Main

आहा ! ट्याटु

३० भदौ, काठमाडौं । ‘ट्याटु एउटा कला हो, जहाँ आफूलाई अभिव्यक्त गर्न कुनै गह्रुंगा  शब्द चाहिँदैन !’ ललितपुरको भनिमण्डल रामबाघमा शुक्रबारदेखि चलिरहेको ‘हिमालयन ट्याटु समिट’ले यही भनाइलाई चरितार्थ गरिरहेको थियो ।

प्रदर्शनीमा आएका युवायुवतीले आफ्नो शरीरमा चित्रकारले ट्याटु मेसिन खोप्दा दुखाइ होइन, उनीहरुको अनुहारमा सन्तुष्टिको उज्यालो आभा देखिन्थ्यो । उनीहरुमा रत्तिभर पनि कुनै पीडाबोध थिएन । कोही कोही आफ्नो शरीरभरि ‘भगवान’का तस्वीर खोपाउँदै थिए त कोही ‘दानव’को ।

‘किनकिन बच्चैदेखि ट्याटु कस्तो मन पथ्र्यो । यहाँ एक्जिभिसन भइराखेको छ भन्ने थाहा पाएर आएको’, नाडीमा खोपेको आफ्नो प्रिय मान्छेको नाम देखाउँदै त्यहाँ आएकी रजिना गिरीले भनिन्, ‘उसको नाम पनि अब अमर भयो ।’

प्रर्दशनीमा नेपाली युवायुवतीलेमात्रै नभइ विदेशी पाहुनाहरुले पनि आफूलाई मन परेर कलाकार छानेर ट्याटु खोपाइरहेका थिए । उनीहरुको पहिलो रोजाइ नै नेपाली मौलिक चित्रकला थियो । प्रदर्शनीमा नेपाल धर्मसंस्कृतिसँग सम्बन्धित ट्याटु कलालाई प्राथमिकता दिइएको थियो ।

कुनै समय परम्परागत रुपमा कुनै जात विशेषमा रहेको ट्याटु कला पछिल्लो समय धेरै युवाको शौख बन्न पुगेको छ । आफ्नो शरीरमा सानोदेखि ठूलाठूला आकारमा ट्याटु बनाउने युवाको कमी छैन ।

ललितकलाकै एक अंग बन्न पुगेको ट्याटु कला व्यावसायिक भइसकेको छ । ‘ट्याटुकला खास नेपाली समाजमा नयाँ होइन, कुनै न कुनै रुपमा प्रयोग हुँदै आएको छ’, प्रदर्शनीका निर्देशक ब्रिजेश श्रेष्ठ भन्छन्, ‘नेपालमै पनि खत्राखत्रा ट्यालेन्टहरु छन् । तर, उनीहरुलाई एक्स्पोजरको कमी छ ।’

लुकेर रहेका नेपाली ट्याटु कलाकारको प्रतिभालाई बाहिर ल्याउन प्रदर्शनी गरिएको श्रेष्ठ बताउँछन् । ‘यस्ता कार्यक्रम बेलाबेला भइरहन्छन् । तर, यसपालि हामीले पनि नेपाली ट्याटु कलाकारकाmे प्रतिभालाई बाहिर ल्याउन यो कार्यक्रम गरेका हौं’, उनले भने ।

समिटमा नेपालीमात्रै नभइ भारत, थाइल्यान्ड, सिंगापुर, बेलायतदेखि ट्याटु आर्टिस्ट आएका थिए । उनीहरुको प्रतिभा देखाउन दैनिक रुपमा विभिन्न समूहमा प्रतियोगिता पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयी हुने प्रतिभावान ट्याटु कलाकारलाई ट्याटुसँग सम्बन्धित सामग्री नै पुरस्कार दिने व्यवस्था गरिएको थियो । ‘यसले आर्टिस्टलाई आफ्नो काममा अझै सहयोग गर्छ भन्ने हाम्रो विश्वास हो’, श्रेष्ठ भन्छन् ।

३ दिन चलेको प्रदर्शनीमा १८ सय जनाभन्दा बढीले अवलोकन गरेका छन् । ७९ वटा ट्याटु स्टुडियो बुथमा थरिथरि कलाकारबाट ट्याटु खोपाउने व्यवस्था गरिएको थियो । ‘यहाँ आएका सबैले ट्याटु नै बनाउँछन् भन्ने छैन । यहाँ कम्पिटिसन चलिरहेकाले सबैले समय पनि पाउँदैनन्’, श्रेष्ठले भने, ‘तर, उनीहरुले समय लिएर आफ्नै तरिकाले पछि ट्याटु स्टुडियोमै गएर बनाउन पाउँछन् ।’

प्रदर्शनीमा देशविदेश गरी १ सय ५५ जना भन्दा बढी ट्याटु कलाकारले आफ्नो कला देखाए । प्रदर्शनीमा काठमाडौंमात्र नभई काठमाडौं बाहिरका जिल्लाबाट पनि कलाकार आएका थिए ।

प्रदर्शनीमा जाने अवलोकनकर्ताले आफूले चाहेका आर्टिस्टसँग रोजीरोजी ट्याटु खोपाएका थिए । ‘सबैको कला हेरेर छानीछानी ट्याटु हान्ने अवसर सधैं पाइँदैन । यस्तै हुँदामात्रै हो’, त्यहाँ आएका एकजनाले भने ।

आयोजकले केही दिनअघि ललितकला प्रदर्शनीमा चित्रकला प्रतियोगिता पनि गरेको थियो । उक्त प्रतियोगितामा कोरिएका चित्रसमेत प्रदर्शनीमा राखिएको थियो । त्यसले हिमालयन ट्याटु समिटलाई झनै शोभा दिएको थियो ।

तस्वीरहरु: आर्यन धिमाल

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button