीले सार्वजनिक गरिन् ‘बोक्सीको घर’को टिजर

काठमाडौं । केकी अधिकारीले निर्माण गरेको पहिलो फिल्म ‘बोक्सीको घर’को टिजर भिडियो सार्वजनिक भएको छ । नारी दिवस तथा महाशिवरात्रिको अवसर पारेर टिजर सार्वजनिक भएको हो ।
टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । शीर्ष भूमिकामा केकीले अभिनय गरेकी छन् । टिजरमा बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने अन्याय र उत्पीडनलाई दर्शाइएको छ ।
पति र समाजले बोक्सी आरोप लगाएपछि महिला कसरी पीडित हुन्छिन् र यसबाट मुक्त हुन उनले गरेको संघर्षको कथावस्तु यसमा समेटिएको छ । नारी दिवसको सन्दर्भमा यो फिल्मले दिने सन्देश महत्वपूर्ण हुन आउँछ ।
आठ वर्षअघि मञ्चन भएको सोही नामको चर्चित नाटकमाथि फिल्म बनेको हो । यो सोसल-ड्रामा फिल्मले नेपाली समाजको कुप्रथा र त्यसविरुद्ध हुने संघर्षलाई चित्रण गर्ने अधिकारीले बताइन् । उनको होम प्रोडक्सन केकी अधिकारी फिल्म्सले फिल्म निर्माण गरेको हो ।
फिल्मलाई नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शन गर्ने तयारी छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा निर्माताका रुपमा केकीका बुवा तथा निर्देशक बद्री अधिकारी छन् । कार्यकारी निर्माता राज घिमिरे हुन् ।
फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड स्कोर रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । टिफक कम्पनीले यो फिल्मलार्ई रिलिज गर्दैछ ।
यो फिल्म वैशाख १४ गते रिलिज हुने तयारीमा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।