निर्धारित समयमा सुरू भएन प्रतिनिधि सभाको बैठक

१ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरू हुन सकेको छैन । शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।
संसद सचिवालयका अनुसार दलहरूबीच अनौपचारिक संवाद चलिरहेको छ । आजको बैठकमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक पेस गर्ने पहिलो कार्यसूची छ ।
त्यस्तै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल जारी रहने छ ।
प्रतिनिधि सभामा बिहीबारदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरू भएको हो । प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले चैत ७ गते जवाफ दिने कार्यतालिका छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।